प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित

नेकपा एमालेकी प्रदेशसभा सदस्य सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छन्।

शनिबार प्रदेशसभामा भएको निर्वाचनमा उनी सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन्।

दनुवारले ५७ मत ल्याएर निर्वाचित भएकी हुन्। यस्तै नेपाली कांग्रेसकी लिलाकुमारी राईले ३३ मत प्राप्त गरेकी छिन्।

शनिबारको प्रदेशसभामा ९० जना सांसद उपस्थित थिए। दनुवारलाई निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलचन पाठकले प्रस्ताव गरेका थिए। उनले गरेको प्रस्तावमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।

प्रदेशसभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले सांसद दनुवारलाई उपसभामुखमा निर्वाचित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2023-01-14 13:30:00

प्रतिकृया दिनुहोस्