अमेरिका सभामुखबिहीन, तीन दिनमा ११औं पटक मतदान

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिका बिगत तीन दिनदेखि सभामुखविहीन अवस्थामा छ । गत मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले झिनो बहुमत हासिल गरे पनि पार्टीभित्रको अन्तरद्वन्दले रिपब्लिकन पार्टीको संसदीय दलका नेता केभिन म्याकर्थीले बहुमतका लागि आवश्यक २१८ को जादूगरी संख्या जुटाउन सकेका छैनन् । 

रिपब्लिकन पार्टीकै उग्र दक्षिणपन्थी २० सांसदहरू उनको विपक्षमा उभिएपछि ११औं चरणको मतदान हुँदा पनि उनले आवश्यक बहुमत जुटाउन सकेनन् । 

४३५ सदस्यीय अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ  रिप्रेजेन्टेटिब्समा रिपब्लिकन सांसदको संख्या २२२ र डेमोक्रेट्सको संख्या २१२ छ । एक स्थान खालि छ ।

अमेरिकामा सामान्यत:  बहुमत प्राप्त संसदीय दलका नेता  नै सभामुख हुने प्रचलन छ । त्यसो हुँदा २२२ स्थान जितेको रिपब्लिकन दलका नेता म्याकर्थी स्वभाविक रूपमा सभामुख हुनुपर्ने हो । तर, लामो समयदेखि रिपब्लिकन दलका नेता रहदै आएका म्याकर्थी सभामुख हुँदा रिपब्लिकन पार्टीमा कुनै परिवर्तन नआउने भन्दै रूढीवादी रिपब्लिकनहरू उनको विरूद्ध उत्रिएका छन् । 

रूढीबादी रिपब्लिकनसँग चरणबद्ध सौदाबाजी प्रयास गरिरहेका म्याकर्थीले अझै पनि उनीहरूलाई सम्झाउन सकिरहेका छैनन् । विहीबार ११औं चरणको मतदानमा पनि म्याकर्थीले आवश्यक बहुमत जुटाउन नसकेपछि शुक्रबार अपरान्हसम्मका लागि संसदीय कारबाही स्थगित गरिएको छ ।

अमेरिकी संसदको सभामुख छान्न सन् १८५९ मा  ४४औं चरणसम्म मतदान भएको इतिहास पढ्न पाइन्छ। त्यसयताका १६४ वर्षमा अमेरिकाले यस्तो नाजुक अवस्था व्यहोरेको थिएन । 

म्याकर्थीको विपक्षमा उभिएका अधिकांश सांसहरू ट्रम्प समर्थक छन् । तर, स्थिति यस्तो नाजुक अवस्थामा पुगेको छ कि स्वयं ट्रम्पले म्याकर्थीलाई समर्थन गर्न सम्झाउँदा पनि उनीहरू मानिरहेका छैनन् । रिपब्लिकन पार्टीमा गरमपन्थी र नरमपन्थीबीचको यो नोकझोक हेर्दा त्यति सजिलै र छिट्टै अमेरिकी संसदले सभामुख पाउँने छाँट देखिएको छैन ।

पद्धतिको कुरा गरेर कहिलै नथाक्ने अमेरिका यो नाजुक मोडमा  पुग्नु आफैंमा एक विचित्र हो । राजनीतिक पण्डितहरूले यसलाई पोस्ट ट्रम्प ट्रमा भनेका छन् । ट्रम्पले रिपब्लिकन पार्टीलाई अनुशासनहीन जत्थामा परिणत गरिदिएपछि योभन्दा भिन्न दृश्य अरू के अपेक्षा गर्न सकिन्थ्यो र ?, उनीहरूले भनेका छन् , 'यो त सुरूवात मात्र हो,  आउँदो दुई वर्षमा अरू धेरै अपत्यारिला दृश्यहरू अमेरिकी संसदमा देखिनेछन् ।

 

 

प्रकाशित मिति: : 2023-01-06 07:29:00

प्रतिकृया दिनुहोस्