अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ।
यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो। क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन्।
यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए। पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ।
उनले यस वर्ष झन्डै चार सय मन अलैँची जम्मा गरेका छन्। जसमध्ये आधा जसो रु २९ हजारका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए।
यता किसानले समेत मूल्य पर्खिएर बसेका छन्। आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन्। मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजङ्घा–७ खेवाङका किसान राजकुमार भट्टराईले बताए।
अलैँचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन्।
गत वर्ष प्रतिमन रु ४८ हजारका दरले समेत कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन्।