रमिते परिवार: घरकै गेटमा जल्दै गरेकी पुष्पालाई बचाउने चेष्टासम्म गरेनन्

गत आइतबार साँझ करिब सात बजेकाे समयमा अपत्यारिलाे घटना घट्याे। धुम्बराहीकाे १४७ नम्बर घरकाे गेट अगाडि एक युवती जलिरहेकी थिइन्। ती घरका सबै सदस्य घरभित्रै थिए। युवतीकाे शरीर जलेर भुइँमा लडिसकेकाे थियाे तर घरका कसैले पनि उनलाई बचाउने प्रयास गरेनन्। बरू उल्टै युवतीकाे परिवारलाई फाेन गरेर ‘तपाईंकी छाेरी जस्तै देखिने केटीले आफूलाई जलाइरहेकी छिन्, छिटाे आएर लिएर जानुस्’ भन्दै बाेलाए।

उताबाट युवतीकाे काकाले ‘जल्ने युवती जाेसुकै भएपनि बरू छिटाे अस्पताल पठाइदिनुस् या प्रहरी बाेलाइदिनुस् त’ भने। तर घरका सदस्यहरू भने युवती जलिरहेकाे टुलुटुलु हेरेर मात्र बसे। वरपरका छिमेकीले भने युवती जलिरहेकाे देखेर हतारहतार गर्दै प्रहरीलाई फाेन गरे। प्रहरी पनि खबर पाउनसाथ घटनास्थलमा पुग्याे। तर, युवतीको शरीरको ७० प्रतिशत भाग जलिसकेको थियो।

प्रहरीले युवतीलाई तत्कालै शिक्षण अस्पताल महाराजगञ्ज पुर्यायाे तर त्यहाँ उनकाे उपचार हुन सकेन। शिक्षण अस्पतालले युवतीलाई कीर्तिपुरकाे बर्न अस्पताल रिफर गर्याे। तर, बिडम्बना साेमबार बिहान साढे ९ बजे अस्पताल उनलाई मृत घाेषणा गर्याे।

ती युवती मृत्युपश्चात उनकाे तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। उनले यस्ताे किन गरेकाे हाेला भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले ‘श्रद्धाञ्जली’ व्यक्त गरिरहेका छन्।

काे हुन् ती युवती?

जल्ने ती युवती व्यावसायिक पारिवारिक पृष्ठभूमि रहेकी नुवाकाेट पुर्खाैली घर भएकी २७ वर्षीय पुष्पा न्याैपाने हुन्। उनी काठमाडाैँकाे दरबारमार्गस्थित केल्मी नामकाे साेमरूमकी सञ्चालकसमेत हुन्।

आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पालाई केल्मीका लगानीकर्ता उनका काका उत्तम न्यौपानेले उनैको नाममा केल्मी शोरुम दर्ता गरिदिएका थिए। सानै उमेरमा प्रगतितर्फ लम्किरहेका थिए, पुष्पाका पाइलाहरू। उनकाे विवाहकाे लागि टिकाटालाे (इन्गेजमेन्ट) समेत भइसकेकाे थियाे।

के भएकाे थियाे घटना?

करिब दश महिनाअघि ०७८ माघमा सुधन संग्राैला दरबारमार्गस्थित केल्मी शाेरूमा गएका थिए। पुष्पाका काका उत्तमसंगकै चिनजानकाे आधार सुधन केल्मीमा पुगेका थिए। त्यतिबेला सुधनकाे आँखा पुष्पातिर गइहाल्याे। पुष्पाले पनि सुधनलाई मुस्कानका साथ स्वागत गरिन्।

केही समयमै उनीहरू सामाजिक सञ्जाल फेसबुकमा साथी बनिहाले। त्यसपछि उनीहरूबीच विस्तारै कुराकानी चल्न थाल्याे। भेटघाट पनि बाक्लिन थाल्याे। दुवै जनाले एकअर्काकाे प्रेमलाई स्वीकारे। पुष्पा र सुधनकाे प्रेम सम्बन्धलाई लिएर दुवैकाे परिवार राजीखुसी नै थिए। सबै कुरा राम्रै थियाे। सबै खुसी नै थिए। कुरा विवाहसम्म पुग्याे। त्यसपछि उनीहरूले भदौ १८ गते ‘इन्गेजमेन्ट’ गरे।

सुधन पनि व्यावसायिक पृष्ठभूमिकै हुन्। झापा पुर्ख्यौली घर भएका संग्राैला परिवारकाे न्युरोडस्थित रञ्जना गल्लीमा बच्चाका कपडा तथा खेलाैनाकाे हाेलसेल पसल छ। सुधन करिब ६ वर्ष चीनमा बसेर फर्केका थिए। ‘इन्गेजमेन्ट’ पश्रचात सुधनकाे परिवारले पुष्पालाई छाेरी भन्थे। पुष्पा र सुधन एकअर्काकाे घरमा आउजाउ गरिरहन्थे।

तर, विस्तारै उनीहरूबीच खट्पट् सुरू हुन थाल्याे। कारण थियाे- सुधनले ‘इन्गेजमेन्ट’ काे फाेटाे सार्वजनिक गर्न नमान्नु। ‘इन्गेजमेन्ट’ लगत्तै पुष्पाले दुवै जनाको फाेटाे सार्वजनिक गर्न खोज्दा सुधनले अहिले त्यसो नगरौँ भने। पुष्पाले सुधनकाे कुरा सहर्ष स्वीकार गरिन्। त्यसपछि पुष्पाले पुन: सुधनलाई सँगै घुम्न जाने प्रस्ताव गरिन् तर उनले मानेनन्।

आफ्ना हरेक कुरालाई नकार्दै गएपछि भने पुष्पालाई सुधनप्रति शंका हुन थाल्याे। सुधन चीनमा पढेको र चीनबाटै व्यापार गरिरहेका कारण उनको चिनियाँ केटीसँग पनि सम्बन्ध भएको, कोरोना संक्रमणको बेला सुधनलाई ती युवतीले सहयोग गरेको र अहिलेसम्म उनीहरुबीच प्रेम सम्बन्ध कायम रहेको पुष्पाले आशंका गरिन्। उनीहरूबीच खट्पट बढिरह्याे।

एकदिन पुष्पाको मोबाइलको कभर निकाल्दा मोबाइलबाट एउटा पत्र खस्यो। उक्त पत्र पुष्पाका पूर्व प्रेमीले लेखेका रहेछन्। सुधनले त्यतिबेला थाहा पाए–‘पुष्पा पनि पहिले अफेयरमा थिइन्।’ यसपछि उनीहरूबीच झनै मनमुटाव बढ्दै गयाे। अनि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो। उनीहरुबीच आरोप-प्रत्यारोप चलिरहेका थियाे। त्यही बीचमा संग्रौला परिवारले गत शनिबार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित न्यौपाने परिवारको घरमै पुगेर इन्गेजमेन्ट तोडेको जानकारी गरायो। सुधनले पुष्पाकाे घरमै पुगेर टिकाटालमा भएकाे खर्च, जनैसुपारी, दक्षिणा र गरगहना फिर्ता गरेर विवाह क्यान्सिल गरे।

याे घटनाले पुष्पालाई विक्षिप्त त बनायाे तर, इन्गेजमेन्ट तोड्ने कुरा सहर्ष स्वीकार गर्दै एकअर्कामा अंकमाल गरेर छुट्टिए। घरभित्र भनाभन भएपनि छुट्ने बेला पुष्पा गेटसम्म बिदा गर्न गइन्। उनलाई परिवारका सदस्यले भने, ‘सम्बन्ध टुटेपछि बिदाइ गर्न नजाऊ!’ तर, उनले मानिनन्। ‘अंकमाल’ गरिन् र भनिन्, ‘आवेशमा केही बोलेको हुँला, माफी चाहन्छु।’

त्यसकाे भाेलिपल्ट अर्थात् आइतबार पुष्पा ५ लिटर पेट्रोलको जर्किन लिएर उनी प्रेमीको घरमा पुगिन्। उक्त घरकाे गेटमा पुगेर करिब आधा जर्किन पेट्रोल खन्याएर आफैँलाई जलाइन्। प्रहरी कन्ट्रोलमा खबर पुग्याे ‘धुम्बराहीमा एकजना मान्छे जलिरहेको छ।’

सोमबार पुष्पाका काकाले सुधन, उनका दाइ मधु, बुवा दिनेश र आमा बिन्दुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिए।

जाहेरीमा निश्चित भइसकेकाे विवाह एकाएक तोडेर पुष्पालाई मानसिक यातना दिएको, त्यसअघि पनि मानसिक यातना दिने गरेको, पुष्पाले ‘म मर्नुभन्दा अर्को विकल्प रहेन’ भनेर जानकारी गराउँदा पनि फेरि घरमा बोलाएर मानसिक यातना दिएर मर्न बाध्य पारेको उल्लेख छ।

त्यसलगतै प्रहरीले दिनेशको परिवारका चारैजना सदस्यलाई नियन्त्रणमा लियो। आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुधनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन्।

घटनाबारे के भन्छन् प्रहरी ?

महानगरीय प्रहरी वृत महाराजगञ्जका डिसपी अंगुर जिसीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

‘हामीले अनुसन्धानकाे दायरालाई जतिसक्दाे बढाउँदै छाैँ। मुख्य आरोपित सुधन संग्रौलालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छाैँ’, उनले भने, ‘सुधनलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेका छौं।’ अन्य ३ जना रिहा भइसकेका छन्। जर्किनमा पुष्पाले त्यति धेरै पेट्राेल कहाँबाट ल्याइन भन्ने सम्बन्धमा पनि अनुसन्धान भइरहेकाे छ।’

पुष्पालाई नजिकबाट चिनेकाहरुका अनुसार पसल बन्द गरेर साँझ घर जाँदा ८ बजेको हुन्थ्यो। रातमा अबेर हुने हुँदा सुधनले धेरै शंका गर्दथे। कतै मन्दिर अथवा काममा गयो भने पनि उनले धेरै शंका मात्र गर्दथे। त्यतिमात्र नभइ पुष्पालाई सुधनका परिवारले पनि चाडवाडमा घरमै बोलाउने गर्देथे र आफैँ पनि पसलमा भेट्न जान्थे’, उनी भन्छन्।

यस्तै प्रहरीले पुष्पा र सुधनकाे इन्गेजमेन्ट तोडिएपछि के भएकाे थियाे भन्नेबारे अनुसन्धान गर्दै छ। ‘इन्गेजमेन्ट तोडिएपछि पनि पुष्पा किन सुधनकाे घरमा पुगिन् भनेर हामी अनुसन्धान गरिरहेका छाैँ। अहिले पुष्पा र सुधनकाे फाेन कल डिटेलबारे अनुसन्धान भइरहेकाे छ’, उनले भने।

प्रकाशित मिति: : 2022-12-09 21:00:00

प्रतिकृया दिनुहोस्