कलाकारकाे होली याेजना

तेजन खड्का

काठमाडौं

रङ्गहरुको पर्व हो, होली। फागुन पूर्णिमाको दिन मनाइने यो पर्वले सबैलाई छुन्छ। कलाकारलाई बिहानैदेखि होली कार्यक्रमले भ्याइनभ्याइ हुने गरेको छ। कुन कलाकारले कसरी मनाउँदै छन् हाेली? कलाकारका होली योजना उनीहरुकै शब्दमाः

रेखा थापा, अभिनेत्री

होली मलाई एकदमै मनपर्छ। यो पटक पारिवारिक वातावरणमा रमाउँदै साथीभाइहरुसँग मनाउने योजना छ। मन त अक्सर रंगीन नै छ, चेहरा र हृदय उमंगले नाच्न थाल्छ होलीमा ! सबैमा होलीको शुभकामना!

डम्बर नेपाली, गायक

सानो छँदा होलीको आनन्द धेरै हुन्थ्यो। बिहानैदेखि रङ बोकेर साथीहरुसङ्ग होली खेल्न गइन्थ्याे। एक गाउँदेखि अर्को गाउँ पुगिन्थ्याे। साथीहरुको घर घरमा जाने गरिन्थ्याे,हाेली खेल्नलाई। छुट्टै मजा थियो त्यतिबेला। आज पथरीमा सांगीतिक कार्यक्रम छ। दर्शकहरुसंग त्यहीँ मनाउँछु।

करिस्मा मानन्धर, अभिनेत्री

होली प्रत्येक वर्ष मेरा लागि विषेश हुने गरेको छ। घरमै वर्षभरीका दुःख आज सबैसँग रङ्गसँग रङ्ग मिसाउँदै साट्नेछु।

अस्मिता अधिकारी, गायिका

वर्षदिनमा आउने होली पर्व मलाई एकदमै मनपर्छ। रंगहरुसङ्ग खेलिने एक आपसमा खुशी साटासाट गरिने यो पर्वको प्रमुख विशेषता हो। आज जाउलाखेल पार्कमा होली विशेष कार्यक्रम छ, भोलि चितवन। त्यहीँ आफ्नो प्रस्तुति दिँदै मनाउने योजनामा छु। आफ्नो प्रस्तुति दिँदै दर्शकहरुसङ्ग होली खेल्न पाउँदा खुशी लागेको छ।

दीपाश्री निरौला, अभिनेत्री–निर्देशक

होलीका योजना धेरै छन्। किनभने धेरै ठाउँमा होली खेल्न बोलाइएको छ। बानेश्वरमा होली विशेष कार्यक्रम छ, त्यहाँ सहभागी हुन्छु। फिल्म छ्क्का पन्जा ४ को प्रोमोसन गर्दै होली राजधानीमै मनाउँछु। होली मलाई धेरै मनपर्छ। रङ्ग छ्याप्न, पानी हाल्न सबै मनपर्छ। विराटनगरलाई मिस गरेको छु।

मिलन नेवार, गायिका

रङ्गको वर्षा गर्दै सानादेखि ठूलासम्मले एकसाथ मनाउने यो चाड विषेश लाग्छ। यो पर्वले सद्भाव र माया आदान प्रदान गर्न अवसर दिलाउने गर्दछ। म जहाँ हुन्छु, त्यहीँ मनाउँछु।

केकी अधिकारी, अभिनेत्री

सबै दुःख बिर्सिएर रङ्गसँग रमाउने चाँड हो, होली। शुभचिन्तकसँग मनाउने योजना छ।

स्वेता खड्का, अभिनेत्री

मेरो मनपर्ने पर्व हो। परिवार र साथीसँग रङ्ग खेल्दै मनाउन मनपर्छ।

समिक्षा अधिकारी, गायिका

होली मनाउँदिनँ म। केही प्लान छैन होलीको। मलाई होलीप्रति रुचि नै छैन।

बेनिसा हमाल, अभिनेत्री

विभिन्न ठाउँबाट होली खेल्न निम्ता आएकाे छ। म त होली खेल्न आतुर भइसकेँ।

ज्योति मगर, गायिका

होली मलाई मन पर्ने पर्व हो। रङसँग रमाउन पाउँदा खुशी हुन्छु। यो वर्षको होली दर्शकसँग मनाउने योजना बनाएको छु। आज कलङ्कीमा कार्यक्रम छ। त्यहीँ गीत गाएर दर्शकसँग नाच्दै/गाउँदै होली मनाउनेछु।

प्रकाशित मिति: : 2023-03-06 12:29:00

प्रतिकृया दिनुहोस्