‘होली’कुनै समय मेरो लागि लोकप्रिय पर्व थियो। शिवरात्रिको दिनदेखि नै म होली खेल्न तम्सिन्थेँ। मलाई अझै याद छ, स्कुल पढ्दा साथीहरुसँग होली खेल्ने बहानामा पूरै लुथ्रुक्क भिजेर घर फर्किएको ती दिनहरु। तर आजभोलि होलीको नाम सुन्दा म झस्किने गर्छु र पुराना विगतमा फर्किन थाल्छु।
कुरा आजभन्दा एक दशकअघिको हो। जब म कक्षा ७ मा अध्ययनरत थिएँ। होलीको अघिल्लो दिन स्कुलका सबै साथीहरुसँग होली खेलेर घर फर्किँदै थिएँ। बाटोमै छिमेकी दिदी ‘अप्सरा’ (नाम परिवर्तन) भेटिनुभयो। उहाँले भन्दै हुनुहुन्थ्यो, ‘ओई, आज होली खेल्नुपर्छ है! बाहिरको मान्छेलाई लोलाले (पानी भर्न मिल्ने एक किसिमकाे प्लास्टिक) सेकाउनुपर्छ।’
दिदीको कुरा सुनेर मैले पनि ‘हुन्छ दिदी’ भन्दै सहमति जनाएँ। त्यसपछि दिदी लोला किन्छु भन्दै पसलतिर लाग्नुभयो। ‘अप्सरा’ दिदी मभन्दा ७ वर्ष जेठी। उहाँ र हामी एउटै कारखानामा बस्थ्यौँ। त्यसैले उहाँसँगको मेरो सम्बन्ध राम्रै थियो। स्कुलको गृहकार्य गर्दा होस् या खाना पकाउनका लागि नै किन नहोस् म प्रायजसो उहाँकै सहायता लिने गर्थेँ। त्यसैले कारखानामा भएका अरु दिदीहरुभन्दा उहाँ मेरो ‘बेस्ट’ दिदी हुनुहुन्थ्यो।
अप्सरा दिदीले पनि मलाई उत्तिकै माया गर्नुहुन्थ्याे, जति म उहाँलाई गर्थेँ। कहीँ बजार जाँदा होस् या घरमा मिठो परिकार पकाउँदा नै किन नहोस् उहाँले सधैँ मलाई सम्झिएर ल्याइदिनुहुन्थ्यो। प्रेमिल सबन्ध थियो, हामीबीच।
अप्सरा दिदीले होली खेल्न भनेपछि रमाउन थालेकी मैले गृहकार्य हतारिँदै सिध्याएँ। अनि दिदीलाई खोज्न काेठा बाहिर निस्किएँ। दिदी त कारखानाको रातो गेटमा बसेर मलाई कुरिरहनुभएको रहिछ।
मलाई देखेर दिदीले भन्नुभयो, ‘कति ढिला आएकी, मैले हाेली खेल्नका लागि सबै तयारी गरिसकेकी छु।’ नभन्दै दिदीले २० वटा लोला र १० लिटरको बाल्टिनमा पानी भरेर राखिसक्नुभएको रहेछ।
दिदीले लोलामा पानी भर्दै बाटाे हिँडिरहेका मान्छेलाई झटाराे हान्न थाल्नुभयाे। मैले पनि दिदीलाई पानीले छ्याप्न सघाइरहेकी थिएँ। कारखानाको गेट सडक नजिकै भएकोले होलीमा नचिनेका मान्छेलाई लाेला हान्न बडाे रमाइलाे लाग्थ्याे।
दिदीले त्यसरी लाेलाकाे पाेकाले सडकमा हिँडेका मान्छेलाई भिजाइरहँदा मलाई भने खुसी मिलिरहेको थियो। मलाई लोला हान्न भन्दा धेरै हेर्न रमाइलो लागिरहेको थियो।
घडीमा साढे पाँच बजेको थियो। त्यसैले दिदी खाना पकाउन ढिला हुन्छ भन्दै हतारिन थाल्नुभयो। र एउटा बाँकी रहेको लोलामा पानी भर्दै भन्न थाल्नुभयो, ‘अब लास्ट एउटा लोला छ, जो हाम्रो अगाडि आउँछ, उसैले खान्छ।’ दिदीको कुरामा मैले पनि सहमति जनाएँ। त्यत्तिकैमा हाम्रो अगाडि एउटा मोटरसाइकल आइपुग्यो। गाेकर्णबाट गुड्दै आइरहेकाे माेटरसाइकल देखेर मैले दिदीलाई लाेला नहान्न संकेत दिएँ। तर दिदीले मान्नुभएन। हाेली हाे भन्दै हातमा राखेकाे लाेला माेटरसाइकलतिर हुत्याउनु भयाे।
दिदीले हानेकाे लाेला लागेर झस्किएका मोटरसाइकलका अंकलले हामीतर्फ हेर्दै गाली गर्न थाल्नुभयाे। तर हामीलाई गरेकाे गाली नसकिँदै विपरीत दिशाबाट आएको यात्रुवाहक बसले माेटरसाइकललाई ठक्कर दियो। बसले दिएकाे ठक्करले माेटरसाइकल मात्र लडेन हामीलाई गाली गरिरहनुभएका ती अंकल पनि सडकमा पछारिनुभयाे।
हाम्रो आँखै अगाडि घटेकाे त्याे दृश्य देखेर डराएका हामी कारखानाभित्र छिर्याैँ। दिदीले मलाई अँगालाे हालेर रूँदै भन्न थाल्नुभयाे, ‘अबदेखि म कहिल्यै पनि होली खेल्दिनँ, मेराे कारणले यस्ताे भयाे।’ मैले दिदीलाई सम्झाउँदै भनेँ, ‘ती अकंललाई केही हुँदैन नडराउनु दिदी।’
दिदीलाई सान्त्वना दिएकी म पनि डराइरहेकी थिएँ। त्यही घटनाकाे कारण मलाई रातभरि निन्द्रा पनि लागेन। भाेलिपल्ट बिहान ‘कारखानाकाे गेट अगाडि हिजो भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको मृत्यु भएछ’ भन्ने हल्ला चलिरहेकाे थियाे। मैले पछि मात्र थाहा पाएँ कि ती अंकलकाे नेपाल मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएछ।
अरूबेला सधैँ हाेली खेलेर रङ्गिने हाम्राे ‘शिवपुरी टाेल’, त्याे वर्ष भने ‘रगत’ ले रङ्गिएकाे थियाे। र मैले पनि त्यही हाेलीदेखि प्रण लिएकी थिएँ, ‘अबदेखि म हाेलीमा कहिल्यै पनि लाेला हान्दिनँ।’