प्रतिगमन र संविधानको रक्षाको लागि भन्दै पाँच दलीय गठबन्धन भएको थियो। त्याे नेकपा (एमाले)विरुद्धकाे गठबन्धन थियो। यो गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने वचनबद्धता गठबन्धनमा सम्मिलित दलहरुले प्रकट गरेका थिए। निर्वाचनपछि सरकार निर्माणको क्रममा विशेषत: ‘प्रधानमन्त्री’को सवालमा गठबन्धनभित्र मतान्तर देखिन थाल्यो। नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभई नछोडने र काँग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री विना बस्नै नसक्ने।
माओवादी पार्टी अबको पालो हाम्रो भन्ने, काँग्रेस भन्ने हामी ठुलो दल। यी दुवैको हठले गठबन्धन भङ्ग हुन पुग्यो। गठबन्धनमा सहभागी दलले गठबन्धन भित्रका दलको भावना, मान र मर्यादा बुज्नुपर्छ र त्यो राख्न सक्नुपर्छ। त्यसकाे नितान्त अभाव देखियो।
गठबन्धन टुट्नुमा काँग्रेस र माओवादी कुन दोषी हुन भन्नुभन्दा पनि यी दुई दलभित्र दुबैको इमान्दारिता देखिएन। जुन अवधारणा र विचारबाट प्रेरित भएर गठबन्धन गरिएको थियो, त्यसमा आवद्ध हुन सकेनन्। एकीकृत नेकपा हुँदा प्रधानमन्त्रीकै लागि पार्टी विग्रह गरेका प्रचण्डले अहिले पनि प्रधानमन्त्रीकै लागि गठबन्धन भङ्ग गरेका छन्, उनकाे पद लिप्सा।
काँग्रेसभित्र पनि रुपान्तरण/पुस्तान्तरणको मुद्दा उठिरहेकै अवस्थामा शेरबहादुर देउवालाई पुन: प्रधानमन्त्रीकाे रुपमा स्विकार्ने अवस्था काँग्रेसभित्र देखिरहेको थिएन ! यो अवस्थालाई कार्यरुप दिन क्रियाशील गराउन संस्थापन इतर त जागरुप नै थिए। देउवाका सहयोगी र काँग्रेसीजनहरु नै सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री पनि राष्ट्रपति पनि काँग्रेसकै’ भन्ने समाचारहरुले पद र कुर्सीका लोभी पद लिप्सामा मोहित भएका देउवालाई प्रधानमन्त्री ‘मै हुन्छु’ भन्ने मनोवैज्ञानिक बल मिलिरहेकै थियो। र, यो भावना र विचारबाट पूरै प्रभावित भएर लागे। त्यति लामो समय पार्टी सभापति भएका र पटक–पटक प्रधानमन्त्रीसमेत भएका देउवा, नेपाली राजनीतिक कुशल खेलाडीका रुपमा चिएनिका बुझिएका देउवाले काँग्रेसभित्रको राजनीति बुज्न मात्र सकेन कि प्रचण्डको रणनीतिसमेत बाट अनविज्ञ रहनु आश्चर्य पनि उनकाे पद लिप्सा। उनकाे अदूरदर्शी, दम्भ र हठ अरु चरममा पुग्यो। उनकाे बुद्धिमा, उनकाे विवेकमा बिर्को लाग्यो र यही कारण रह्याे, गठबन्धन भङ्ग हुने।
वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र एक यस्ता नेता देखिए ‘प्रधानमन्त्री छोडेर राष्ट्रपतिमा सहमति गरेर भए पनि गठबन्धन जोगाउँ’ भन्ने। अहिले सबै काँग्रेसका मुखमा यही कुरा उठ्दैछ र सम्पूर्ण दोष देउवामा। उनकाे दम्भ र उनकाे हठ हो भनिन्दै छ र यो सत्य र यथार्थ पनि हो। देउवा वरिपरि रहेका देउवाका टिम र संस्थापन इतर भनिएकाहरुले पनि रामचन्द्र पौडेलको जस्तो सल्लाह र विचार किन देउवालाई दिन सकेनन् ? किन समाजिक सञ्जालमा पौडेलले राखेजस्तो विचार राख्न सकेनन्।
सुकरातको एउटा कुरा याद आयो,‘हो भगवान मलाई मित्रहरुदेखि बचाउनुस्, सत्रुहरुदेखि डर छैन।’ अन्तत: देउवामा यस्तै भयो।
जे होस्, अब बस्ने भनिएको काँग्रेस केन्द्रीय समितिको बैठकमा यसकाे जवाफ मागिने छ भनिएकाे छ। र, यस विषयमा निर्मम समीक्षासमेत गरिन्छ भनिन्दैछ। यसमा संसदीय दलको नेताबाट राजीनामा माग्ने कुरा पनि आएको छ तर संसदीय दल र केन्द्रीय समितीसमेतमा मजबुत रहेका देउवाप्रति काँग्रेस असन्तुस्टहरु कति भारी देखिन्छन् त्यो हेर्न बाँकी छ।
सर्तै सर्तको घेरामा प्रचण्ड !
चिडियाखानाको शेर प्रचण्ड प्रधानमन्त्री त भए। सात दलीय गठबन्धनका प्रधानमन्त्री, झट्ट हेर्दा र सुन्दा बलिया प्रधानमन्त्री। प्रचण्ड नेतृत्वको सरकारले जे पनि गर्न सक्ने, उनकाे लागि अब कुनै पनि निर्णय गर्न सक्षम लाग्ला। तर, यथार्थमा प्रचण्ड माथि भनिएको जस्ताे अवस्थामा भने छैन।
प्रधानमन्त्रीकै लागि काँग्रेससँगकाे गठबन्धन भङ्ग गरेर प्रधानमन्त्री बनेका प्रचण्ड पुन: सात दलीय गठबन्धनको बन्धनमा मात्र परेका छैनन्, ती गठबन्धन दलको आ–आफ्नो सर्तको बन्धनभित्र पनि छन्। र, ती सर्त यस्ता छन जसले आफूलाई गणतन्त्रको अवधारण र संघीयता भित्र्याउने प्रणेताकै रुपमा उभ्याउने प्रचणडकाे लागि निक्कै अनुत्पादक र प्रतिगामी कदम हुन्छ।
प्रतिगमन नै भयो भनेर तत्कालिन नेकपासँग विग्रह गरेर आफ्नो मातृपार्टीमा पुन: आएका प्रचण्ड अहिले झन् प्रतिगामी भनिएर चिनिएकै पार्टी र संघीयताका विपक्षमा रहेका अन्य दलहरु सम्मिलित सरकारको नेतृत्व लिन पुगेका छन्। ती दलहरुको सर्त उनकाे इतिहासमा अर्को परिचय बन्न सक्छ र त्यो यसकारणले हो कि प्रधानमन्त्री बन्नकै लागि भइरहेको गठबन्धन भत्काएर अर्को गठबन्धन गरी प्रधानमन्त्री बनेका प्रचण्ड ती सबै सर्तहरु नि:सर्त स्वीकार गर्दै जाने उनकाे राजनीतिक चरित्रले यस्तै होला भन्न सकिन्छ। र, उनकाे परिचय प्रतिगामी नबनोस।
यो यस कारणले पनि हुन सक्छ कि अहिलेको राजनीतिमा शेरको रुपमा चिनिएका र परिचय बनाएका प्रचण्ड सात दलीय गठबन्धन र तिनीहरुको सर्तले ‘चिडियाखानाको शेर’ हुन सक्छ। मुखबाट गर्जन र हुंकार मात्रै हुने उनकाे पञ्जाले पनि केही गर्न नसक्ने अवस्थामा पुक्छन। शेर त हो तर चिडियाखानको शेर चिडियाखानामा घुम्न आउने केटाकेटी र दकर्शको रमाइलो र आनन्द मात्र, वस् त्यति मात्र।