आम सञ्चारमाध्यम र सामाजिक सञ्जालको ‘टेन्ड्रिङ’मै छन्, ‘रवि दाइ’ अर्थात् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने। उनी माओवादी केन्द्रका ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारका ‘भाइरल’ मन्त्री हुन्।
गृहमन्त्रीको अघिल्तिर प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री छन्। तर चर्चामा उनीभन्दा परै छन्। गृहमन्त्री रवि प्रचारशैलीमा माहिर छन्। उनी टेलिभिजनमा चिच्याएर मात्रै सिंहदरबारको शक्तिशाली मन्त्रालय पुगेका होइनन्, कारण अनेकौँ होलान् तर सञ्जालमा प्रचारबाजी र लोकरिझ्याँइमा सबैभन्दा अब्बल छन्।
नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता गरेको सात महिना नपुग्दै उनी राष्ट्रिय राजनीतिमा उदाए। नयाँ बानेश्वरको सेतो भवनका २० सांसदलाई आफ्नो खल्तीमा थन्क्याउँदै बालकोटको ‘बार्दली’मा पुगेर उपप्रधानसहित गृहमन्त्रालय ताके। अन्ततः ‘रवि दाइ’ पनि सत्ता स्वार्थको चंगुलमा फसे, उपप्रधानमन्त्री तथा गृहमन्त्री बनिछाडे।
नेपाली राजनीतिमा यस्ता लोकलाजका तर्क–कुतर्क भइरहन्छन्। गृहमन्त्रालयको कार्यभार सम्हालेलगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको चर्चा अन्य मन्त्रीको भन्दा ज्यादै छ। ‘रविजी केही नयाँ गरौँ भन्ने इच्छाशक्ति भएको व्यक्ति हुनुहुन्छ। तर पछिल्लो समय उहाँ सुधारात्मकभन्दा प्रचारात्मक काममा बढी खट्न थाल्नुभएको भान हुन्छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो पार्टीलाई धेरै चुनौतीसँगै राम्रो अवसर पनि छ। गृहमन्त्रालयका विज्ञसँग सल्लाह गर्नुपर्छ, नचाहिँदा युट्युबर जम्मा गरेर हल्ला गर्नुभन्दा।’
नेपाली सत्ता राजनीति रमाइलो ‘मोड’मा छ। एक महिनाअघिसम्म एकअर्कालाई गाली–गलौज गर्दै आएका एमाले र माओवादी एकैकित्तामा छन्। सत्ता गठबन्धनका नाइके तथा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डलाई ‘नो नट् अगेन’को नारा घन्काउँदै हिँडिरहेका ‘भाइल म्यान’ रवि लामिछाने ओली–प्रचण्डकै समर्थनमा गृहमन्त्री बने। प्रचण्ड अर्थात् तेस्रो दलका नेता चमत्कारिक रूपमा सरकारको बागडोर सम्हाल्ने अवस्थामा पुगेपछि पहिलो ठुलो दल नेपाली कांग्रेस ललितपुरस्थित सानेपा कार्यालयमै थन्किएको छ।
तेस्रोपटक सिंहदरबार छिर्ने ‘गोल्डेन चान्स’ पाएका ‘प्रचण्ड’ गृहमन्त्रीको हल्लीखल्लीले छायाँमा छन्। गृहमन्त्री रवि मन्त्रालय गएको अर्को दिनदेखि ब्रिफिङ र निर्देशनमै केन्द्रित छन्। त्यसो हुँदा आम सञ्चार र सामाजिक सञ्जालमा प्रचारप्रसार हुने नै भो! तर मन्त्री क्वाटर पुल्चोकमा सर्दा, पिर्काबिना सलामी खाँदा, श्रीमतीको जन्मदिनमा जुजुधौ काट्दा पनि समाचारको पात्र बनिरहकै छन्, गृहमन्त्री।
आफू सञ्चारकर्मी हुँदा टेलिभिजनमार्फत् ‘चप्पल पड्काउँदै सिंहदरबार गएकाहरू अरबौँका मालिक भए’ भन्दै चिच्याउँथे। मन्त्री–सांसदकी श्रीमतीले लगाएको साडीदेखि छोराछोरीले लगाएको घडीसम्म चर्चा गर्थे। अनि मनलाग्दी सराप्थे। उनै गृहमन्त्रीकी श्रीमतीले बोकिरहेको एउटा झोलालाई देखाएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे उनी मौन छन्। खैर, भो! यस्ता कुरा यहीनेर छाडौँ।
तर नेता नेताजस्तै हुनुपर्छ। नागरिक चाहन्छन्– जाे काेही मन्त्रीले पनि प्रचार कम खोजोस्, काम धेरै गरोस्। तर गृहमन्त्री रवि प्रचारबाजीबाट रोकिने छाँटकाँट छैन। विशेष त कपाल फुलेका नेताबाट देशको मुहार फेरिँदैन भन्दै प्रमुख दलका शीर्ष नेताहरूको खरो आलोचना गरेर राजनीतिमा होमिएका लामिछानेप्रति पक्कैपनि नागरिकको आशा र भरोसा छ। त्यसैले उनका सबै गतिविधि जनताले नजिकबाट नियालिरहेका छन्।
रविमाथि जनताको ठुलो आशा भएकोले उनलाई बाटो बिराउने छुट छैन। जसरी पनि राम्रो नतिजा निकाल्नुपर्ने बाध्यता छ। जनताले ‘स्याब्बास् रवि दाइ’ भन्ने गरी काम गर्न रविले मन्त्रालयमा राम्रो टिम बनाउनुपर्छ, मन्त्रालयका कर्मचारीसँग सुमधुर सम्बन्ध कायम गरेर काम गर्नुपर्छ। सबै सुरक्षा संयन्त्रलाई विश्वासमा लिन सक्नुपर्छ। तर, अहिले यी कुरामा गृहमन्त्री सक्षम देखिएनन्। मन्त्रालयका कर्मचारीले नै रविले आफूसँग सहकार्य नगरी काम गर्न खोजेको गुनासो गर्छन्। विगतमा गृहमन्त्री अनुगमनमा जाँदा गृहसचिव र अन्य उच्च पदस्थका कर्मचारीसँगै देखिन्थे। तर, उनी भने आफूनिकट प्रचारकर्ता र एकहुल सञ्चारमाध्यम बोकेर हिँडिरहेका छन्।
मन्त्रालय सम्हालेको दुई दिनपछि गत बुधबार राहदानी विभागको अनुगमनमा गएपनि आलोचना खेपिरहेका छन्। रविलाई गृह मन्त्रालयको मात्रै जिम्मेवारी छ। परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीसँगै छ। तर गृहमन्त्री रवि अर्को मन्त्रालयको विभाग अनुगमन गर्न त्रिपुरेश्वर पुगेपछि विभागका महानिर्देशक सुरेन्द्र यादवले आफूलाई तर्साउन यहाँ नआउन आग्रह गरेका छन्।
‘गृहमन्त्रीजी यहाँ आउनुभएको थियो। तर उहाँलाई जानकारी रहेनछ, यो परराष्ट्र मन्त्रालयको विभाग हो भनेर। उहाँ यहाँ आउनुभयो, त्यो राम्रो कुरा हो। तर काम गरिरहेको ठाउँमा आफ्नो क्षेत्राधिकार नबुझी युट्युबर बोकेर कर्मचारी तर्साउन खोज्नु राम्रो होइन,’ महानिर्देशक यादवले भने।
गृहमन्त्री लामिछाने मन्त्रालयका अनुभवी कर्माचारीसँग समन्वय गर्दैनन्। उनी आफ्नो कोर टिमसँग रमाउँछन्। ‘मन्त्रीज्यू राहदानी विभाग जान लागेको हामीलाई थाहा थिएन, उहाँ अकस्मात एक जना सहसचिव बोकेर जानुभयो,’ गृहमन्त्रालय एक कर्मचारीले बिएल नेपाली सेवासँग भने, ‘उहाँले अनुगमनमा जाँदा मन्त्रालयका कर्मचारीसँग समन्वय गर्नुहुन्न। सायद त्यही थाहा नपाएर राहदानी विभाग जानुभयो होला।’
मन्त्रालय गएको एक महिना नपुग्दै कर्मचारीसँग रविको ‘ट्युनिङ’ नमिलेको स्पष्ट रूपमा बुझ्न सकिन्छ। उनी राजनीतिमा नयाँ अनुहार हुन्। पहिलोचाेटी शक्तिशाली मन्त्रालयको नेतृत्व गर्ने सुनौलो अवसर पाएका छन्। यतिबेला अनुभवी र विश्वासिला कर्मचारीको अवाश्यकता अपरिहार्य छ। तर, उनी आफ्नै मन्त्रालयका कर्माचारीसँग दूरी बढाउँदै गइरहेका छन्। यसरी गृहमन्त्री रविले मन्त्रालयको अनुभवी टिमभन्दा बाहिरी गुटसँग भर पर्दा सुरक्षा संयन्त्र सशंकित छ।
गृह देशको मेरूदण्ड हो, सुरक्षाको प्रत्यक्ष निगरानी गृहमन्त्रीबाट हुने गर्छ। यस्तो अवस्थामा सुरक्षा निकाय र कर्मचारी गृहमन्त्री रविलाई सूचना दिन हिचकिचाउँदा त्यसले नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले ‘रवि दाइ’को काम गर्ने इच्छाशक्ति छ। उहाँले काम गरे पुग्छ। सायद काम गर्नकै लागि गृहमन्त्रालय ताक्नुभएको होला तर प्रचारमा मात्रै रमाउने काम चाहिँ साह्रै नराम्रो हाे, ‘रवि दाइ’!
सरिता गिरी, राजेन्द्र महतो, उपेन्द्र यादव, सुजता कोइराला, देवेन्द्र कण्डेल आदी आदी को राजीनामा खोज्नु नपर्ने रविको मात्र किन ? गृहका कर्मचारीहरुको आम्दानीको श्रोत सुकाइ दियो रविले भनेर कतै आन्दोलन गरेको त होइन, हामी काम गर्छौ हामीलाई मौका देउ, काम नगर्ने, राजनिती मात्र गर्ने भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै कारवाही गरी जेल हाल गृहमन्त्रि । जनता तिम्रो साथमा छन् ?
सबै घुस खान र ख्वाऊन पल्केकासगं , घाम तापी ठगी बस्न पल्केकाहरू सगं ट्नयुनिगं नमिल्नु अस्वभाविक होईन !!
Aruko khedo nakhan na ho keta. Afno Kam ramro sanga gar. Kina time khera falxas?