बैंक अफ काठमाण्डूलाई मर्जर गर्न ग्लोबल आइएमईलाई स्वीकृति प्रदान

file Photo
file Photo

ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

साधारणसभाले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको छ।

साधारणसभाले मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल-अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ। ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जरसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी अन्य प्रकृया पूरा भइसकेको छ।

साधारणसभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

बैंकले आर्थिक वर्ष २०७८–७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। 

बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए। उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने जानकारी दिए।

आर्थिक वर्ष २०७८–७९ मा बैंकको खुद व्याज आम्दानीतर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ। बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८९० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

प्रकाशित मिति: : 2022-12-09 15:33:00

प्रतिकृया दिनुहोस्