आसन्न नेपाल प्रेस युनियन प्रदेशको अधिवेशनका लागि सक्रिय पत्रकार मीनकुमार नवोदित (श्रेष्ठ)ले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार विराटनगरमा उपलब्ध प्रेस युनियनमा आबद्ध पत्रकारहरुको भेलामा नवोदितले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित युवा साहित्यकार पनि हुन्। नवोदितका तीनवटा कृतिसमेत प्रकाशित छन्। नेपाल सरकारले युवा साहित्यकारलाई दिने सबैभन्दा प्रतिष्ठित युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका नवोदित नेपाली लेखक संघ, आर्थिक पत्रकार मञ्चलगायत दर्जनौं संघसंस्थामा आबद्ध छन्।
प्रदेशमा युनियनलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको उनले बताए। पत्रकार महासंघसहित अन्य पत्रकारसँग सम्बद्ध विभिन्न संगठनहरुसँग सहकार्य गरेर पत्रकारहरुको हकहित र अधिकारका लागि आफूले कार्य गर्ने नवोदितको भनाइ छ। आफू अध्यक्ष भए वर्षमा कम्तीमा दुईपटक बेग्लाबेग्लै जिल्लामा प्रदेश भेला गर्ने उनले योजना सुनाए। प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रेस युनियनको इतिहास झल्कने स्मारिकासमेत प्रकाशित गर्ने नवोदितले बताए। ‘आफूले नेतृत्व गर्न पाए युनियनलाई प्रदेशमा पूरै चलायमान बनाउँछु,’ उनले भने। कारोबार दैनिकका प्रदेश–१ संयोजकसमेत रहेका पत्रकार नवोदित मकालु टेलिभिजनका सहसम्पादकका रुपमा कार्यरत छन्।