पत्रकारलाई नङ्ग्याउन खोज्दा जो आफैं नाङ्गिए...

गणतान्त्रिक नेपालले तेस्रो उपराष्ट्रपति पाएको दिन अर्थात् गत शुक्रबार (चैत ३ गते) देशको चौंथो अंग पत्रकारमाथि एउटा गम्भीर आरोप लाग्यो। त्यो पनि संवैधानिक निकायको महत्वपूर्ण पदमा आसिन सभामुखबाट। संसद भवनमा उपराष्ट्रपति चयन प्रक्रिया चलिरहेका बेला सिंहदरबारमा आसिन सभामुख देवराज घिमिरेले पत्रकार, पत्रकार महासंघ बिक्रीमा रहेको आरोप लगाए।

५ माघमा एमालेबाट सभामुखमा निर्वाचित घिमिरेले सभामुख बनेको महिनादिन पुग्न लाग्दा नेपाली पत्रकारहरुले पित (नराम्रो) पत्रकारिता गरेको भन्दै पत्रकार र महासंघ नै विक्रीमा रहेको दाबी गरे। त्यो पनि पत्रकार महासंघकै अध्यक्षलगायतका पदाधिकारीसँग।

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललगायतको टोली शुक्रबार सभामुखमा निर्वाचित भएकोमा घिमिरेलाई बधाई दिन पुगेको थियो। बधाईसँगै संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न पुगेको पत्रकार महासंघको टोलीसँग सभामुखले भने, ‘पत्रकार जति जिम्मेवार हुनुपर्ने थियो...त्यो खालको छैन। पित पत्रकारिता अहिले पनि डरलाग्दो गरी छ। अझ अर्को कुरा भन्ने हो भने पत्रकारहरु विक्रीमा छन्, संघ विक्रिमा छ।’

सभामुखले पत्रकार विक्रीमा छन् भन्ने अभिव्यक्ति दिएपछि अहिले उनको चौतर्फी विरोध भइरहेको छ। पत्रकारहरुले सभामुख घिमिरेलाई को पत्रकार बिक्यो ? भन्दै पुष्टि गर्न चेतावनी दिइरहेका छन्। शनिबार पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिलाई पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक रुपमा दिएको अभिव्यक्तिको संज्ञा दिएको छ। र, आरोपहरु पुष्टि गर्न चेतावनी पनि दिएको छ। अन्यथा आधारहीन अभिव्यक्ति फिर्ता गर्न आग्रह गर्दै अभिव्यक्ति फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमुलक कार्यक्रम गर्न बाध्य हुने महासांघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा छ।

यद्यपी, सभामुख घिमिरेको सचिवालयले सभामुखको भनाइ र बुझाइमा फरक परेको बताएको छ। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त भएको धारणालाई अन्यथा नबुझिदिनु अनुरोध गर्दछु।’

प्रेसमाथि जिम्मेवार व्यक्तिबाटै आक्रमण

सभामुख घिमिरेले पत्रकारमाथि लगाएको आरोप पहिलो होइन। डेढ महिनाअघि मात्र गृहन्त्रीबाट पदच्युत भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले नेपाली प्रेसमाथि खनिएका थिए। पदच्युत भएको आक्रोशमा विभिन्न मिडियामाथि उनले विभिन्न आरोप लगाएका थिए।

केही मिडिया र पत्रकारको नाम नै भनेर उनले लगाएको आरोप अहिलेसम्म पुष्टि गर्न सकेका छैनन्। नागरिकता प्रकरणमा माघ १३ गते गृहमन्त्रीबाट पदच्युत भएपछि उनले माघ २२ गते मिडियाका कारण आफूलाई सर्वोच्च अदालतले आफ्नो अनुकुलको फैसला नगरेको आरोप लगाएका थिए।

अहिले मिडियालाई लगाएको आरोपकाबारेमा प्रश्न गर्दा उनी जवाफ दिन आनाकानी गर्छन। करिब हप्तादिन अघि चितवन पुगेका लामिछानेलाई आरोप लगाएको मिडियाका बारेमा प्रश्न गर्दा पछि फर्केर आफूले नहेर्ने प्रतिक्रिया दिएर तर्किएका थिए। माघ २२ गते लामिछानेले मिडियालाई आरोपित गरेपछि उनको पनि आलोचना भएको थियो। गृहमन्त्रीजस्तो शक्तिशाली पदमा आसिन व्यक्तिको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै सरोकारवालाले उनको आलोचना गरेका थिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जिम्मेवार तहमा रहेका व्यक्तिको गलत क्रियाकलाप बाहिर ल्याउने भएका कारण उनीहरु जहिले पनि मिडियामाथि खनिने गरेको बताए। सभापति लामिछाने, सभामुख घिमिरेको पहिलो अभिव्यक्ति नरहेको भन्दै पत्रकारिता सुरु भएको चरणदेखि नै यस्ता व्यक्तिहरु माडियामाथि खनिने गरेको पोख्रेलको भनाइ छ।

उनले लोतत्रान्तिक पद्धतिलाई पारदर्शीतर्फ लैजाने पत्रकारको भूमिकालाई हतोत्साहित गर्न राज्यका जिम्मेवार व्यक्ति मिडियाका विरुद्धमा लाग्ने गरेको बताए। ‘उनीहरुको यो पहिलो पटकको अभिव्यक्ति होइन। पत्रकारिता सुरु भएदेखि नै यस्ता व्यक्तिबाट प्रेसलाई अंकुश लगाउने कार्य भइरह्यो,’ पोख्रेलले बिएल नेपाली सेवासँग भने, ‘लोकतत्रान्तिक पद्धति, लोकतान्त्रिक प्रक्रिया, समाजलाई पारदर्शीतर्फ लैजाने पत्रकारको प्रयत्नलाई हतोत्साहित गर्न यस्तो कार्य भइरहेको छ। यसले समग्रमा लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउँछ।’

सभामुखको अभिव्यक्ति गैरजिम्मेवारः पत्रकार संगठन

सभामुख घिमिरको अभिव्यक्तिलाई पत्रकार संगठनहरुले पनि गैरजिम्मेवार अभिव्यक्ति रहेको बताएका छन्। नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले पत्रकार विकाउ हुन्छन भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताए। पत्रकारितामा लागेका व्यक्तिले इमान्दारिताका साथ, मर्यादामा रहेर आम जनताका पक्षमा काम गरेका भन्दै उनले भने, ‘राष्ट्रको सम्माननीय पदमा बसेको व्यक्तिले अमर्यादित रुपमा, गैरजिम्मेवार, उन्मादको रुपमा दिएको अभिव्यक्तिलाई हामीले घोर भत्सना गर्दछौँ।’ लम्सालले सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट गर्नु दुःखद रहेको बताए।

यस्तै प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगरले संवैधानिक पदमा बसेको व्यक्तिको अभिव्यक्ति आपत्तिजनक रहेको बताइन। के पत्रकार विकाउ छन् ? भन्ने प्रश्नमा उनले भनिन्, ‘पत्रकारितामा समस्या छैनन् भन्ने होइन छन्। केही प्रश्नहरु पनि उठेका छन्। पत्रकारका नाममा पत्रकारिता कम, अन्य काम धेरै गरेर खाइरहेका पनि छन्। तर, आमरुपमा पत्रकारितालाई नै लाञ्छना लाउने काम सही होइन। अझ एउटा संवैधानिक पदमा बसेको व्यक्तिले यो खालको अभिव्यक्ति दिन मिल्दैन।’

प्रेस चौतारि किनिएछ ? भन्ने प्रश्नमा उपाध्यक्ष घर्ती मगरले भनिन्, ‘यस्तो हो, उहाँको निर्वाचन क्षेत्रमा के समस्या थियो, उहाँलाई कुन पत्रकारले त्यस्तो प्रस्ताव गर्‍यो वा उहाँ त्यस्तो किनबेचको घटना पुर्नभयो भन्ने कुरा एउटा सानो घटना होला। एउटा सानो घटनालाई दिएर आम पत्रकार विकाउ छन् भन्न मिल्दैन।’

संसदले प्रेसलाई न्याय गर्दैन कि भन्ने आशंका उब्जियोः अध्यक्ष पोख्रेल

सभामुखको अभिव्यक्ति पहिलो पटकको अभिव्यक्ति होइन। पत्रकारिता क्षेत्र माथिको आक्रमणको घटना क्रमको पछिल्लो श्रृङ्खला हो। यो भन्दा अघि पनि जिम्मेवार राजनीतिक दलका नेता, शासकीय भूमिकामा रहेका जिम्मेवार अधिकारीबाट मिडियाप्रति अत्यन्त, गैरजिम्मेवार, तुच्क्ष र अप्रमाणित कुराहरु आइरहेको छ। अझ त्यसमा पनि दुःखद कुराहरु के हो भने विनाआधार, विनाप्रमाण मिडिया खराब हुन भन्ने भाष्य निर्माण गर्न खोजिदैँछ त्यो अत्यन्त विडम्वनायुक्त छ।

यसले समग्रमा मिडिया क्षेत्रलाई बदनाम मात्र गर्दैन कि लोतत्रान्तिक पद्धति, लोकतान्त्रिक प्रक्रिया, समाजलाई पारदर्शीतर्फ लैजाने पत्रकारको जुन प्रयत्न हो र त्यसलाई पनि हतोत्साहित गर्छ र समग्रमा लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउँछ।

शासकीय भूमिका रहेका व्यक्तिहरुको मिडियालाई हेर्ने नजर छ, त्यसले हामीलाई सही ठाउँमा पर्‍याउँदैन। सभामुखले दिएको अभिव्यक्ति पनि त्यही हो। उहाँलाई यदि कुनै मिडियाले उहाँले बोलेको जस्तै व्यवहार गरेको छ भने त्यसको निरुपण गर्ने बैधानिक बाटो पनि छ। तर, त्यत्तिकै विनाअधार, विनाप्रमाण पत्रकारलाई लाञ्छित गरिएको छ। त्यसले उहाँको पदीय जिम्मेवारीको कद घटाएको छ। उहाँले नेतृत्व गरेको संसदले नेपाली पत्रकारिताप्रति न्याय गर्छकि गर्दैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ।

पत्रकार विक्रीमा छैनन्। एउटा बन्द समाजमा आफ्नो स्वार्थ देख्नेहरुले मिडियाले जुन ढंगले पारदर्शीतालाई सार्वजनिक गरिदिन्छ, खुला समाजमा उनीहरुले आफूलाई सुरक्षित ठान्दैनन्। र, बन्द समाजमा विश्वास गर्नेहरुले मिडियालाई आक्रमण गर्छन। पत्रकारिताको प्रारम्भदेखि नै बन्द समाजमा रम्न चाहानेहरुले मिडियालाई आक्रमण गर्दै आइरहेका छन्। अहिले त्यसैको निरन्तरता हो।

समस्या के त भन्दा लोकतान्त्रिक समाज निर्माण गर्‍यौँ भन्छौँ तर लोकतान्त्रिक आचरणसहितको नेतृत्व हामीले पाउन कठिन छ। अझै नेतृत्व तहमा पुग्ने केहीले लोकतान्त्रिक चरित्र निर्माण गर्न नसक्नु दुर्भाग्यपूर्ण हो। कानुनी रुपमा निराकरण गर्न नसक्ने तर बाहिरी सार्वजनिक रुपमा चुनौति दिने, अप्रमाणित ढंगले आरोपित गर्ने, लान्छित गर्ने त्रास र कुण्ठाको अभिव्यक्ति मात्र हो।

सभामुखको अज्ञानता प्रकटः प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल

हाम्रा पदाधिकारी माथिल्लो पदमा जान्छन्, जिम्मेवार पदमा जान्छन्, उनीहरुले पनि धेरै कुरा सिक्नुपर्ने छ। मिडिया साक्षरता भन्ने अलग विषय हो। जुन हामी मिडियावालाले सिकाउनुपर्छ र जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले पनि सिक्ने प्रत्यत्न गर्नुपर्छ। प्रेसले कसरी काम गर्छ ? पत्रकारिताले कसरी काम गर्छ ? यी कुराका बारेमा उनीहरुलाई विल्कुलै आइडिया (ज्ञान) छैन। धेरैलाई आइडिया हुँदैन। सिक्न पनि खोज्दैनन् र नसिकेपछि कसैले भन्दियो वा हल्लाको भरमा आएका कुराहरुलाई गलत बुझाइका कारण यस्तै बेलामा प्रकट हुन्छन्।

सभामुखले हिजाे(शुक्रबार) हाम्रै प्रतिनिधिसामु (पत्रकार महासंघका पदाधिकारी) जे कुरा बोल्नुभएको छ, त्यहाँ उहाँको सबैभन्दा अज्ञानता प्रकट भएको छ। मैले बुझेको उहाँको अभिव्यक्तिमा अज्ञानता प्रकट भएको हो। अब उहाँको प्रेस सहयोगी पनि हुनुहुँदो रहेछ। बोल्नुभन्दा अगाडि मिडियाले यसरी काम गर्छ। प्रेसमा खराब हुन्छन्। कहि उनीहरुले बल्याकमेल गरेर मान्छेलाई सताएका पनि हुन्छन्।

तर, ती सबै कुरालाई चेक एण्ड व्यालेन्स, नियन्त्रण र सन्तुलनको काम पनि प्रेस आफैंले गर्छ। ती सबै कुराहरु तपाइहरुको जानकारीमा प्रेसले नै लिन्छ। प्रेसका खराबी कुराहरु पनि आम मानिसको जानकारीमा पुर्‍याउँछ। त्यसकारण प्रेसको कार्य चाहिँ बुझ्नुपर्छ भनेर उहाँहरुले बुझाउनुभएन। पछि स्पष्टिकण निकालेर के गर्नु ?

त्यसकारण जिस्टमा कुरा के हो भने उहाँको अज्ञानता, उहाँको अल्पज्ञान छताछुल्ल भएको हो। पत्रकार बदमास छन् भने कारबाही हुन्छ। कहाँ बदमासी गरेका छन् त्यो पनि प्रेसले नै हेर्छ। बदमासी गर्नेलाई अर्को प्रेसले नंग्याइरहेकै छ नि त। प्रेसको कामै यस्तै हुन्छ। यो सबै प्रक्रियागत रुपमा नै भइरहेको छ। सभामुखको अभिव्यक्तिमा हामीले दुःख मनाउन गर्नेबाहेक केही छैन।

प्रकाशित मिति: : 2023-03-20 21:20:00

प्रतिकृया दिनुहोस्