विराट गोल्डकपको तयारी तीव्र

विराट गोल्डकप ट्रष्टले विराट गोल्डकपको तयारी तीव्र पारेको जनाएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ । रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन्।

नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ। विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो।

यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन्। कम्तिमा २ वटा विदेशी टिमलार्ई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए।

प्रतियोगिताका लागि अहिले विराटनगरको शहीद रंगशाला मर्मतको काम भइरहेको छ। त्यहाँ दिनहु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो। पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए।

सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो। एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ। नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-08 16:50:00

प्रतिकृया दिनुहोस्