तरकारी व्यापारले फेरिएको जीवनस्तर

केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पुर्‍याउन भ्याननभ्याइ छ। सामान्य लेखपढ गर्नसमेत नजानेकी सुर्तीदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पुर्‍याउने भन्ने हतारो हुन्छ। 

दुई वर्षअघिसम्म रकमको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाएकी छिन्। आयआर्जनको गतिलो आधारसँगै उनको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ।

आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनले भनिन्,‘पहिले ज्याला मजदूरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो।’  

हरवाचरवाको रुपमा काम गर्दा मात्र तीन किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो। उनले भने,‘तर अब मेरो त्यो दुःखको दिन हट्यो।’ अहिले तरकारी व्यापार गरेरै पाँच जनाको उहाँको परिवार चलेको छ। दुई वर्षदेखि तरकारीको व्यवसाय सुरु गरेकी उनले परिवारको गुजारा चलाउनु मात्रै होइन्, छोराछोरीलाई नजिकै विद्यालयमा पढाउँदै आएकी छन्। त्यति मात्रै होइन्, त्यही तरकारी व्यापारबाट १० धुर जग्गासमेत जोडेकी छिन्। 

सधैँ घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी स्थानीय वसन्तीदेवी सदालाई पनि यतिबेला मौसम अनुसारको हरियो तरकारी खरिदबिक्री गर्न भ्याइनभ्याइ छ। श्रीमान्को मृत्युछि आर्थिक रुपमा कष्टपूर्णजीवन विताइरहनुभएका वसन्तीदेवीको तरकारी व्यापारबाट राम्रो आम्दानी हुन थालेसँगै जीवनयापन सहज बनेको छ। 

‘पतिको मृत्युपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता थियो’ , वसन्तीदेवीले भने,‘तर विगत दुई वर्षदेखि तरकारी व्यापार सुरु गरेपछि अहिले त्यो चिन्ता हटेको छ, राम्रो आम्दानी हुन थालेपछि आफ्नो दुःखको दिन टरेको महसुस भइरहेको छ।’

समान्य घरायसी गर्जाे टार्न समेत साहु महाजनसँग ऋण माग्न बाध्य सोही ठाउँकी कुशेश्वरी सदाको त्यो समस्या टरेको छ। सुर्तिदेवी र वसन्तीदेवी जस्तै कुशेश्वरी सदा पनि तरकारीको व्यापार थालेपछि परिवारको गर्जाे टार्न साहुमहाजनसँग ऋण काट्नुपर्ने बाध्यता हटेको बताउँछन्। 

अशिक्षा र अज्ञानताका कारण आर्थिक विपन्ता झेल्दै आएका सो दलित बस्तीका महिलाको जीवनमा उनीहरुकै अग्रसरताबाट गठन भएको समूहबाट आएको हो। ‘ सुरुमा म धेरै लजाउँथे, के गरैँनगरौँ भन्ने थाहै थिएन्, सधैँ मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थे’, कुशेश्वरीले भनिन्, ‘तर, जब गाउँमा हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला समूह बनाएर बचत तथा ऋण गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो।’

‘द’ फ्रिड्म फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित हरवारचवा सशक्तीकरण कार्यक्रम अन्तर्गत गठित महादेव हरवाचरवा बचत तथा ऋण समूहमा आवद्ध भएकी कुशेश्वरीले पाँच हजार अनुदान सहयोगमा दुईबर्ष अघिबाट तरकारी व्यापार सुरु गरेकी हुन्। उनीहरु राजविराज, सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट सस्तोमा तरकारी खरिद गरी स्थानीय पातो, तरही, मधुवनी , ब्रहमपुरलगायतको बजारमा तरकारी व्यापार गर्दै आएकी छिन्। 

‘अहिले त्यही व्यापारबाट दैनिक तीन सय  देखि एक हजारसम्म नाफा भइरहेको छ’, कुशेश्वरीदेवीले भनिन्,‘तरकारी व्यापारबाट हुने कमाइले परिवारको गुजारा चलाउनेदेखि मासिक बचतसमेत गर्दै आएकी छु।’  व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उनको भनाइ छ। 

‘सुरु सुरूमा तरकारी व्यापार गर्न लाज लाग्दै थियो’, वसन्तीदेवीले भने,‘तर केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत साना व्यापारसम्बन्धी प्रशिक्षण लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि तरकारी किनबेचलाई निरन्तरता दिँदै आएकी छु।’ 

अहिले पति बैधनाथहित परिवाकारका सदस्यबाटसमेत व्यापारमा राम्रो साथ पाइरहेको उनले सुनाए। 

तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन् गरिबी जीवनबाटसमेत छुटकारा पाएको अनुभव हुँदै गएको सुर्तिदेवीको भनाइ छ। दलित बस्तीका महिलाको कामबाट आफुहरु उत्साहित भएको सुनाउँदै श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाले भने,‘मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन् भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट) हो रहेछ, त्यो मैले महसुस गरेँ।’  

महादेव हरवाचरवा  ऋण तथा बचत समहूमा दलित हरवाचरवा परिवारका ४३  जना आवद्ध रहेको समूहका अध्यक्ष कैलु सदाले बताए। समूहमा आवद्ध महिला तथा पुरुष आफ्नो कमाइबाट भएको आम्दानीमध्ये मासिक रु ५० का दरले बचत गर्छन्। आर्थिक समस्यामा परेका सदस्यलाई बैठकबाट ऋण दिने  र लगानी गर्ने गरेको उनको भनाइ छ। गत २०७८ सालमा गठन भएको सो बचत तथा ऋण समूहमा हाल रु १६ हजार बचत भएको र त्यसमध्ये रु १४ हजार समूहमा लगानी रहेको सचिव चन्द्रकान्त सदाले बताए। निकट भविष्यमै सहकारीमा दर्ता गराउने तयारी गरेको छ।

प्रकाशित मिति: : 2022-12-20 13:51:00

प्रतिकृया दिनुहोस्