कालीगण्डकीमा अस्थायी काठेपुलको भर

अन्नपूर्ण गाउँपालिका-२ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका-६  पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ। 

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग गर्न मिल्ने काठेपुल पनि स्थानीय एक युवाले व्यक्तिगत लगानीमा निर्माण गरेका छन्। 

सङ्घ, प्रदेश र स्थानीय सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय युवाकुमार तिलिजाले व्यक्तिगत रु एक लाख लगानी गरी काठेपुल निर्माण गरेको बताए।

स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ। बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकाले तातोपानी कुण्डमा उपचारका लागि जाने बिरामी र अरु पर्यटक नारच्याङको बाटो हुँदै एक घण्टा समय खर्चेर पाउद्वार तातोपानी कुण्डमा पुग्नुपर्ने बाध्यता छ।

पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिए।

‘यस कुण्डमा नियमित रुपमा स्नान गर्ने बिरामी र पर्यटकसमेत आउने गर्छन्, तर बाटो घुमाउरो हुँदा आवतजावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भए पनि अस्थायी साँघु बनाएका हौँ’, उनले भने।

पुल बनाउन काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ। वारपार गर्दा सुरक्षाका लागि पुलको दाँयाबाँया काठकै रेलिङ हालिएको छ।

यहाँका स्थानीयले हिउँद यामका लागि मात्रै अस्थायी काठको पुल बनाउने गर्दछन्। अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने बिरामी अवस्थाका वृद्धवृद्धा र पर्यटकलाई निकै सहजभएको छ। 

पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिए पनि अहिलेसम्म रकम नपाएको तिजिलाले बताए। कुण्डको व्यवस्थापनको जिम्मा लिनुभएका तिलिजाले पुल बनाएका हुन्। 

अस्थायी पुल निर्माणपछि ४५ मिनेटको दूरी पाँच मिनेटमै सीमित भएको कुण्डमा नियमित रुपमा स्नानगर्दै आएकी रामदेवीपुनले बताए। 

यतापूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि योजना छनोट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ। पुल नहुँदा पाउद्वार जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको स्थानीयवासीको गुनासो छ। 

प्रकाशित मिति: : 2022-12-26 15:59:00

प्रतिकृया दिनुहोस्