त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ। छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो। 

गत शुक्रबार नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाको दोस्रो साधारणसभाको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको त्रिवेणी-दुम्किबास सडकको काम अघि बढ्न नसकिएको स्वीकार गरे। 

प्रदेश स्थापनासँगै गौरवको आयोजनाका रुपमा लिइएको त्रिवेणी-कोरला सडक अन्तर्गतको यो खण्डमा काम गर्न निकुञ्जका कारण समस्या भएको उनको भनाइ छ। युनेस्कोसँग समेत जोडिएको विषय भएकाले काम गर्न झन्झटिलो भएको उनको भनाइ छ। तर सचिवस्तरी निर्णय भएकाले काम छिट्टै सुरु हुनेमा उनले विश्वास व्यक्त गरे। 

प्रदेश सरकारको पहिलो पाँच वर्षको कार्यकाल सकिएको छ तर प्रदेश स्थापनासँगै चर्चामा रहेको त्रिवेणी–कोरला सडक अन्तर्गतको त्रिवेणी–दुम्किबास सडक निर्माणको काम भने सुरु हुन नसकेको हो। 

दुम्किबासको बगुवनदेखि त्रिवेणीसम्मको करिब १९ किलोमिटर खण्डमा सडक निर्माण हुन नसकेको हो। सडकखण्डमा करिब आठ किलोमिटर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ। 

विसं २०५९ अघि हुलाकी सडकका रुपमा सञ्चालनमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनतामार्ग नामाकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो। विसं २०६४ जेठसम्म यातायात सञ्चालनमा रहेको यस सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि बन्द भएको थियो। 

त्रिवेणी-दुम्किबास सडकखण्ड निर्माण गरी सञ्चालनका लागि पहल अघि बढिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको दाबी छ। 

सडक निर्माणका लागि विभिन्न स्तरमा पहल भएकाले काम अघि बढ्ने उहाँको भनाइ छ। ‘हामीले विभिन्न तहमा पहल गरेका छौँ, यो पालिकाको सडक मात्रै रहेन दुई देश जोडेने महत्वकाक्षी सडक पनि हो’ , अध्यक्ष गिरीले भने। 

त्रिवेणी-दुम्किबास-झ्यालबास-डेढगाँउ-भीमाद-खैरेनी हुँदै पोखर जोडिने यो सडक खण्ड अन्तर्गत नवलपुरको झ्यालबास–डेढगाउँ खण्डमा भने गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरी काम अघि बढाएको छ।

प्रकाशित मिति: : 2022-12-20 14:45:00

प्रतिकृया दिनुहोस्