पाकिस्तानलाई अमेरिकी सहयोग प्रदान गर्नु हुँदैन: हेली

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुने घोषणा गरेकी निक्की हेलीले पाकिस्तानलाई अमेरिकी सहयोग प्रदान गर्न नहुने बताएकी छिन्।

उनले पाकिस्तानमा करिब एक दर्जन आतंककारी संगठन रहेको कारण त्यस्तो देशलाई अमेरिकी सहयोग प्रदान गर्न नहुने बताएकी हुन्।

साउथ क्यारोलिना राज्यमा दुई पटक गभर्नर भइसकेकी ५१ वर्षीय हेलीले न्युयोर्क पोस्टमा लेखेको लेखमा आफू राष्ट्रपति पदमा विजयी भएमा पाकिस्तानलाई प्रदान गर्दै आएको सम्पूर्ण अमेरिकी सहयोग बन्द गर्ने बताइन्।

उनले भनिन्, 'अमेरिकी जनताले तिरेको कर संसारमा अशान्ति फैलाउन प्रयोग गर्नु महापाप हो।'

त्यस्तै फक्स न्युज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अमेरिकी सहयोग अमेरिकाको मित्र देशले मात्र पाउने बताइन्। उनले भनिन, 'रुस, चीन र ती देशका मित्र देशहरुलाई सम्पूर्ण वित्तीय तथा अन्य सहयोग तुरुन्त बन्द गर्नुपर्छ।'

प्रकाशित मिति: : 2023-03-02 17:31:00

प्रतिकृया दिनुहोस्