मापदण्ड भन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारीसाधन कारवाहीमा

शनि शाक्य

काठमाडौं

ट्राफिक प्रहरीले गत मंसिरदेखी हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारी साधनलाई कारवाही गरेको छ। 

मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस,माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारवाही परेका हुन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखी अभियान संचालन गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अभियान सुरु भएदेखी हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको थियो। 

यो संगै काठमाडौँको बौद्ध टुसालमा आज गरिएको प्रदुषण चेकिङका क्रममा ८ ओटा सवारी साधन कारबाहीमा परेका छन्। 

४३ ओटा सवारी साधन चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडा माइक्रो बस ४, बस २ र पिकअप २ गरी ८ ओटा सवारी साधन फेला परेका हुन्।

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले अभियान संचालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिइएको हाे।  

पक्राउ परेकाे सवारी साधनहरूले सवारी साधन मर्मत पश्चात् पुन: चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता लैजानुपर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन्।  
 

प्रकाशित मिति: : 2023-01-24 16:55:00

प्रतिकृया दिनुहोस्