‘तँलाई हेर्न केटा आएकाे थियाे दिउँसाे। केटा इन्जिनियर हाे, हेर्दा खाइलाग्दाे छ। परिवार निकै राम्राे छ। अब दिदीकाे र तेराे बिहे २५ गते एउटै लगनमा गर्ने हाे, हुन्छ कि हुँदैन? बिहे गर्छेस् त नानी?
ड्याडीकाे याे प्रश्नले खाना खाँदै गरेकाे म झसङ्ग भएँ। ड्याडीकाे प्रश्नले खाना हतारहतार निलेँ र भनेँ, ‘कहाँ बिहे गर्नु अहिल्यै, दिदीकाे बिहेमा जुत्ता लुकाउनु परेन, नाच्नु परेन! अझ भिनाजुकाे भाइलाई लुकाउने साेचेर बस्या छु आफू। कत्ति न, नचिनेकाे मान्छेसँग कसले बिहे गर्छ? गर्दिनँ म।’
‘ए, नचिनेकाे मान्छेसँग बिहे नगर्ने त? चिनेकाे मान्छे छ हाे? छ भने भन है, एउटै लगनमा बिहे गर्नुपर्छ।’ ड्याडीले हाँस्दै भनिरहनुभएकाे थियाे। तर म भने ड्याडीकाे कुरा नसुनी जुठाे भाँडा उठाउन थालेँ।
ड्याडीले जिस्काउँदै भन्नुभएकाे थियाे, तर मेराे भने चित्त दुख्याे। हुन त मलाई बिहेकाे कुरा आएकाे पहिलाे पटक भने थिएन, चाैथाे पटक थियाे। अरू समयमा जस्ताे थिएन यसपटक। अरूबेला घरका मान्छेले भन्दा नातागाेताले विवाहकाे कुरा लिएर ल्याउँथे। त्यतिबेला नातागाेताका मान्छेले विवाहकाे कुरा ल्याउँदा ‘तपाईं आफैँ गर्नु न बिहे, गर्दिनँ म’ भन्थेँ। तर त्यस दिन भने मलाई रून मन लाग्याे।
भाँडा माझिरहेकाे थिएँ। कतिबेला आँखाबाट आँशु झरिसकेछ, थाहा पाइनँ। आफन्तले त १८ वर्ष पूरा नहुँदै ‘नानीकाे बिहे गरिदिउँ, यस्ताे केटा छ उस्ताे केटा छ’ भन्दै कुरा नगरेका पनि हाेइनन्। तर घरमा ड्याडीले पहिलाे पटक साेध्नु भएकाे थियाे मलाई, त्यसैले पनि रून मन लाग्याे। मन थाम्न खाेज्दै थिएँ। कता जाम, के गरूँ भइरहेकाे थियाे। मन निकै बेचैन भयाे। तर पनि जबर्जस्ती आँशु राेकेँ र आफ्नाे काम सकेँ।
अरूबेला सधैँ घरकाे काम सकेपछि टिभीकाे रिमाेट समातेर टिभी हेर्न बस्ने म त्याे दिन भने सुत्न गएँ। सानाे भाइले ‘के भयाे, किन आज छिटाे सुत्न लाग्नुभएकाे’ भनेर साेध्दै थियाे। म भने केही नभएजस्तै गरी निदाउन खाेजेँ तर निदाउन भने पटक्कै सकिनँ। मनमा धेरै कुरा खाेलिरहे। किन-किन अघिल्ला पटक फुपूहरूले विवाहकाे लागि ल्याएका केटा र अहिले ड्याडीले भन्नुभएकाे केटामा तुलना गर्न थालेँ।
एउटा बैंक म्यानेजर, अर्काे जापानमा भएकाे अनि अरू दुई इन्जिनियर। विवाहकाे कुरा आएका केटाहरूमध्ये न कसैलाई भेटेकाे नै थिएँ, न त देखेकाे नै। तर पनि दिमागले चार जना केटामध्ये कुन राम्राे भन्दै साेच्न थालिसकेछ। धेरै सोचेँ, सोचिरहेँ र पनि निष्कर्षमा पुग्न सकिनँ। खै किन-किन चाहिनेभन्दा धेरै नै सोचेर पो हो कि! ह्या, जेसुकै होस् अब केही पनि सोच्दिनँ भनेर निदाउन खाेजेँ। अहँ, पटक्कै निद्रा परेन। फेरि अनेक थरी सोच्न पुगेछु। तर मलाई यति छिटाे विवाह गर्नु पक्कै थिएन।
२१औँ वसन्त पार गरी २२ वर्षमा प्रवेश गरेकाे मलाई न याे समाज अनि विवाहका नीति नियम नै थाहा थियाे, न त कुनै दिलचस्पी नै। हुन त हाम्राे समाजमा छाेरी १८ वर्ष पुग्न नपाई ‘छाेरीकाे बिहे कहिले गरिदिने’ भन्दै छिमेकी र आफन्तहरू टाङ अड्काउन आइपुगिहाल्छन्। तर मेराे घरपरिवारमा भने दिदी २७ वर्षकाे हुँदा समेत कहिले विवाह गर्छेस् भनेर साेधेका थिएनन्। गाउँलेहरूले साेध्दा पनि ‘उसले जहिले मन गर्छ त्यहीबेला गर्ने’ भन्नुहुन्थयाे ड्याडी-ममीले। तर खै, अहिले चाहिँ के भएकाे हाे ‘बिहे गर्छेस्’ भनेर साेध्दै हुनुहुन्छ।
गएकाे माघ महिनामा साथीकाे विवाहमा गएको थिएँ। त्यहाँ एक/दुई जना साथीबाहेक काेही पनि चिनेकी थिइनँ। हामी दुई साथी गफिँदै थियाैँ। पण्डित बाजे पनि त्यहीँ बसेर हाम्राे कुरा सुनिरहेका थिए। अक्सर विवाहका प्रश्नहरू सोधिने भनेको विवाहमा जाँदा नै हो। हाम्राे कुरा सुनिरहेका उनले ‘नानीहरूकाे विवाह भयाे?’ भनेर साेधिहाले। साथीले छैनकाे भावमा टाउकाे हल्लाइ, म चाहिँ माैन नै बसेँ।
पढाइमा भर्खर ब्याचलर सकेर विस्तारै काममा लाग्न थालेकी मलाई बिहे गर्न के थियाे र? साथीकाे बिहेमा जाँदा पनि ‘कहिले विवाह गर्छाै’ भनेर साेधिने! उनीहरूकाे पनि केही गर्छु भन्ने साेच, अझ पढ्छु अथवा बाहिर जान्छु भन्ने इच्छा हुन्छ। मानाैँ कि, छाेरी केटाकाे घर जाने हाे र उसकाे काम श्रीमानकाे घर श्रृंगार्ने मात्र हाे। तर के आफू जन्मेकाे घर श्रृंगार गर्ने हक छैन हामीमा? खै मेराे समाजले छाेरीकाे भावना बुझ्न सकेकाे? के छाेरी मान्छेले २० वर्ष पुग्नासाथ विवाह गरिहाल्नुपर्ने हाे र?