दमकमा गठबन्धनबाट बाहिरिने माओवादीको निर्णय

दमकमा नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। गएको स्थानीय तहको निर्वाचनमा दमकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा विच गठबन्धन भएको थियो।

आज दमकमा नेकपा माओवादी दमक नगर कमिटीको बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो। माओवादी दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेतले गठबन्धनकको औचित्य समाप्त भइसकेकाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताए। उनले त्यस विषयमा पत्रकार सम्मेलन गरेर थप प्रष्ट पार्ने उल्लेख गरे।

माओवादी बैठकमा राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जनताको जनजिविकाका सवालमा स्पष्ट रुपमा काम गर्न नसकेको भनेर आलोचना भएको थियो।

माओवादीका दमक नगर ईञ्चार्ज बेदु गौतमले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका मेयर थापाले जनताको जिवनस्तर उकास्ने गरि काम गर्न नसकेको बताएका थिए। बैठकमा उनले वडाका समेत अधिकार खुम्चयाउने गरि नगर प्रमुखले काम गर्न थालेको आरोप लगाएका थिए।

यस्तै बैठकले दमक अस्पतालको व्यवस्थापनमा यस अघि पार्टीले बुझाएको ज्ञापन पत्र समेत उल्लेखनीय काम हुन सकेपछी पुस ६ गते पुन ज्ञापन पत्र बुझाउने र त्यस सम्बन्धी पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।

बैठकले गठबन्धनबाट बाहिर बस्ने र अन्य राजनीतिक दल सँग साझा मुद्दामा समर्थन गर्ने जनाएको छ। बैठकमा नेकपा माओवादीका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी सहितका नेता समेत सहभागी थिए।

प्रकाशित मिति: : 2022-12-20 15:03:00

प्रतिकृया दिनुहोस्