नेकपा माओवादीको बैठकले राष्ट्रपतीय निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेछ। राष्ट्रिय सहमतिको युटोपिया जप्नका लागि त साह्रै सुन्दर र श्रुतिमधुर छ ! तर यसको अन्तर्यमा चाहिँ बालकोटको बार्दलीबाट प्रधानमन्त्री भएपछि राष्ट्रपति पूरै कार्यकाल र सभामुख आलोपालो गर्ने खुलागोप्य (ओपन सेक्रेट) सहमति भएको कुरोबाट पन्छिने निहुँ खोज्न—खोज्न आँटेको सन्दर्भसँग जोडेर हेर्नु वाञ्छनीय हुन्छ। उनी बालुवाटारले टार्न खोजेपछि बार्दलीको आडमा शीतलनिवास पुगी बहुमतको संख्या पुर्याई प्रधानमन्त्री बनेकै हुन्।
तर अहिले सो सहमति आफैंले पालना गर्दिनँ भन्न गाह्रो भएर हो वा ‘अगुल्टाले हानेको के जाति बिजुली चम्कँदा तर्सिन्छ’ भन्ने उखान सम्झेर हो। अहिले चाहिँ पार्टीको बैठकबाट राष्ट्रिय सहमतिको युटोपिया खोज्ने निर्णय भएछ। कामरेडको विशेषता भनेकै सहमति एक्लै गर्ने र त्यस सहमतिबाट भाग्नु पर्यो वा त्यो सहमतिबाट पछि हट्ने सुर चल्यो भने पार्टीले मानेन भनेर पार्टी देखाउने प्रवृत्ति हो। यसको प्रथम प्रयोग नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) लाई राष्ट्रपति बनाउँछु भन्ने सहमतिबाट आफैं भागेको त्यतिबेलाको सन्दर्भले नै पुष्टि गर्छ।