मुलुकको समग्र विकास र आधुनिकीकरणमा उच्च शिक्षाको योगदान उल्लेख्य छ। कुनै पनि मुलुक कति सभ्य, भव्य र समृद्ध छ भनेर मापन गर्ने आधार नै त्यहाँको शिक्षाको अवस्था हो। देश विकासका लागि आवश्यक पर्ने उच्च स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने कार्य त्यस देशको राष्ट्रिय शिक्षा नीतिको सफल कार्यान्वयनमा भर पर्छ। तर, बिडम्बना यस देशका कुनै पनि राजनीतिक दल र सरोकारवाला निकायले मुलुकको उच्च शिक्षा नीति कस्तो हुने भनेर स्पष्टरूपमा जनसमक्ष प्रस्तुत गर्न सकेका छैनन्। यदाकदा चुनाबी घोषणापत्र मार्फत् सार्वजनिक खपतका लागि केही योजना अघि सारिन्छन्। सत्तामा गइसकेपछि भने ती सबै योजना अलपत्र हुन्छन्।
यस्तै कारणले मुलुकको उच्च शिक्षाको क्षेत्र अस्तव्यस्त छ। उच्च शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेका छन्। यसै परिवेशमा मुलुकको उच्च शिक्षाको करिब ३३ प्रतिशतभन्दा बढी भार बोकेका सामुदायिक क्याम्पसहरूको अवस्था र सामना गर्नु परिरहेका चुनौतीहरूको यथार्थपरक विश्लेषण र सम्बोधन जरुरी छ। विद्यमान तीन प्रकारका क्याम्पसमध्ये सामुदायिक क्याम्पसहरूको संख्या ५२९ छ। निजीसहित देशभर एक हजारभन्दा माथिको संख्यामा सामुदायिक क्याम्पस छन्। उच्च शिक्षामा अध्ययनरत कुल विद्यार्थीमध्ये सामुदायिक क्याम्पसमा मात्र ३३ प्रतिशत विद्यार्थी छन्। स्थानीय स्तरमा जनताको चाहना र आवश्यकताअनुसार सर्वसुलभ रूपमा उच्च शिक्षा प्रदान गर्न सामुदायिक क्याम्पसहरूले प्रतिकूल अवस्थाका बाबजुत खेलेको भूमिका नेपालको उच्च शिक्षाको विकास र विस्तारमा कोसेढुंगा सावित भएको छ।