निर्वाचनको समीक्षा प्रतिवेदन बुझाउन एमाले मोरङको निर्देशन

नेकपा एमाले मोरङले निर्वाचनको समीक्षा गर्दै संगठन सुदृढिकरणमा लाग्न निर्देशन दिएको छ।

एमालेले आगामी माघ १५ गतेभित्र सबै तहको निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

बुधकार विराटनगरमा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्यान दिनुपर्ने विषयका सुझावसहित टोल, वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रको पूर्ण बैठकबाठ समीक्षा प्रतिवेदन बुझाउन निर्देशन गरेको छ।

बैठकले मोरङमा क्रियाशील रहेका सबै जनसंगठनको कार्ययोजना निर्माण गर्दै आगामी चैत्र मसान्तसम्ममा पालिका र जिल्ला तहमा सम्मेलन र अधिवेशन अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ। वैधानिक प्रक्रिया पूरा गर्न नसक्ने जनसंगठनहरूलाई सम्बन्धित जनसंगठनको केन्द्रसँग समन्वय गरी अवस्थाबारे अद्यावधिक गराउने निर्णय समेत गरेको छ।

पार्टी सदस्यता अनलाइन अद्यावधिक र नवीकरण फागुन मसान्तसम्म अनिवार्य गरिसक्नुपर्ने बैठकको निर्णय छ। मोरङको हकमा दुई वर्ष (२०७९ र २०८०) को अभियानको रूपमा अघि बढाउन समेत बैठकले निर्देशन गरेको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए।

पार्टीभित्रको कार्यविभाजनलाई पूनः व्यवस्थापन गर्न, विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्न, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विषयगत विभागहरू र कार्यालय व्यवस्थापनसहितको प्रस्ताव तयार गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी दिइएको पोखरेलले बताए।

गत मंसिर ४ मा मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर राजीनामा दिने, सार्वजनिक गैरअभिव्यक्ति, बागी, विद्रोहीका रूपमा आफूलाई गैरजिम्मेवार प्रदर्शन गर्ने तर आलोचना र आत्मालोचना नगर्नेको हकमा पार्टी सदस्यता निलम्बन गर्दै माथिल्लो कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ।

जिल्ला प्रतिनिधि परिषद्को बैठक फागुन मसान्तसम्म अनिवार्य गर्ने निर्णय गरेको एमाले मोरङले फागुन ७ गते विराटनगरमा हुने नेपाल राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गर्न आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरु विनोद ढकाल, जीवन घिमिरे, रामलाल साह, युवराज बास्कोटा, केन्द्रीय विभाग सदस्य गंगा डाँगी, मालती सुब्बा, ज्येष्ठ कम्युनिष्ट नेता लव प्रधान, पार्टी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-12-29 11:43:00

प्रतिकृया दिनुहोस्