चीनमा प्रतिबन्ध हटेयता ६० हजार कोरोना संक्रमितको मृत्यु

Noel Celis/Agence France-Presse — Getty Images

कोरोनाभाइरस संक्रमणको संख्या शून्य भएको दाबी गर्दैआएको चीन कोरोनाबाटै थप थलिएको छ।

गत डिसेम्बरको सुरुदेखि अहिलेसम्म चीनमा कोरोनाबाट करिब ६० हजार व्यक्तिको मृत्यु भएको छ। डिसेम्बर ८ देखि बिहीबारसम्म कोभिड–१९ का कारण श्वासप्रश्वासमा समस्या भएका पाँच हजार ५०३ जनाको मृत्यु र अन्य रोगका कारण ५४ हजार ४३५ जनाको मृत्यु भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार घोषणा गरेको छ।

‘विश्व महामारी समाप्त भो’ भन्दै प्रतिबन्ध हटेयता कोरोनाभाइरसबाट ६० हजार चिनियाँ नागरिकले ज्यान गुमाएका छन्। अझै लाखौं मानिस संक्रमित भएको हुनसक्ने थप आशंका गरिएको छ।

कोरोनाभाइरस संक्रमणको चर्को हाहाकार हुँदापनि मृतकको संख्या लुकाएको चीनमा हालैका हप्तामा अस्पताल, मुर्दाघर र अन्त्येष्टिघरहरू भरिभराउ छन्।

चिनियाँ सरकारले काेराेनाबाट मृत्यु भएका नागरिककाे बारेमा भरपर्दो तथ्याङ्क उपलब्ध नगराउँदा विश्व स्वास्थ्य संगठन चिन्तित छ। एकैमहिनामा हजारौं मानिसको मृत्यु भएको घोषणा गर्नुअघि चीनले बारम्बार डिसेम्बर ७ देखि अहिलेसम्म ३७ जनाको मात्र मृत्यु भएको दाबी गरेको थियो।

तर, जापान र दक्षिण कोरियालगायत धेरै देशले गत आइतबार चीनले आफ्नो सीमा खुला गरेपछि चिनियाँ पर्यटकमाथि यात्रा प्रतिबन्ध लगाएका छन्। विज्ञहरूले प्रकोपको गम्भीरतालाई कम आँकलन गर्दा देशभित्रका मानिसहरूले कम सावधानी अपनाउन सक्ने चेतावनी पनि दिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी जियाओ याहुईले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘चीनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्म ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको छ, जसमा ५ हजार ५०३ जना श्वासप्रश्वाससम्बन्धी समस्या र ५४ हजार ४३५ जना अन्य रोगका कारण मृत्यु भएका छन्।’ कोरोनाले निमोनिया वा श्वासप्रश्वासजस्ता समस्या बल्झाउँदा थप बिरामीहरूको मृत्यु भइरहेको विज्ञहरूले जनाएका छन्।

संयुक्त राज्य अमेरिका र बेलायतजस्ता अन्य देशहरूले कोभिडबाट हुने मृत्युलाई अझ व्यापक रूपमा प्रकाशमा ल्याएका छन्। तर चिनियाँ सरकार त्यो सत्यलाई दबाउँदै आएकाे छ। चीनमा पनि मृत्यु हुनेको वास्तविक संख्या हरेक देशमा जस्तै बढी छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले लामो समयदेखिको डरलाई पुष्टि गरेको छ, कि चीनको वृद्ध जनसंख्या प्रकोपबाट बढी प्रभावित छ।

चीनमा कोभिड–१९ को मृत्यु विशेष गरी संवेदनशील राजनीतिक मुद्दा हो, किनकि राष्ट्रपति सी जिनपिङले भाइरसलाई नियन्त्रण गर्न कडा लकडाउन, क्वारेन्टाइन र सामूहिक परीक्षणको रणनीति अघि सारेका थिए।

राष्ट्रपति सीले महामारीको सुरुआतमै संक्रमण रोक्न सफल भएपछि यो मोडेल अन्य देशले पनि अपनाउन सक्ने दाबी गरे। देशभरि लगातार केसहरू बढ्दै जाँदा नोभेम्बरमा चिनियाँ नागरिकले विरोध प्रदर्शन गरे।

पहिलेदेखि नै ठूलो आर्थिक तनावबाट गुज्रिरहेको चीनले अचानक आफ्नो ‘जिरो कोभिड’ नीतिलाई उल्ट्यायो। अधिकारीहरूले हालैका दिनहरूमा प्रमुख शहरहरूमा संक्रमण उच्च स्तरमा पुगेको बताएका छन्।

प्रकाशित मिति: : 2023-01-15 08:02:00

प्रतिकृया दिनुहोस्