चितवनमा सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ।

सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो। 

‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ। कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्का अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गरिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ।
 
सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ। जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ। कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ।
 
राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र  नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिने गरिएको छ। सेवा लिन आएका सेवाग्राहीहरुले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन्।
 
अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन्। नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपी लिने ७० जना हुने गरेको उनले बताए।

प्रकाशित मिति: : 2023-01-10 13:39:00

प्रतिकृया दिनुहोस्