प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

File Photo
File Photo

प्रदेश १ सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। सभामुखमा गौतमको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक र नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा, नेकपा एकीकृत समाजवादी पार्टीका कमल जवेगु उनको समर्थक रहेका थिए।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित बनेका हुन्। गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

सभामुखका लागि प्रदेशमा पुस २८ गते बिहान ११ बजे निर्वाचनको मिति तोकिएको थियो। तर उनको एकल उम्मेदवारी परेकाले प्रदेशसभाका जेष्ठ सदस्यको अध्यक्षतामा बसेको प्रदेशसभाको तेस्रो बैठकले उनी निर्वाचित भएको घोषणा गरेको हो।

केन्द्रीय भागबन्डाअनुसार प्रदेश १ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रलाई दिने सहमति छ। केन्द्रको सोही निर्णयअनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भइसकेका छन् भने सभामुखमा माओवादीका गौतम चयन भएका छन्।

योसँगै गौतम प्रदेश १ को दोस्रो सभामुख बनेका छन्। यसअघि नेकपा एमालेका प्रदीपकुमार भण्डारी प्रदेशसभाको पहिलो सभामुख थिए।

प्रदेश भागवण्डामा सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार सभामुख माओवादी केन्द्रको भागमा परेसँगै एमालेले उपसभामुख पाउने पक्का छ। प्रदेशमा उपसभामुख निर्वाचनका लागि २९ गते बस्ने प्रदेशसभाको बैठकले कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ। उपसभामुखका लागि ३० गते निर्वाचनको मिति तय भएको छ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला र फरक-फरक दलको प्रतिनिधि हुनुपर्नेछ व्यवस्था छ। सभामुखका लागि पुरुषको उम्मेदवारी परेसँगै उपसभामुखमा महिला उम्मेदवार बनाउनुपर्ने अवस्था छ।

प्रकाशित मिति: : 2023-01-12 11:47:00

प्रतिकृया दिनुहोस्