कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। पहिरोबाट ९ जनाको उद्दार गरिएको छ। उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो। अविरल वर्षापछि बाढी आएको थियो।
राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो।
गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं। उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ। ’
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुःखित भएको बताएका छन्। कोलम्बिया अस्वभाविक रूपमा भारी वर्षाले प्रभावित छ।