अतिक्रमण हटाउदैँ नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ। नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताएका छन्।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन्।

नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो। एक दशकदेखि गरिएको अतिक्रमण हटाएको नगरप्रमुख थापाले बताए।

मुख्य सडक र पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण गरीएका संरचना हटाइएको नगरप्रमुख थापाले बताए।

बजार क्षेत्रमा जथाभाबी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ। चन्द्रौटा बजारमा सडकमा सवारीसाधन पार्किङ र सवारी मर्मत गर्ने काम हुँदै आएको थियो।

बुधबार सडक छेउमा पार्किङ गरिएको ट्रक र मोटरसाइकल हटाइएको छ। ठेला लगायत साना व्यापारी व्यवसायीलाई मात्र दुःख दिएको भन्दै केहीले नगरपालिकाले गरेको कामप्रति गुनासो गरेका छन्।

प्रकाशित मिति: : 2022-12-08 16:18:00

प्रतिकृया दिनुहोस्