शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक

बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो। बिष्टको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ नवादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो। 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन्। प्रजा र विमला नातामा श्रीमान–श्रीमती हुन्। 
१ पुसमा  राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विमलालाई अभद्र व्यवहार गरेको झोंकमा उनका श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए। त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे।’

प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एकजनाले खुुट्टा र अर्काले टाउको तर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि शिक्षको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ। 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए। 

शिक्षक बिष्टको शव  २ पुस दिउँसाे १ बजे फेलापरेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। 

सो घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो। शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो।

 

प्रकाशित मिति: : 2022-12-22 16:09:00

प्रतिकृया दिनुहोस्