राज्यले दिएको सेवासुविधा नपाएको भन्दै प्रशासन पुगे ज्येष्ठ नागरिक

File photo
File photo

खोटाङका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकका हैसियतमा सरकारी तथा गैरसरकारी कार्यालयबाट पाउनुपर्ने सेवासुविधा नपाएको गुनासो गरेका छन्।

सोमबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई समक्ष डेलीगेसन गएका ज्येष्ठ नागरिकले यातायात, अस्पताल, बैंक, विद्युत् लगायतका सरकारी तथा गैरसरकारी कार्यालयबाट राज्यले तोकेको सेवासुविधा सहज रुपमा पाउने अवस्था नभएको गुनासो राखेका छन्।

जिल्लामा सञ्चालनमा रहेका यातायात प्रालिले भाडामा छुट दिन कञ्जुस गर्नेगरेको, ज्येष्ठ नागरिक सिटको व्यवस्थालाई कार्यान्वयन नगरेको, सेवा लिनका लागि कर्मचारीसँग बाझ्नु परेको गुनासो गरेका छन्। यस्तै, हवाईयात्राका क्रममा पनि ज्येष्ठ नागरिकका हैसियतमा पाउनुपर्ने छुट नपाएको ज्येष्ठ नागरिकले बताएका छन्। 

ज्येष्ठ नागरिक संघको नेतृत्वमा प्रशासन पुगेको टोलीले जिल्ला अस्पताल, बैंक, विद्युत लगायतका कार्यालयमा सेवा लिन जाँदा घण्टौं लाइनमा उभिनुपर्ने समस्या हल गर्नका लागि प्रमुख जिल्ला अधिकारी सेडाईको ध्यानाकर्षण गराएका छन्। लाइनमा घण्टौं उभिँदा कतिपय ज्येष्ठ नागरिक ढल्ने गरेको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। 

लठ्ठी टेक्दै प्रशासन पुगेका वृद्धवृद्धाले सेवा लिन कार्यालयमा पुगेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिन, लाइनमा नउभिइ सेवा लिने वातावरण निर्माणका लागि आग्रह गरेका छन्। कतिपय अवस्थामा स्वास्थ्य बिमाबापत निःशुल्क पाउने औषधिसमेत खरिद गर्नुपरेको ज्येष्ठ नागरिकको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी सुडाईले ज्येष्ठ नागरिकले पाउने सेवा सुविधा सहज र छिटो उपलव्ध गराउने वातावरण निर्माणका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्। १० स्थानीय तह रहेको जिल्लामा करिब २४ हजार ज्येष्ठ नागरिक छन्। 

प्रकाशित मिति: : 2022-12-19 15:36:00

प्रतिकृया दिनुहोस्