प्रचण्ड र विष्णु पौडेल पोखरा जाँदै, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज पोखरा जाँदैछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनीहरू पोखरा जान लागेका हुन्।

प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री पौडेल पनि जाने कार्यक्रम छ।

प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन्।

यस्ता छन् कार्यक्रम 

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन्।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिएका छन्। विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०ः०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्‍याली आयोजना गरिएको छ। र्‍यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११ः०० बजे हुने उद्घाटन समारोहमा सहभागी बन्नेछन्। उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

उद्घाटनपश्चात् दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४ः०० बजेदेखि ५ः५० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ। साँझ ६ः०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिएका छन्।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६ः०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ। उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ।

प्रकाशित मिति: : 2023-01-01 07:31:00

प्रतिकृया दिनुहोस्