उनी अफगानिस्तानको युद्धबाट बाँचेका एक योद्धा हुन्। ४३ वर्षीय उनी एक कीर्तिमानी पर्वतारोही र साहसिक यात्री पनि हुन्। रोल्पाकाे मिरुलस्थित दुर्गम जेबारी गाउँमा जन्मे–हुर्केका हरिबहादुर बुढा मगर एक युद्धका नायक हुन्। उनको परिचय एडभेञ्चर हिरोको रुपमा पनि स्थापति छ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएपछि उनको जीवनले नयाँ मोड लियो। त्यो भयानक घटनापछि उनी विभिन्न साहसिक गतिविधि र खेलकुदमा व्यस्त हुन थाले। उनले शारिरिक अपाङ्गतालाई अवसरमा बदले।
उनी घुँडामाथि दुवै अंगविच्छेदन (डबल एम्प्यूटी) भएका व्यक्ति हुन्। साहसिक गतिविधिमा अनेकाैँ कीर्तिमान कायम गर्न सफल हरि एक असाधारण, साहसिक र उत्साही व्यक्ति हुन्, जसले यसै वर्ष (सन् २०२३ स्प्रिङ एक्स्पिडिसन)मा सगरमाथा चुम्ने सपना लिएका छन्।
उनको बेलायती सैनिक जीवन राम्रै चलिरहेको थियो। त्यतिबेला अफगानिस्तानमा युद्ध चरम उत्कर्षमा पुगेको थियो। ‘मन र दिमाग जित्ने’ अभियानका साथ सन् २०१० मा बेलायती सेनालाई अफगानिस्तानमा पुनः तैनाथ गरियाे।
स्थानीय जनताको मन र विश्वास जित्न सडक, विद्यालय, खानेपानीको व्यवस्थालगायत विभिन्न विकासजन्य कार्यमा सेनालाई संलग्न गराइएको थियो। यो एक युद्धग्रस्त देशका जनताको मन जित्ने सैन्य रणनीति थियो।
सेनाहरु आफ्नो मिसनअनुसार काममा जुटे। एकदिन २० जना ब्रिटिस सिपाहीको एक समूह एउटै लाइनमा पैदल गस्ती गरिरहेका थियो। तिनीहरूका दुई उद्देश्य थिए, भूगोलबारे परिचय लिने र खानेपानी प्रणालीको निर्माण गर्नु। उनीहरुलाई इन्जिनियरहरुको पनि साथ थियो।
अफगानिस्तानको नहरी सराज जिल्ला, हेलमाण्ड प्रान्तको एक दुर्गम गाउँ। सन् २०१० अप्रिल १७ दिउँसो ३ बजे। मौसम औधी गर्मिलाे थियो। सेनाको गस्ती टाेली अगाडि बढ्दै थियाे, दशाैँ नम्बरमा थिए हरि। अगाडिका ९ जना सैनिकले लाइन पार गरेपछि दुर्भाग्यवस हरिले विस्फोटक उपकरण (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) भएको जमिनमाथि टेक्न पुगे। अचानक ठुलो आवाजमा बम विस्फोट भयो। धुलोको कणले उनको शरीर पूरै छाेपियो, हरि गम्भिर घाइते भए। ‘एक्कासी बम विस्फोटको आवाज सुनेँ, आँखा धुमिलाे भयो। छिनभरमै म बेहाेस भएछु,’ उनी धमिलो सम्झना गर्छन।
होस् खुल्दा उनी मेडिकल क्याम्पमा लम्पसार परेका थिए। ‘मलाई मास्क लगाइदिएका थिए र रगतले निथ्रुक्क भिजेको सैनिक पोशाक कैंचीले काटिएको थियो। मेरो एउटा खुट्टा बमले उडेछ र अर्कोमा गम्भीर चोट लागेकाे थियाे। चोटग्रस्त खुट्टाबाट अत्याधिक रगत बगिरहेको थियो र एकदम तिर्खा लागेको थियो,’ उनले त्यो दिनको भयानक घटनाबारे बताए।
घटना लगत्तै उनलाई तुरुन्तै एक चिकित्सक टोलीद्वारा प्राथमिक उपचार दिइयो। दुखाइ कम गर्न मोर्फिन इन्जेक्सन लगाइयाे। त्यसपछि अमेरिकी सेनाको हेलिकप्टरले उनलाई तुरुन्त बाहिर निकालेर १७ मिनेटभित्र उद्धार गर्याे।
उनकाे एउटा खुट्टा गुमिसकेकाे थियाे। ज्यानमा थप संक्रमण र जोखिम हुनबाट बचाउन अर्को चोटग्रस्त खुट्टा पनि काट्न सुझाव दिए डाक्टरले।
हरिले यता उता हेरे। छेउका कमाण्डिङ अफिसर देखेर लजाए। ‘आफ्नो मिशन पूरा गर्न नसकेकोमा मलाई खुब लाज लाग्यो त्यसबेला,’ उनी विगत सम्झन्छन। यो एक भावनात्मक क्षण थियो, आँखाभरि आँसु, अचानक शब्द प्रस्फुटन भयो,‘माफ गर्नुस् साब।’
‘मेरो जीवनको सबैभन्दा कालो क्षण थियो त्यो। मैले एकैपटक त्यसबेला परिवार, आफन्त र सहकर्मीहरूलाई सम्झिएँ। म निकै निराश, हतास र स्तब्ध हुँदै एकदम निरीह भएको महसुस गरेँ,’ उनले आफ्नो कथा सुनाए।
यसको बावजुद उनलाई एउटा पिरले भने सतायो,‘सबैभन्दा ठुलो पिर, मैले आफ्नो मिशन पूरा गर्न असमर्थ भएकोले अत्यन्तै दुखी भएँ।’ जीवनमा कहिल्यै नचिताएको त्यो कहालिलाग्दो घटना बिर्सन नसक्ने गरी गहिरो छाप बनेर बस्यो उनमा।
अपाङ्गतालाई अवसरमा बदले
त्यो विस्फोटपछि हरिले घुँडाभन्दा माथिसम्मै दुवै खुट्टा गुमाउन पुगे। त्यसपछि उनी थुप्रै दिन धेरै पीडाबाट गुज्रिए। पोष्ट-ट्रमाटिक र तनावसँग निरन्तर संघर्ष गरे। कैयौँ पटक आत्महत्याको समेत प्रयास गरे। समाजमा हीनताबोध र अपमानित भएकाे महसुस गरे। यी सबै गम्भिर पीडाबाट मुक्ति पाउन बिस्तारै रक्सीको लतमा नराम्ररी फस्दै गए।
‘म रक्सीको लतमा यति विघ्न डुबेको थिएँ कि नपिउँदा हात काँप्थ्यो,’ आफ्ना ती दिनहरु सम्झिदै हरिले भने। पछि लामो समयको औषधि सेवन र पुनर्स्थापना उपचारपछि उनी विस्तारै निको भए। विस्तारै उनले आफ्नो अपाङ्गतालाई अवसरको रूपमा परिणत गरे। उनले रक्सी छोड्ने निर्णय गरे र बाँच्ने अठोट गरे। प्रवल इच्छाशक्ति र आशावादी सोचले जीवनका सुन्दर पक्षहरु देख्न थाले।
बेलायतमा पाएको उत्कृष्ट चिकित्सा उपचारको लागि सधैं आभारी छन् उनी। बेलायती सेनाको एक सदस्यको नाताले बेलायत सरकारले उनको थप उपचार र हेरचाहमा कुनै कसुर बाँकी राखेन।
शारिरिक रुपमा अपाङ्ग भए पनि अहिले उनलाई पछुताे छैन। ‘म आफ्नो उपलब्धिप्रति गर्व गर्छु। संसारको सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट लडाकु गोर्खा रेजिमेन्टमा सेवा गर्ने अवसर पाएँ, जसको लागि म सधैं कृतज्ञ छु,’ उनले भने।
अन्तत: उनी सन् २०१४ मा कर्पोरलका रूपमा सेनाबाट मेडिकल डिस्चार्ज भए।
जनयुद्धकाे धुवाँभित्र बाल्यकाल
‘मेरा आमा–बुबाकाअनुसार बर्खाको मौसम थियो रे, रोल्पा जिल्ला, जलजलाको काखमा रहेको थापाखोरे गोठमा मेरो जन्म भएकाे हाे,’ उनी आफ्नो जन्मबारे यसरी बताउँछन्।
हरिले कक्षा ५ सम्म मिरुलको टुटुमा अध्ययन गरेका थिए। स्कुल जाँदा दैनिक ४५ मिनेटको ओरालो पैदल यात्रा गर्थे र घर फर्कन डेढ घण्टा उकालो चढ्थे। उनले पनि अरु नेपाली बालबालिकाले जसरी घाँस-दाउरा गरेर बाल्यकाल बिताए। फुर्दिला हरिले फुर्सदको समयमा आमा–बाबुलाई घरायसी काम गर्न सहयाे गर्थे।
उनले आफ्ना स्कुले दिनहरु सम्झिँदै बताउँछन्,‘त्यतिबेला हामीसँग कपी र पेन्सिल थिएन। खरी ढुङ्गाले काठको फल्याकमा लेख्न सिक्यौँ।’ मध्यपश्चिम नेपालको पहाडबाट माओवादी विद्रोहको सुरुवात हुँदा उनले भर्खर विद्यालय पढ्दै थिए। उनी औसतखालका विद्यार्थी थिए।
त्यसबेला राजनीतिक आन्दोलन र नाराहरू गाउँघरतिर सामन्य जस्तै थिए र निरंकुश राज्यसत्ताविरुद्ध घरको भित्ता, पर्खाल र ढुङ्गातिर जतातै माओवादीका नाराहरु कोरिएका हुन्थे। रोल्पा र रुकुमका उत्तरपूर्वी गाउँमा माओवादीद्वारा क्रान्तिको थालनी हुँदै थियो। उनीजस्ता कैयौं केटाकेटीहरू माओवादीको राजनीतिक अभियानमा आकर्षित भएका थिए। उनका समकालीन दौतारीहरु सानै उमेरमा माओवादी आन्दाेलनमा सामेल भएकाे उनी सुनाउँछन्।
उतिबेला गाउँघरतिर माओवादीको डर थियो र प्रहरीको धम्की पनि उत्तिकै। राजनीतिक उथलपुथलकाबीच बालबालिकासहित गाउँका धेरै मानिसहरु जोखिममा परेको उनी सम्झना गर्छन। उनीहरु पनि माओवादी विद्रोही र राज्यका सेना-प्रहरीको बीचमा भएको द्वन्दको चपेटामा परे।
छोराको पढाइलाई लिएर उनका बुबा सधैं चिन्तित हुन्थे। टुटु गाउँमा प्राथमिक शिक्षापछि कक्षा ६ र ७ को पढाइको लागि उनलाई कोर्चाबाङमा पठाए। त्यसपछि माद्यमिक तहकाे पढाइ (कक्षा ८ र १०)को लागि उनका बुबाले गाउँबाट टाढा करिब २ दिनको हिँडाइमा पुगिने जिल्ला सदरमुकाम लिबाङ पठाए।
‘जब म सहरमा पुगेँ, मेरो जीवन अन्योलमा पर्यो। म सहरी जीवनशैलीमा अन्याैलमा परेँ, हराएँ,’ उनले लिबाङका सुरुका दिनहरू सुनाउँछन। दुर्गम गाउँका तुलनामा सहरको जीवनशैली, खानपान, संस्कृति र भाषा बिल्कुलै फरक लाग्यो उनलाई। प्रारम्भिक चरणमा सहरी जीवनमा घुलमिल हुन उनलाई निकै गाह्रो भयाे। जसका कारण उनका केही गाउँतिरका साथीहरु फेल भए भने कतिले बिचमै विद्यालय छाडे। गाउँका विद्यालयमा थोरै विद्यार्थी थिए भने सहरको विद्यालयमा निकै भीडभाड उनी अन्योलमा परे। नयाँ परिवेशमा अभ्यस्त हुन केही समय लागेको उनी बताउँछन्। विद्यालय बिदामा घर जान पनि थुप्रै असुरक्षाको सामना गर्नु परेकाे उनी बताउँछन्।
उनकाे स्कुले जीवनको बेला नेपालमा बहुदलीय व्यवस्था आयो। त्यसलगत्तै माओवादीले पनि आफ्नो अभियान गाउँ–गाउँमा तिब्र पार्दै गए। ‘म गरीब परिवारबाट आएको हुँ। मेरो बुबा किसान हुनुहुन्थ्यो र मेरा अन्य दुई दाजु–भाइलाई पनि पढाउने जिम्मेवारी उहाँकै काँधमा थियो,’ उनले भने। सानै उमेरदेखि आफ्नो बुबा–आमाले गरेको संघर्ष देखेर उनी सधैं चिन्तित हुन्थे। आफ्नो सारा जीवन र कडा मेहनतको सबै कमाइ हरि र भाइहरुको शिक्षामा खर्च गरेका थिए उनको बाबाले।
उनले एसएलसीकाे परीक्षा दिएर घरबाट भागेर काठमाडौँ आएर इँटा कारखानामा काम गरेर पैसा कमाउन थाले। त्यतिबेला उनले करिब डेढ महिनासम्म इँटा बोकेका थिए। एसएलसी कम्पार्टमेन्ट दिएर उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययनकाे लागि दाङ झरे।
त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा थियो। त्यसैले उनलाई घर जना/आउन धेरै खतरा थियाे। त्यतिन्जेल उनको उमेरका धेरै युवा युवती माओवादी आन्दोलनमा सामेल भइसकेका थिए। ग्रामीण क्षेत्रमा प्रहरीले दमनका श्रृङ्खलाहरु व्यापक रुपमा बढाएकाे थियाे। असहज र कठिन परिस्थितिका बाबजुद हरि उज्वल भविष्य र भाग्यको खोजीमा तल्लिन थिए।
ब्रिटिश गोर्खा सेनामा भर्तीदेखि लाहुरे जीवनसम्म
पश्चिम नेपालका गाउँघर हुँदै देशैभरि फैलिएका माओवादी जनयुद्ध उत्कर्षमा थियो। क्याम्पस पढ्दा आफ्ना उमेरका पुरुष साथीहरु भारतीय र बेलायती गोर्खा सेनामा भर्ती लागेको सुनेका र देखेका थिए उनले। त्यसैले उनी पनि ब्रिटिश गोर्खा आर्मीमा भर्ती भएर आफ्नो भाग्य चम्काउन उत्सुक थिए।
त्यहीबेला रुकुमको दुर्गम डोमइ गाउँमा भर्ती छनौटको लागि गल्ला देखिन जानलाई साथी–भाइमाझ कुराकानी हुँदै थियो। तर, हरिका दुई जना साथीले उनलाई छाडेर छनोट केन्द्रतिर हानिए। त्यतिबेला उनकाे बेलायती लाउरे बन्ने अवसर तुहियो। उनी चिन्तित भए।
त्यसबेला माओवादीले विदेशी सैनिक भर्तीको ब्यापक विरोध गर्याे। माओवादीले युवा छनाैट गर्ने जिम्मेवारी पाएका व्यक्ति (गल्ला)लाई अपहरण गर्याे। त्यसपछि डोमइको छनोट रद्द भयो।
गल्लाले युवालाई पुन: छनोट गर्ने भयो। रोल्पाको मडिचौर केन्द्रमा छनौट केन्द्र राखेकोले गल्लासामु उभिएर आफ्नो भाग्य परीक्षण गर्ने पुन: अवसर पाए हरिले। उनले त्याे सुनौलो मौका गुमाउन चाहेनन्। हजारौँ युवाबाट छानिएका २३० जना सफल आवेदकहरुकाे सूचीमा हरि पनि परे। त्यसपछि उनीहरुलाई पोखरामा एक महिने परीक्षण दिइयाे। शारिरिक तन्दुरुस्ती, आइक्यु, शिक्षासँगै दिमागी नेतृत्व, टोली कार्य र सबै प्रकारका सिपहरू र अन्य परीक्षणमा भाग लिए। भाग्यले उनी सबै परीक्षा पास भई वि.सं. २०५५ सालमा लाहुरेमा छनोट भए।
यसरी उनी १९ वर्षको लोर्के उमेरमा ब्रिटिश गोर्खा सेनामा भर्ती भए। यो नै आफ्नाे जीवनको पहिलो टर्निङ प्वाइन्ट भएको उनी बताउँछन।
नेपालमा छनौटपछि बाँकी प्रशिक्षण बेलायतमा भयो। ‘बेलायतको मौसम प्रतिकुल थियो। वर्षभरि कुहिरो र करिब तीन महिना मात्रै घाम लाग्ने। बेलायतको मौसम अप्रत्याशित रहेछ,’ उनले बेलायतको आफ्नो प्रारम्भिक जीवनको स्मरण गर्दै सुनाए। सुरुमा उनलाई बेलायती जीवनसँग धुलमिल हुन पनि निकै गाह्रो भयो। देश, भाषा, संस्कृति, जीवनशैली, खाना र सबै कुरा फरक थिए।
सफलतापूर्वक नौ महिनाको कठोर सैन्य प्रशिक्षण पूरा गरेर हरि बेलायती गोर्खा सिपाही बने।
‘एक पटकमा एक कदम-सानो कुराबाट सुरु हुन्छ’
‘अनुशासन, साहस, इमानदारी, वफादारी, अरूको सम्मान र नि:स्वार्थ प्रतिबद्धता’ ब्रिटिश सेनाका मूल मान्यता हुन्, जुन उनले आफ्नो १५ वर्षको सैनिक सेवाबाट सिके। यो मूल मान्यता आफ्नो जीवनमा प्रमुख मार्गदर्शनको रुपमा अनुसरण गरे।
समय बित्दै जाँदा उनले सकारात्मक सोचका साथ स्वस्थ जीवन जिउन थाले र जीवनको वास्तविक अर्थ र सुन्दरताको आनन्द लिन थाले। कुनै पनि सामान्य व्यक्ति जस्तै दैनिक जीवनमा अनुकुलन गर्न थाले। आफ्नो इच्छाशक्ति, जोश र सकारात्मक सोचका साथ उनले नयाँ जीवन जिउन थाले र अगाडि बढे।
यसका साथै उनी विभिन्न परोपकारी कार्य, सामाजिक संस्कृति र साहसिक खेलकुद र अन्य गतिविधिमा संलग्न भए। ‘साहसिक गतिविधि र खेलकुद नै मेरो जीवनको रगत हो। यसले मेरो शरीर र दिमागलाई ताजा बनाउँछ र मेरो भित्री आत्मालाई सधैं नविनतम उर्जा प्रदान गर्छ,’ उनी भन्छन्।
अपाङ्गता भएका व्यक्तिहरूलाई उनको सन्देश छ,‘सपना देख्न नछोड्नुस र आफ्नो मनलाई पछ्याउनुहोस् र लक्ष्यमा ध्यान दिनुहोस्।’
उनले थपे,‘समस्या जतिसुकै ठुलो किन नहोस्, यसले समाधान गर्न मद्दत गर्छ।’
उनी आफ्नो बाँकी जीवन अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग र काम गरेर नेपालमै बिताउन चाहन्छन। ‘बेलायतमा भएकोले मैले विशेषाधिकार प्राप्त जीवन बाँचिरहेको छु,’ उनी भविष्यबारे भन्छन, ‘मेरो अबको लक्ष्य भनेको नेपालका विभिन्न असक्षमता भएका व्यक्तिहरूलाई वातावरण सिर्जना गरी आशा र खुसी दिने हो।’
आज पनि हरि सैनिक युद्धको सिद्धान्तमा दृढ विश्वास र पालना गर्छन्, ‘युद्धमा गति गुमाए युद्ध हारिन्छ।’ उनकाअनुसार जीवनमा निरन्तर अगाडि बढ्नुपर्छ। यदि गति रोकियो भने यसले मानसिक, शारिरिक र समयको सन्तुलन गुमाउँछ। ‘हामीले बलियो मानसिकता निर्माण गर्नुपर्छ। सानोबाट सुरु गर्नुहोस्, हरेक स-साना कुरा महत्त्वपूर्ण हुन्छ र ठुला चीजहरू सानो र सानो कदमबाट सुरु हुन्छ,’ प्रेरणा दिँदै उनी भन्छन्।
हरिको मन्त्र हो- एक पटकमा एक कदम, छोटो आराम र अगाडि बढ्नु। ‘एकपटक एक कदम चाल्नुहोस् र बिस्तारै हिड्नुहोस्, जस्तोसुकै अवस्था आए पनि हार नमान्नुहोस्, असम्भव केही छैन,’ उनी मुस्कानसहित उत्प्रेरित गर्छन्।
उनले आफ्नो व्यक्तिगत, पारिवारिक, व्यवसाय र साहसिक जीवनमा पनि यही नियम लागु गरेका छन। सबैभन्दा महत्वपूर्ण कुरा,‘सानो कुरा र एक पटकमा एक कदम,’ उनी आत्मविश्वासका साथ भन्छन्।
कति मानिसले उनको साहसिक कार्य देखेर ‘पागल’काे उपमा दिन्छ। ‘हो, म पागल छु तर म मूर्ख चाहिँ नबन्ने कोसिस गर्छु,’ उनले मुस्कुराउँदै जवाफ दिन्छन।
एक पूर्व वार भेट्रान अहिले एक व्यापारी र एक प्रेरक वक्ता पनि हुन्। र, जब–जब मौका र समय मिल्छ उनी साहसिक गतिबिधि गर्न यात्रा गर्न चुकाउँदैनन्।
भविष्यको लक्ष्य: मातृभूमिको सेवा गर्ने
उनले विस्तारै बेलायतबाट नेपालसम्म व्यापार व्यवसाय विस्तार गरिरहेका छन्। उनको भविष्यको लक्ष्य नेपालमा फरक क्षमता भएका (अपाङ्गता) व्यक्तिहरूलाई अर्थपूर्ण जीवन जिउन प्रोत्साहन गर्ने र अवसरहरू सिर्जना गर्ने हाे।
हरिले विशेष रूपमा फरक क्षमता भएका व्यक्तिहरूलाई उनीहरूको सपना पछ्याउन, जीवनमा आनन्द लिन र यसबाट उत्कृष्ट हुन प्रोत्साहित गरेका छन। ‘बाँकी जीवन आफैँ बाँच्न चाहन्छु र नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि जनचेतना, अभियान र प्रेरणाका लागि समर्पित गर्न चाहन्छु,’ उनले भविष्यको योजना सुनाए।
‘मैले ब्रिटिश गोर्खा सेनामा १५ वर्ष सेवा गरेँ। रोल्पाको दुर्गम गाउँमा जन्मे हुर्केको र मेरा सबै परिवार र आफन्तहरू नेपालमै बस्छन्,’ उनी थप्छन्।
नेपालमा समय समयमा अपाङ्गताको लागि अभियान, चेतना, लबिङ गर्दै मातृभूमि नेपालको सेवा गर्न चाहन्छन हरि। कुनै दिन नेपालका अपाङ्गता भएका व्यक्तिले पनि बेलायतमा जस्तै सुविधा पाउन भन्ने आशा राख्छन हरि।
गएको वसन्त ऋतुमा नेपाल भ्रमणमा रहेको बेला उनले सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरे र सगरमाथा क्षेत्रको आकाशमा स्काइडाइभ मारेका थिए। त्यो भ्रमणमा उनले पाराग्लाइडिङ गरे र पर्वत जिल्लाको कुस्मास्थित विश्वकै दोस्रो अग्लो बञ्जिजम्प गरे र घुँडा माथिको पहिलो एम्प्युटीको रूपमा उच्चतम स्विंगको रेकर्ड पनि राखेका थिए।
हरिले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूर पूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा शिखर (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले २०१७ मा मेरा चुचुरोमा आरोहण गरे र ६,००० मिटरभन्दा माथि गर्ने पहिलो डवल एम्पयुटीको रिकर्ड पनि राखे। गत जुन महिनामा उनले उत्तर अफ्रिकी मुलुक मोरक्कोस्थित सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४१६७ मिटर)का सफलता पूर्वक आरोहण गरे।
यो सँगै साहसिक खेल गतिविधिमा धेरै रेकर्डहरु राखिसकेका छन्। तर, उनले कहिल्यै कीर्तिमानको लागि साहसिक खेलहरुमा सहभागी नभएको बताउँछन्।
कृतिम (प्रोस्थेटिक) खुट्टाको साहराले सामन्य मान्छे जस्तो हिँड्डुल गर्छन। उनी साँच्चै नेपाल र विश्वभरका हजारौं फरक क्षमता भएका (अपाङ्ग) व्यक्तिहरूका लागि प्रेरणादायी, दृढ संकल्प र आदर्श पुरुष हुन्।
उनी श्रीमती, एक छोरी र दुई छोरासँग बेलायतको क्यान्टरबरीमा बस्छन्। मौका मिल्न साथ साहसिक गतिबिधिमा सामेल भइहाल्छन र मातृभूमि नेपाल ओहोर/दोहोर गरिरहन्छन्।
व्यवसायिक र सामाजिक कार्यमा सक्रिय रहँदै आएका ४३ वर्षे बुढा मगर प्रेरणादायी प्रवचन दिने र साहसिक खेलमा सहभागी भएर जीवन बिताइरहेका छन्।
हरि गोर्खा वेलफेयर ट्रष्टको राजदूतसमेत हुन्। सन् १९६९ मा स्थापित ट्रष्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायहरूलाई शिक्षा, स्वस्थ्य, खानेपानीलगायत महत्त्वपूर्ण क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आइरहेका छन्।
सगरमाथा चुम्ने सपना
हरिले विद्यालयको पाठ्यपुस्तकमा पहिलो पटक (सन् १९५३) सगरमाथा आरोहण गरेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गेबारे सुनेका थिए। उनको बालमस्तिष्कमा यसको गहिरो छाँप रह्यो, उनले पनि सगरमाथाकाे चुचुराे चुम्ने सपना देखे।
सन् २०१८ मा उनले सगरमाथा चढ्ने सपना पूरा गर्न चाहन्थे।
तर, वि.सं. २०७४ मा नेपाल सरकारले पर्वतारोहण नियमावली संशाेधन गरेर एकल आरोहण र शारिरिक अशक्त भएका व्यक्तिलाई हिमाल आरोहणमा प्रतिबन्धन लगायाे। पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्नुको साथै पर्वतारोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउन सरकारले नियमावली संशाेधन गरेकाे थियाे। यो नियम लागु गरेकोले हरिको सगरमाथा चढ्ने योजना तुहियो।
वि.सं. २०७५ असारमा सर्वोच्चले अपाङ्गता भएका व्यक्तिको पक्षमा आदेश दियाे। अब उनको सगरमाथा आरोहणको बाटो पनि खुल्यो। तथापि, सन् २०१९ मा विश्वभर फैलिएकाे काेराेना महामारीले उनकाे अभियानलाई केही वर्ष पर सार्याे।
सगरमाथाकाे चुचुराे चुम्ने उनकाे बाल्यकालकाे सपना अपाङ्गता भएका व्यक्तिहरुलाई प्रेरित गर्ने माध्यमसम्म बिस्तारित भएकाे छ। हरिले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे चुचुराे चुमेर संसारभरका अपाङ्गता भएका व्यक्तिलाई नयाँ ऊर्जा र सन्देश दिन चाहन्छन्।
शारिरिक अपंगता कुनै बोझ नभएको उनको तर्क छ। अशक्तता प्राकृतिक हो, यो कुनै पाप हाैइन, फरक क्षमताका मानिसले धेरै ठुला–ठुला काम गरेका छन। उनीहरु पनि समाजमा सम्मानजनक रुपमा भएर बाँच्न पाउनपर्छ भन्ने उनको धारणा छ।
हरिले यही वर्ष (सन् २०२३ स्प्रिङ एक्स्पिडिसन)मा सगरमाथाकाे आराेहण गर्दै छन्। उनकाे सगरमाथ आराेहण अभियानको नेतृत्व एक अनुभवी र विश्व प्रसिद्ध आरोही एचएसटी एड्भेन्चरका पूर्व ब्रिटिश गोरखा सैनिक कृष्ण थापाले गर्नेछ। टोलीमा बेलायत र अमेरिकाका दिग्गज आरोहीका साथै विश्वका अनुभवी शेर्पाहरू उनका आराेहण दलमा सहभागी हुनेछ।
‘अपाङ्गतासम्बन्धी चेतना जगाउन र अरुलाई आफ्नो सपना सफल बनाउन प्रेरित गर्न मैले आफ्नो जीवन समर्पित गर्नेछु,’ हरि प्रण गर्छन्। यस अभियानको लागि विश्वभरका नेपाली तथा विदेशीहरुको व्यक्तिगत तथा संघ संस्थाको उल्लेख्य सहयोग रहेको उनले बताए।
संवादको अन्त्य गर्दै हरि बाेल्छन्,‘जिन्दगीमा जे पनि हुन्छ, त्यो जारी रहन्छ। जीवन रोकिँदैन। बस, आफ्नो जीवन जिउनुहोस्। जीवन भनेको अनुकूलन हो, असम्भव केही छैन।’
उनै साहसिक, निडर र हँसिला हरिको सगरमाथा आरोहण सफल होस्, धेरै–धेरै शुभकामना !
थप जानकारीकाे लागि: www.haribudhamagar.com
– आर्काइभ