शिवम् सिमेन्टको ठगी धन्दा: सर्वसाधारणलाई सेयर बेच्दा २५ करोड कर छली

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत एक मात्र सिमेन्ट उद्योग शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्री गर्दा करोडौं रुपैयाँ कर छलि भएको पाइएको छ।

शिवम् सिमेन्ट २०७५ फागुनमा ४९ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई बिक्री गर्दा २४ करोड ८९ लाख २ हजार रुपैयाँ कर नतिरेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएर कर छली भएको दाबी गरेको हो।

शिवम् सिमेन्टले प्रतिकित्ता २ सय रुपैयाँ प्रिमियम लिएर सर्वसाधारणलाई प्रतिकित्ता ३ सय रुपैयाँमा सेयर बिक्री गरेको थियो। त्यति मात्रै होइन आयोजना प्रभावित स्थानीयलाई समेत शिवमले प्रिमियम मूल्यमा सेयर बेच्दा कर छली भएको आशंका गरिएको छ।

नेपाल धितोपत्र बोर्डकाअनुसार शिवम्ले ४ वर्षअघि सेयर बेचेर ९९ करोड ५९ लाख २८ हजार रुपैयाँ आय गरेको थियो। यो आम्दानी अकिंत मूल्य बाहेकको हो।

महालेखाले अंकित मूल्यभन्दा बढी मूल्यमा सेयर बेच्दा बढी प्राप्त गरेको मूल्यमा २५ प्रतिशत आयकर सुरू तिर्नुपर्ने उल्लेख गरेको छ। आयकर ऐन २०५८ मा कूल नाफामा सुर्ती तथा अल्कोहलजन्य उत्पादन र वित्तीय क्षेत्रको नाफामा ३० प्रतिशत र अन्य क्षेत्रमा भए २५ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ।

महालेखाका अनुसार शिवम्ले सेयर बिक्री गरी प्राप्त गरेको अंकित मूल्यभन्दा बढीको करिब १ अर्ब रुपैयाँमा करीव २५ करोड रुपैयाँ आयकर तिर्नुपर्छ। अझ स्थानीयलाई बेचेको सेयरमासमेत थप कर लाग्छ। तर, शिवम्ले सेयर बिक्री गर्दा प्राप्त भएको रकमलाई कम्पनीको आम्दानीमा नदेखाइ सिधै सञ्चित कोषमा राखेको र आयकर नतिरि लगानीकर्तालाई सिधै लाभांस बाँडेको विषयमा प्रश्न उठेको छ।

सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीको आम्दानी नदेखाइएकाले सिधै कर छली भएको र खाली लाभांश बाँड्दा ५ प्रतिशत मात्रै कर प्राप्त भएको विषय महालेखाले खुलाएको छ। त्यसो त यसअघि पनि प्रिमियम मूल्यमा सेयर बिक्री गर्दा आयकरअनुसार कर तिर्नुपर्ने विषय सतहमा उठेको थियो। तर, राजनीतिक पहुँच, कर्मचारीहरुको मिलोमतोजस्ता कारणले विषय प्रवेश नपाएको आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दिएको छ।

शिवम् व्यवस्थापनले सेयर बिक्रीबाट प्राप्त भएको रकममा थप कर निर्धारण नहुने भन्दै विभिन्न कालखण्डका अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र ठुला करदाता कार्यालयलाई प्रभाव राख्दै आएको बताइएको छ।

आन्तरिक राजस्व विभागका एक पूर्व महानिर्देशकले शिवम्का संस्थापकमध्ये मूल नेतृत्वको धेरै हिस्सा सेयर बिक्री गर्नुअघि सेयर बिक्रीमा लाग्ने कर तिर्ने विषय सतहमा नआओस भन्ने चाहेको र त्यसैअनुसार सरकारका विभिन्न निकायमा लबिङ गरिरहेको बताए।

राजस्वसँग सम्बन्धी निकाय प्रिमियम सेयर बिक्री गर्दा प्राप्त आयमा कर तिनुपर्ने विषयमा जानकार रहेपनि शक्ति केन्द्रहरुको चलखेलले प्रक्रिया अघि बढाउन नसकिएको ति पूर्व महानिर्देशकको भनाइ छ।

आयकरअनुसार ५ प्रतिशत लाभांस कर लाग्छ। धेरै जसो कम्पनीहरुले लाभांस कर लगानीकर्तालाई नतिराई सुरुमै कम्पनीले तिर्ने गर्दछ। त्यसैले कम्पनीहरुले लाभांस घोषणा गर्दा नै करवापत रकम छुट्ट्याएका हुन्छन्। कम्पनीहरुले लाभांसमा कर नछुट्याएका बेला लगानीकर्ताबाट असुलउपर गरिँदै आएको छ।

प्रकाशित मिति: : 2022-12-14 18:07:00

प्रतिकृया दिनुहोस्