अमेरिकामा बन्दुक बाेकेर रवाफ देखाउनेहरु बढे, ०२२ मै विमानस्थलबाट ६ हजार बढी बन्दुक जफत

अमेरिकाको परिवहन सुरक्षा प्रशासन अर्थात् ट्रान्पोर्टेसन सेक्युरिटी एड्मिस्ट्रेसन (टीएसए)ले गत वर्ष सन् २०२२ मा एअरपोर्टहरुमा मात्र ६ हजार ५ सय ४२ अर्थात् प्रतिदिन करिब १८ बन्दुक जफत गरेको समाचार संस्था सिएनएनले जनाएको छ।

एअरपोर्टमा पक्राउ पर्ने बढ्दाे बन्दुकको संख्या हेर्दा अमेरिकी जनताहरुमा बन्दुकप्रतिको मोह बढ्दो देखिन्छ। टिएसए प्रमुख डेविड पेकोसके जुन गतिले अमेरिकी मानिसहरू बन्दुकसहित पक्राउ परिरहेका छन्, यसले अमेरिकी समाजमा बन्दुकप्रतिको आकर्षण बढ्दाे रूपमा रहेकाे बताउँछन्।

उनी भन्छन्, ‘कोभिड महामारीको समयमा सन् २०२० बाहेक सन् २०१० देखि एअरपोर्टमा बन्दुक पक्राउ पर्ने संख्या बढ्दो छ। बन्दुकसहित पक्राउ परेका सबैको जवाफमा भुलवस आफूले बन्दुक लिएर आएको बताएता पनि सत्यता भने फरक छ। उनीहरू अरू मानिसहरूकाे अगाडि रवाफ देखाउन बन्दुक बाेक्ने गर्दछन्।’

यस्तै सन २०२२ मा सबैभन्दा बढी बन्दुक जफत भएको एअरपोर्टहरुमा डल्लास, अस्टिन र ह्युस्टन (टेक्सास), नासभिल्ला (टेनेस्सी), अट्लाण्टा (जर्जिया), फिनिक्स (एरिजोना), डेनभर (कोलोराडो) आदि छन्।

अमेरिकी सरकारी तथ्याङ्कअनुसार २०२० देखि २०२२ सम्ममा अमेरिकामा सबै प्रकारका गरेर १.२ करोड बन्दुक बिक्री भएको थियो।

स्मरण रहोस्, हवाई यात्रामा लाइसेन्स भएको बन्दुक पनि राख्नु गैरकानुनी हो।

प्रकाशित मिति: : 2023-02-23 16:42:00

प्रतिकृया दिनुहोस्