मानव सभ्यताको विकाससँगै नविनतम सोचहरुको बीजारोपण हुनु नौलो कुरा पक्कै होइन। समकालीन समाजका आवश्यकताहरुले हरेक क्षेत्रमा नयाँपन एवम् आविष्कारको माग गर्दछ। विश्व नै एक समुदाय भइरहेको सन्दर्भमा हरेक दिन नयाँ-नयाँ कुराको विकास भइरहेको र यसले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ। शिक्षामा विश्वव्यापीकरणले युवाहरुलाई प्रतिस्पर्धी बन्न र स्थानीयस्तरका सिकाइलाई विश्व समुदायसम्म पर्याउन पनि सहायता गरेको छ।
यस्तैगरी कैलालीमा स्थानीय कृषकहरुले कृषि एम्बुलेन्सको उच्चतम प्रयोग गरी जीवनस्तरमा सुधार गरेको कुरा थाहा पाउँदा यो के रहेछ भन्ने कुरा जान्न उत्सुकता जाग्यो। बिरामी बोक्ने एम्बुलेन्सका बारेमा मात्रै सुनेका आम नागरिकहरूका लागि यो कृषि एम्बुलेन्स के चाहिँ होला? भन्ने जिज्ञासा हुनु नौलो त पक्कै भएन। यो कृषि एम्बुलेन्स देख्नु अगाडि मैले बिरामी बोक्ने एम्बुलेन्स जस्तै भाइरस वा अन्य कुनै रोग लोगका अन्न तथा तरकारी बालीहरूलाई कृषि ज्ञान केन्द्र वा कृषि उपचार केन्द्र लग्ने बाहन होला कि जस्तो लागेको थियो। तर यी कृषि एम्बुलेन्सहरू भने सामाजिक, आर्थिक रूपान्तरणका लागि सशक्त माध्यम पो बनेका रहेछन्।
कृषि एम्बुलेन्सहरूले स्थानीय बजार नपाएर बारीमै कुहिन बाध्य कृषि उत्पादनहरूलाई टाढाको बजारसम्म पुर्याउन सहज बनाउँदै गइरहेका छन्। उत्पादन गरेर कसरी बिक्री गरुँला भनेर चिन्तित बनिरहेका किसानहरूलाई मल्हमपट्टी लगाउने काम गरिरहेका छन्। पैदल हिँड्दै वा दिनभरि साइकल चलाएर आफ्नो बारीको उत्पादन बिक्री गर्नुपर्दा मानसिक वा शारीरिक रूपमा थकित किसानहरूलाई राहत महसुस भएको रहेछ।
स्थानीय बचत समूहहरूको सिफारिस अनि प्रहरी र वडा कार्यालयको रोहबरमा एक जना उद्दमी किसानलाई यो कृषि एम्बुलेन्सको जिम्मेवारी दिइने रहेछ। करिब ६ लाख पर्ने यो एम्बुलेन्सको खरिदमा २५ प्रतिशत लगानी सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने भएकाले यसको हेरचाह पनि राम्रो भएको रहेछ।
कैलालीको घोडाघोडी, भजनी, टिकापुर र कैलारीलगायतका गाउँहरुमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ। यो क्षेत्र हरेक वर्ष बाढीको सिकार बन्छ र मान्छेका खुसीहरू चुँडालेर लैजान्छ। दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडबाडको बेला मान्छेहरू पीडा र अभावसँग जुध्ने गर्दछन्। भविष्यका सुन्दर सपना पूरा गर्ने बालबालिकाहरुका विद्यालयका मैदानहरू जलमग्न हुन्छन्, अन्नबालीहरू बग्दछन् अनि मान्छेका बस्तीहरू बगर बन्दछन्।
हुन त स्थानीय, प्रदेश एवं सङ्घीय सरकार र विकासका साझेदार निकायहरूले लगानी नगरेका पनि होइनन् तर पनि बाढीबाट हुने क्षति न्यूनीकरणका लागि रणनीतिक पहल एवं दीर्घकालीन सोचको अभाव भने पक्कै पनि रहेको छ। तत्कालका लागि संरक्षण, स्वास्थ्य र मनोसामाजिक रुपमा असर पर्ने भएता पनि दीर्घकालीन रूपमा सबैभन्दा क्षति अर्थ र कृषि क्षेत्रमा नै पर्दछ। जीविकोपार्जनका लागि यस क्षेत्रका मान्छेहरू कृषि क्षेत्रमा अहोरात्र खटिरहेका हुन्छन्।
सामाजिक बनावटका हिसाबले थारु बाहुल्यता रहेको यो क्षेत्र टिकापुर घटनापछि केही हदसम्म विभाजित देखिन्छ। त्यसको प्रत्यक्ष प्रभाव स्थानीय, प्रदेश एवं संघीय तहको निर्वाचनमा देखिएको छ। दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई समेत असर पर्न गएको छ। कृषि एम्बुलेन्सको प्रभावसँगै कृषि क्षेत्रका केही समस्याहरू पनि औँल्याउने प्रयास गर्यौँ।
कृषि क्षेत्रका प्रमुख चुनौती तथा समस्याहरू
खास गरी कोभिडका कारण आर्थिक हिसाबले कमजोर स्तरका किसानहरू नराम्रोसँग प्रभावित भएका छन्। मौसमी र बेमौसमी तरकारी बेचेर आफ्नो दैनिक गुजारा चलाउने र बचेको रकमबाट छोराछोरीको शिक्षा एवं स्वास्थ्यमा लगानी गर्ने परिवारका लागि कोभिडको समय एकदमै पीडादायी रह्यो।
विशेषतः स्थानीय बजार एवं व्यवसाय बन्द रहनु, उत्पादित वस्तुले खासै बजार नपाउनु जस्ता कारणले किसानहरूलाई असर पार्यो। यसका साथै यहाँका किसानहरूको प्रमुख समस्या भनेको समयमा मल नपाउनु अनि सिँचाइको उचित व्यवस्थापन नहुनु रहेका छन्। सबैभन्दा ठुलो समस्या भनेको त बजारीकरणकै रहेछ। त्यसका अलवा भारतसँगको सीमा नाका नजिक हुनु र भारतको बजार एवं मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु किसानहरूका लागि चुनौतीको विषय बनेको छ।
युवाहरू कृषि पेसामा त्यति धेरै उत्प्रेरित देखिँदैनन्। उच्च परिश्रम गर्नु तर उत्पादनले उचित मूल्य नपाउँदा किसानलाई निराश बनाएको छ। स्थानीय हाटबजार प्रभावकारी रूपमा सञ्चालन नहुनु र उत्पादनलाई ठुला बजारसँग पुर्याउन नसक्दा पनि किसानहरू कृषिप्रति इच्छुक नभएको देखियो। वित्तिय संस्थाहरूमा सहज पहुँच नहुनु र बैंङ्गहरूले साना किसानलाई विश्वास नगर्नुले पनि यो कुरा प्रमाणित हुन्छ।
सीमित व्यक्ति वा परिवारसँग मात्र आधुनिक औजार हुनु र सबैको पहुँचमा यस्ता अत्याधुनिक औजार नहुनुले पनि विपन्न परिवारले यथेष्ठ मात्रामा उत्पादन गर्न सकिरहेका छैनन्। समयमा नै आवश्यकताअनुसार मल नपाउनु र बालीनालीमा रोग लाग्दा समयमा नै प्राविधिक सहयोग नपाउनु पनि समस्याकै रूपमा रहेको छ। यस्ता विविध समस्याहरूका बाबजुत पनि किसानहरूले उपलब्ध स्रोत, क्षमता र प्राप्त सहयोगका आधारमा कृषि पेसामा निरन्तर रूपमा लागिरहेका छन्।
माथि उल्लेखित समस्याहरूलाई समाधान यस क्षेत्रमा कार्यरत विकास साझेदार संस्थाहरूले केही नयाँ विकल्पहरू पनि अभ्यास गर्न थालेका छन्। कोभिड, बाढी जस्ता प्रकोपबाट प्रभावित यस क्षेत्रमा सरकारी एवं गैरसरकारी निकायहरूले क्रमशः लगानी गर्दै गइरहेको पनि देखिन्छ। विकास साझेदार संस्था वर्ल्ड भिजन इन्टरनेसनल, नेपालले आफ्नो स्थानीय साझेदार संस्था दिगो विकास समाजमार्फत जीविकोपार्जनमा लामो सयमदेखि सहायता प्रदान गरिरहेको छ। यसै परियोजनाको अनुगमनका लागि हाम्रो टिम घोडाघोडी, भजनी एवं टिकापुर क्षेत्रतिर लागेको थियो।
अनुगमनका बखत हामीले विभिन्न समूह खास गरी महिलाहरूका बचत समूह, कृषि प्रदर्शनी केन्द्रका अगुवाहरूसँग अन्तरक्रिया गर्न पायौँ। यी समूहहरूले विकासका साझेदार संस्था र सरकारी निकायसँग मिलेर कृषि क्षेत्रमा राम्रो मिहिनेत गरेको देख्दा अत्यधिक खुसी लाग्यो। सामान्य लेखपढ गरेका महिलाहरूमा समूहमा बसेर बचत गर्ने अनि साह्रोगाह्रो पर्दा एकअर्कालाई सहयोग गर्ने सामाजिकीकरणको उत्कृष्ठ नमुना देख्न सकिन्छ, घोडाघोडी–१ को ‘मखमली रूपान्तरणकारी बचत समूहका महिला दिदीबहिनीहरूमा।
समूहमा बसेर बचत गर्ने अनि उत्पादित वस्तुहरू बजार लगेर बिक्री गर्ने दिनचर्या नै बनेको छ, यी समूहमा रहेका सदस्यहरूको। अनुगमनका बखत हामीले कृषि एम्बुलेन्सका चालकहरू र उनीहरूको दैनिक जीवनका सन्दर्भमा कुरा गर्ने अवसर पायौँ। यसका बारेमा नै यहाँ केही लेख्ने प्रयास गरेको छु।
कृषि एम्बुलेन्स र आर्थिक सशक्तीकरण
महिलाहरूको बचत समूहसँग छलफलपछि हामीलाई कृषि एम्बुलेन्स चालकसँग छलफल गर्ने अवसर जुर्यो। कृषि एम्बुलेन्स पाएपछि किसानहरू एवं बचत समूहका महिलाहरू एकदमै खुसी देखिन्छन्। यो क्षेत्रमा परियोजनाले ९ जना कृषि एम्बुलेन्स चालकलाई सहायता गरेको छ। यी कृषि चालकहरूले घोडाघोडी, भजनी र टिकापुर नगरपालिकाका ९९० घरधुरीहरूलाई सहज ढुवानी तथा बिक्री सेवा प्रदान गरिरहेका छन्।
स्थानीय साझेदार संस्थाको प्रतिवेदनअनुसार हाल दैनिक ५४०० किलो तरकारी बिक्री भइरहेको छ। हामीले घोडाघोडीका कृषि एम्बुलेन्स चालक जग्गु चौधरीलाई भेटेर कुरा गर्यौँ। उहाँ पनि यो काम र सहयोगप्रति अति नै कृतज्ञ भएको पायौँ। उहाँले खुसी हुँदै भन्नुभयो, 'पहिला मेरो कमाई दैनिक ७०० देखि ८०० सम्म हुन्थ्यो। दिनभरि साइकल चलाएर बजार अनि घर घरमा जानु पर्थ्याे। अहिले दैनिक बचत मात्रै १ हजारसम्म हुन्छ। पहिले म घरबाहिर गएर काम गर्थेँ, अहिले म आफ्नै घरमा बसेर काम गर्छु। मेरो छोराछोरी एवं परिवारलाई समय दिन पाएको छु। सबैभन्दा ठुलो कुरा त मैलै २० देखि २५ परिवारले उत्पादन गरेको कुरा बजारसम्म पुर्याएर सहयोग गरेको छु।' यसरी स्थानीय किसानहरुले उत्पादन गरेका अन्न तथा तरकारी बालीहरुको सहज बिक्री वितरण भइरहेकाले उनीहरुको आम्दानीमा पनि टेवा पुगेको छ।
कृषि पेशामा लाग्न कृषि एम्बुलेन्सको प्रेरणा
यस क्षेत्रका साना किसानहरूलाई पहिले उत्पादन भएका वस्तुहरूको बिक्री होला कि नहोला भन्ने चिन्ता थियो तर अहिले त्यस्तो समस्या छैन। चिस्यान केन्द्रको अभावले चिन्तित बनेका किसानहरुलाई कृषि एम्बुलेन्सले घरमै आएर उत्पादित वस्तुलाई बजारसम्म लगिदिने हुनाले कृषकहरू उत्पादन वृद्धि गर्न उत्प्रेरित भएका छन्।
घोडाघोडी–५ चुंगालीपुरकी एलिना चौधरीलाई कृषि एम्बुलेन्सकै कारण व्यवसायिक तरकारी खेती गर्न उत्प्रेरणा मिलेको रहेछ। सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै उनले भनिन्, 'ढुवानीका लागि कुनै सहायता नहुँदा मेरो परिवारलाई पहिला बिक्री गर्न समस्या हुन्थ्यो। साइकलमा वा टाउकोमा तरकारी बोकेर बजार जानु पर्थ्याे। हाल एम्बुलेन्सले गर्दा तरकारी ढुवानी तथा बिक्री गर्न सहज भएको छ। साथै १ देखि २ कट्टा जमिन बढाई खेती गर्न सुरु गरेकी छु।'
स्थानीय किसानहरूका अनुसार उनीहरू पहिला प्रतिव्यक्ति दैनिक २० देखि ३० किलोग्राम साग तरकारी मात्र बिक्री गर्ने गर्दथे भने हाल दैनिक ५० देखि ६० किलोग्राम बिक्री गरिरहेको छन्। डरत्रास र व्यापारीबाट हुने ठगीबाट बच्न कृषि एम्बुलेन्सले ठुलो सहयोग गरेको छ। आफ्नो उत्पादनको बिक्री हुन थालेपछि किसानहरूले बेमौसमी तरकारीसमेत गर्न थालेका छन्। यसले किसानहरूको दैनिक उपभोग गर्ने तरिकामा समेत फेरबदल ल्याएको छ। उनीहरूका खाना फरकफरक परिकारले सजिने गरेको छ।
पारिवारिक सम्वृद्धिको माध्यम बन्दै कृषि एम्बुलेन्स
प्रतिभा पलायन र रोजगारका लागि युवाहरू विदेशिनु त अहिलेको प्रमुख समस्या नै बनेको छ। यो क्षेत्रका पनि थुप्रै युवाहरू छिमेकी मुलुक भारतलगायत विश्वका अन्य राष्ट्रहरूमा काम गर्न गएका छन्। आवश्यक ज्ञान र सिप नहुँदा उचित ज्याला नपाउने र म्यानपावर कम्पनीबाट हुने ठगीले धेरैको बिचल्ली बनाएको छ। रोजगारका क्रममा वर्षौसम्म परिवारसँग भेटघाट नहुँदा मानसिक रूपमा विचलन भई आत्महत्यासम्म गर्न बाध्य हुने तीतो यथार्थ हामी सबैका अगाडि छर्लङ्ग छ। यस समस्यालाई समाधान गर्न कृषि एम्बुलेन्सले केही हदसम्म भए पनि सहायता गरेको छ।
स्थानीय कृषि एम्बुलेन्स चालक अनिश कुमार चौधरीले सहयोगी निकायप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, 'पहिला रोजगारका लागि घरबाहिर जानु पर्थ्याे। राम्रो कमाइ थिएन। छोराछोरीको हेरचाह गर्न सकिएको थिएन। छोराछोरीको पढाइ–लेखाइ र भविष्यप्रति चिन्ता लाग्थ्यो। अहिले त मसँग सिप छ। म आफैं केही गर्न सक्छु। दिनभरि काम गर्छु अनि साँझबिहान छोराछोरी र परिवारसँगै बस्छु।'
अनिशले भने जस्तै पारिवारिक सम्वृद्धिका लागि गुणस्तरीय समय एक महत्वपूर्ण पक्ष हो। बेराजगारी र गरिबीका कारण विश्वमा आत्महत्या, चोरी र डकैती गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएका घटना प्रशस्त छन्। राज्यले यस्ता विषयमा गम्भीर बन्न आवश्यक छ। त्यसका साथै जीविकोपार्जनका लागि अरू सबै कुरा गौण राख्दा छोराछोरी एवं परिवारसँगको प्रभावकारी सञ्चार, सम्वाद नहुँदा बालबालिकाहरूमा सामाजिकीकरणको विकास हुन सकेको छैन। यसले गर्दा दीर्घकालीन रुपमा ठुलो समस्या सृजना हुन सक्दछ।
समय बचत र स्वास्थ्य अवस्थामा सुधार गर्दै कृषि एम्बुलेन्स
अनिश र जग्गु चौधरीले भने जस्तै कृषि एम्बुलेन्सले आर्थिक सम्वृद्धिमा मात्र सहयोग नपुर्याएर अन्य विविध क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। पिठ्युँ, टाउको वा साइकलमा भारी बोकेर हिँड्दा श्रमिकको समय धेरै नै खर्च हुने गर्दथ्यो। त्यसका साथै टाइफाइड, ज्वरो जस्ता अन्य रोगबाट ग्रसित भएर कमाएको पैसाले अपुग भएर थप ऋणसमेत लिनुपर्ने बाध्यताबाट किसानहरू चिन्तित थिए। अहिले त्यो समस्याबाट किसानहरू मुक्त भएका छन्। अचेल कृषि एम्बुलेन्स घरमै आउँछ। किसानले उत्पादन मात्रै गरिदिए मात्र पुग्छ।
कहिलेकाहीँ त कृषि एम्बुलेन्स चालकहरूले नै उनीहरूका उत्पादन खरिद गरिदिने भएकाले झनै ठुलो राहत हुने गरेको छ। यसरी आफूले उत्पादन गरेका वस्तुहरूको सहज बिक्री वितरण हुन थालेकाले उत्पादन वृद्धि गर्न उत्साहित भएका छन् किसानहरू। रोजगारीका लागि परिवार छोडेर घरबाहिर रहँदा मानसिक तनाव एवं पीडाहरू कम गर्नमा यो सहयोगको ठुलो भूमिका रहेको छ।
महिलाहरूको दैनिक २ घन्टा बिक्री गर्न लाग्ने समयको बचत भएको छ। बिक्री गर्न लाग्ने समय बालबालिकाको पढाइ र थप आयआर्जनका लागि प्रयोग भएको छ। बिहान ४ बजे उठेर जानुपर्ने र राम्रोसँग सुत्न नपाउने समस्या सामाधान भई स्वस्थ्यमा सुधार भएको छ। घोडाघोडी–५ डोडाका हिरालाल चौधरी र मन्जु चौधरीलाई कृषि एम्बुलेन्सले गर्दा धेरै नै राहत भएको रहेछ।
उहाँहरूले खुसी हुँदै भन्नुभयो, 'हामीलाई पहिला बिक्री गर्न गाह्रो हुन्थ्यो। साइकल र टाउकोमा बोकेर बजार जानु पर्थ्याे। धेरै समय बिक्री गर्नमै जान्थ्यो। मान्छेहरूका घरघरमा डुलाउँदै जानु पर्थ्याे। अचेल एम्बुलेन्सले गर्दा तरकारी ढुवानी तथा बिक्री गर्न सहज भएको छ। बचेको समय अरू काममा लगाउन सकिएको छ।'
महिला सशक्तीकरण र वित्तीय साक्षरतामा सहयोग पुर्याउँदै कृषि एम्बुलेन्स
कृषि एम्बुलेन्सले कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न सहयोग गरेपछि आम्दानीबाट बचत गर्ने, समूहमा बस्ने, समूह निर्माण र परिचालन गर्नाले विस्तारै महिलाहरूको नेतृत्व विकासमा सहयोग पुगेको छ। वित्तीय साक्षरतासँगै महिला सशक्तीकरणमा यस सहयोगको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव परेको छ।
समूहमा आवद्ध हुनाले नेतृत्व विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसका साथै महिलाहरूमा हिसाबकिताब राख्ने, आम्दानीको अनुपातमा खर्च तथा बचत गर्ने बानीको विकास भएको छ। विस्तारै वित्तीय संस्थाहरू खासगरी सहकारीमा सदस्यता एवं शेयर लिने बानीको विकास भएको छ। स्थानीय बजारको मागलाई पूर्ति गर्न महिलाहरु संगठित रुपमा लागिपरेका छन्।
पोषण र खाद्य सुरक्षामा सघाउँदै कृषि एम्बुलेन्स
कुपोषण र खाद्य सुरक्षा अहिलेको एक प्रमुख मुद्दा हो। विभिन्न किसिमका प्रकोपहरुले कृषि क्षेत्र नराम्री प्रभावित छ। खासगरी ज्याला मजदुरी गरेर खाने परिवारका लागि राम्रो कमाई नहुँदा साना बालबालिकाहरुलाई हातमुख जोड्न गाह्रो हुने रहेछ। कृषि एम्बुलेन्सले भने यस समस्यालाई पनि समाधान गर्न प्रत्यक्ष रुपमा सहायता गरेको रहेछ।
कैलाली, घोडाघोडी–८ आमफाँटाका धनबहादुर चौधरीसँग छलफल गर्ने क्रममा भन्नुभयो, 'पहिले पहिले वर्षात्को समयमा हामी घरमा नहुँदा, जंगल वा कतै काममा टाढा जाँदा घरमा खानेकुरा हुँदैनथ्यो र हाम्रा बालबालिका भोकै हुन्थे। कमाई भएको दिन त हामी बजारबाट फर्किँदा केही खाने कुरा ल्याउँथ्यौँ र सबैले पेटभरी खान पाइन्थ्यो। तर कमाइ नभएको दिन वा जंगलमा प्रशस्त साग र माछा मार्न नसकेको दिन बालबालिकासमेत भोकै सुत्न पर्थ्याे।'
यस्तो दर्दनाक अवस्था सुन्दा जो सुकैका पनि आँखा रसालु हुनु स्वभाविक हो। तर अहिले कृषि एम्बुलेन्सले यो समस्या समाधान गर्न सहायता गरेको छ। अहिले गाउँको उत्पादन बजार र बजारमा भएको वस्तु गाउँमै खान पाइएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा उत्पादित सागतरकारी समेत किनेर खान सकिन्छ। आफूनै बजार जानु पर्दैन कृषि एम्बुलेन्सले घरमै ल्याइदिने गर्दछ।
कृषि क्षेत्रमा सुधार र आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा गरिनुपर्ने कामहरू
कृषि एम्बुलेन्स एक सानो प्रयास वा सहायता भए पनि यसले पारेको प्रभावका सन्दर्भमा अन्य सरोकारवाला निकायहरुको पनि ध्यान जान आवश्यक छ। यसले ढुवानी र बजारीकरणमा सहायता पुर्याएता पनि यससँग सम्बन्धित अरु विषय पनि त्यतिकै महत्पूर्ण छन्। त्यसैले तिनै तहका सरकारहरुले यस्तै किसिमका नविनतम सोचहरुको प्रवर्द्धन गर्न आगामी नीति तथा बजेटमा समेटेर लैजानु आवश्यक छ।
गरिबी र अशिक्षा नै विश्वव्यापी समस्या भएकाले राज्यले लाभान्वित वर्ग छनौट गर्दा सहभागीतामूलक र पारदर्शी तरिकाले गर्नु पर्दछ। विकासका साझेदार संस्थाहरूसँगको प्रभावकारी समन्वय, सिकाइ आदानप्रदान र संयुक्त रूपमा कार्यक्रमको निर्माणजस्ता कुरालाई ध्यान दिइनु पर्दछ।
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममा विपन्न, दलित एवं पिछडिएका समुदायका युवाहरूको सहभागीतालाई विशेष ध्यान दिइनु पर्दछ। यसका साथै अबको कृषि प्रणालीलाई जलवायु परिवर्तनका दृष्टिले अनुकुलन हुन सक्ने र यस्ता विषयमा कृषकहरूलाई प्रशिक्षित गरिनु पर्दछ। कृषि शिविरहरूलाई समस्यामा आधारित बनाइनु पर्दछ।
स्थानीय युवाहरूलाई लक्षित गरी कृषि सम्बन्धमा न्यूनतम ज्ञान, सिपसम्बन्धी प्याकेज निर्माण गरी परिचालन गरिनु पर्दछ। कृषि क्लिनिकहरू वा घुम्ती शिविरहरू सबै टोल टोलमा सञ्चालन गरिनु पर्दछ। कृषिमा बिमालाई प्रभावकारी रूपमा सञ्चालन गरिनु पर्दछ र यस्ता विषयमा सूचनाको सम्प्रेषण प्रभावकारी रुपमा गरिनु पर्दछ।
आर्थिक हिसाबले कमजोर वर्गलाई लक्षित सहायताको प्याकेज लागु गरिनु पर्दछ। बजारीकरणमा सरोकारवाला निकायसँगको साझेदारीतालाई अगाडि बढाइनु पर्दछ। नेपाल जस्ता मुलुकहरूका लागि उत्पादनको भन्डार वा चिस्यान केन्द्रहरू पर्याप्त मात्रामा स्थापना गरिनु पर्दछ। कृषि क्षेत्रप्रति उत्प्रेरित हुन तल्लो कक्षा देखीनै बालालिकाहरुलाई कृषि विषयसँग सम्बन्धित खोज, अध्ययन अनुसन्धान र उत्प्रेरित गर्ने नीतिगत व्यवस्था गरिनु पर्दछ।