आफ्नै प्रस्तावक, समर्थकको मत पनि पाएनन् अर्यालले

प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको केन्द्रीय सदस्य अमृतकुमार अर्यालले आफ्नै प्रस्तावक र समर्थक मध्ये एकको मत पाउन सकेनन्। आज (शुक्रबार) भएको निर्वाचनमा उनले दुई मत मात्र प्राप्त गरेका छन्।

बिहीबार उम्मेदवारी दर्तामा अर्यालको प्रस्तावक सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ बसेका थिए। प्रस्तावक, समर्थक र आफ्नो मत गरी उनको कम्तिमा तीन मत आउनुपथ्र्यो तर उनले दुई मत मात्र प्राप्त गरे।

अर्याल पार्टी सभापति शेदबहादुर देउवा निकट मानिन्छन्। यो समूहले प्रदेशमा कांग्रेसबाट निर्वाचित २९ संसदमध्ये १० देखि १२ संसद आफ्नो समूहमा रहेको दावी गर्दै आएको थियो।

प्रदेशमा कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा १८ मतसहित निर्वाचित हुँदा शेखर कोइराला समूहका केदार कार्कीले ९ मत ल्याएका छन्। थापालाई देउवा समूहले समर्थन गरेपछि अर्याल एक्लिएका थिए।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियासिल रहेका अर्याल कांग्रेसको मोरङ जिल्ला सभापतिहुँदै हाल केन्द्रीय सदस्य छन्। उनी संविधानसभा सदस्यसमेत हुन्।

चुनावताका नै आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका अर्याललाई संसदीय दलको नेतामा आफ्नै समूहका संसदले मत दिएनन्।
 

प्रकाशित मिति: : 2022-12-30 14:33:00

प्रतिकृया दिनुहोस्