अमेरिकामा पर्यटक भिसामा आउँदै कार्यक्रममा सहभागी भएर गैरकानुनी कमाइ गर्ने नेपाली कलाकारहरूको धन्दामा धक्का लागेको छ ।
लामो समयदेखि चलिरहेको यो श्रृङ्खला गायिका आस्था राउतलाई अमेरिकी अध्यागमन कार्यालयले डुलेस विमानस्थलबाटै फिर्ता पठाइदिए पछि पछिल्लो परिस्थिति सिर्जना भएको हो ।
अमेरिकामा पर्यटन भिसामा आएको मानिसले कमाइ गर्न पाइदैन । तर, नेपाली कलाकारहरू यहाँ आएर त्यस प्रावधानको खुलेआम उलङ्घन गर्दै आएका थिए ।
त्यो क्रमको कुनै बेला क्रमभङ्ग हुनुपर्ने थियो, त्यो आस्था राउतमा आएर भङ्ग भएको हो ।
आस्था सहभागी हुने भनेर पेन्सेल्भेनियाको लान्कास्टरमा आयोजना गरिने कार्यक्रमको पोस्टरमै ठूला डूला अक्षरमा 'टिकट ३० $ मात्र' लेखिएको थियो । यसैको आधारमा यो कार्यक्रम पैसा लिएर गरिएको प्रमाणित भयो ।
अरू उम्के, फसिन् आस्था !
नेपाली कलाकार र नेपालकै छविमाथि कालो धब्बा !नेपाली कलाकारहरू पर्यटक भिसामा अमेरिका आएर कार्यक्रममार्फत् कमाइ गर्दै आएका थिए। अमेरिकामा पर्यटक भिसामा आएर यसो गर्न पाइदैन। अमेरिकी निगरानीमा परिरहेको यो धन्दामा ढिलोचाँडो ब्रेक लाग्ने नै थियो।
गायिका आस्था राउतलाई अमेरिकी विमानस्थलबाटै नेपाल फर्काइदिएर ऐठन नै लगाइदियो । ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो । यसले नेपाली कलाकार र नेपालकै छविमा आँच आएको छ । यसरी पनि सोच्ने कि ?
अध्यागमन कार्यालयमा सोधपुछका क्रममा आस्थाले यसअघि पर्यटन भिसामा आएर कार्यक्रम गरेको जवाफ दिएकी थिइन् र उनले कार्यक्रम गरेबापत पैसा लिएको पनि स्विकारेको बताइएको छ ।
यही सत्य वचनले उनी फन्दामा परिन् र नेपाल फर्किनु पर्यो ।
आस्था प्रकरण सँगै अब अमेरिकामा नेपाली कलाकार पर्यटक भिसामा आएर कार्यक्रम गर्ने श्रृङ्खलामा ब्रेक लाग्ने भएको छ ।
अमेरिकामा सांस्कृतिक कार्यक्रममा आउनेले पी ३ भिसा लिनुपर्छ । यो केही महंगो र झन्झटिलो पनि भएकाले आयोजक र कलाकारहरू यो प्रक्रियामा जान चाहदैनन् । सजिलोको लागि कलाकारले पर्यटक भिसा आवेदन गर्छन् भने आयोजकले जुन कलाकारको भिसा छ, उसैलाई बोलाएर कार्यक्रम गर्छन् ।