रवि लामिछानेको नागरिकता विवादमा एनआरएन किन मौन?

File Photo
File Photo

केही समय अगाडि बेल्जियमका २५ वर्षीय  रेमन थापा (परिवर्तित नाम) आफ्ना बुवा-आमासंग नेपाल गए। नेपाल पुगेपछि उनी बुवासंग नेपालको नागरिकता बनाउन सम्बन्धित निकायमा पुगेर नागरिकता पनि बनाए। रेमनले वंशजको आधारमा नागरिकता पनि लिए।

जब उनका बुबाले रेमनको नाममा केही  जग्गा नामसारी गरिदिन प्रक्रिया थाले, तब उनीहरूले लफडामा परे। उनकै आफन्त कसैले उनीहरू नेपाली नागरिक नभएको हुँदा जग्गा कारोबारमा छानबिन गर्न सम्बन्धित निकायमा उजुरी दियो। उजुरीअनुरूप उनीहरू दुवै कानुनी अल्झनमा परे। राजनैतिक पहुँचका आधारमा उनीहरूको केस ठुलो हुन पाएन। सामान्य रूपमा सुल्झाए। रेमनको नागरिकता खोसियो।

रेमन जस्तै पोर्चुगलको नागरिक बनेका एलसन् मगर (परिवर्तित नाम) को पनि उस्तै घटना घट्यो। मगरको आफ्नै भाइले दाइको नाममा रहेको जग्गा आफ्नो नाममा गरी पाउँ भनेर प्रशासनमा निवेदन दिए। दाइ विदेशी नागरिक भइसकेको हुँदा आफू त्यो हकदाबी गर्न मिल्ने भन्दै निवेदन दिए। प्रक्रियामा गएको निवेदनलाई पोर्चुगलमा रहेका दाइले आफ्नो विभिन्न क्षेत्रमा रहेको पहुँचलाई प्रयोग गर्दै केस साम्य पारे।

बेल्जियमको र पोर्चुगलको घटना केवल एउटा उदारहण मात्रै हुन्। यस्तै घटना घट्ने र मिलाउने काम हुँदै आइरहेको छ।

पछिल्लो समय रवि लामिछानेको नागरिकता विवादपछि विदेशमा रहेका नेपालीहरुले नागरिकताको पक्षमा सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका पनि छन्। तर यसबारेमा नागरिकताको मुद्धा उठाउँदै आएको गैरआवासीय नेपाली संघ एनआरएनए भने पूर्णत मौन देखिन्छ।

'एक पटकको नेपाली सधैंको नेपाली' नारालाई सार्थकता दिन वर्षौँदेखि लागिपरेको एनआरएनए रविको नागरिकता विवादमा कानमा तेल हालेर बसे सरहजस्तै बनेको छ। एनआरएनमा रहनेहरुले विदेशी नागरिकतासँगै नेपाली नागरिकता पनि राखेको र सोही नेपाली नागरिकतालाई प्रयोगमा ल्याएको हुँदा फस्ने डरले पनि आवाज बुलन्द पार्न नसकेको एनआरएनका जानकारहरूको दाबी रहेको छ।

विभिन्न कारणले युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरुको नागरिकता लिइसकेका नेपालीहरुमध्ये अहिले पनि अधिकांशले नेपाली नागरिकता नै प्रयोगमा ल्याएका छन्। कमैले मात्र एनआरए कार्ड प्रचलनमा ल्याएको पाइन्छ।

जर्मनी निवासी सूर्या तिवारी व्यङ्ग गर्दै लेख्छन्, 'एनआरएनको आवश्यकता भनेको चन्दा दिन, उपहार दिन विदेशका गल्ली-गल्ली घुमाउन ऋणसापटीका लागि मात्र खोजिन्छ।'

यसबारेमा बेल्जियमका तीर्थ धमला आफ्नो विचार पोख्दै भन्छन्, 'लाखौं गैरआवासीय नेपालीहरुले अहिले पनि नेपाली नागरिकताको उपयोग गरिरहेका छन्। रवि लामिछानेको केस जस्ता त कति छन् कति। नेपाल सरकारको अस्पष्ट र अवैज्ञानिक कार्यनीतिका कारण यो समस्या देखिएको हो। एनआरएनए आइसिसिले एउटा ठोस धारणा बाहिर ल्याउन सक्नुपर्दछ।'

त्यस्तै गरेर स्पेन निवासी  नेपाली पत्रकार भोला लामिछानेले 'एक पटकको नेपाली सधैँको नेपाली' नारा मात्रै हो कि के हो स्पस्ट पार्नु पर्यो होइन भने 'एक पटक विदेशी सधैँको विदेशी' भन्नुपर्यो भनेर एनआरएनहरुलाई प्रश्न गरेका छन्।

'राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकाको पासपोर्ट उतै फर्काइदिएपछि नेपाली होइन भन्नसम्म भ्याइसके भने पासपोर्ट लिएर बसेका एनआरएनहरू वर्षैपिच्छे सभा, सम्मेलन गर्दै के को दोहोरो नागरिकताको कुरा गरेर खाली देउवा, ओली, प्रचण्डहरूको दिमाख खाने। नेपालको अन्धो कानुन परिवर्तन गर्नु परेन। यति गर्नु नसके पनि स्वतन्त्र पार्टीको एजेन्डालाई साथ दिएर पहिला भोट दिनलाई कानुन बनाउन सहयोग गरौँ। अरू विस्तारै आउला', पत्रकार लामिछानेले लेखेका छन्।

विगतमा एनआरएनको विभिन्न पदमा रहेर काम गरेका एनआर अभियानकर्ता पुष्प थापाले 'प्रवासमा रहेका नेपालीहरुले नेपालका नेताहरूबाट के आशा गरेर भजनमण्डली गरिरहेका छौँ?' भन्दै प्रश्न गरेका छन्।

'आफैँले बुझ्नै नसकेको कुरा नि!! हामीले पुज्ने र मान्ने नेताहरुले न त नेपालको विकास नै गर्छन्, न त गैरआवासीय नेपालीहरुलाई जन्मसिद्ध नैसर्गिक अधिकारसितको दोहोरो नागरिकता नै दिन्छन्। तर पनि हामी नेताहरुको जयजयकारको भजनमण्डली त गाउँदै छौँ त किन होला?' थापा लेख्छन्, 'कति दासत्वको इमानदारिता हो गैरआवासीय नेपालीहरुमा, तर पनि नेताहरुले नैतिकवान भएर गैरआवासीय नेपालीहरुलाई विश्वास र भरोसा राख्न सक्नुपर्ने हो नि।'

रवि लामिछानेको नागरिकता विवाद एनआरएनएले लामो समयदेखि उठाउँदै आएको मागसँग दुरुस्त मिल्छ। तर, विभन्न राजनैतिक तथा कानुनी मतभेदका कारण अहिले एनआरएनए यो विषयमा मौनता साँधिरहेको छ, जुन आफैँमा दु:खद हो।

प्रकाशित मिति: : 2022-12-11 06:00:00

प्रतिकृया दिनुहोस्