जुम्ल्याहा दिदीबहिनीले गरिन् एउटै केटासँग विहे !

भारतको महाराष्ट्रस्थित सोलापुरमा एकजना युवकले जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेको कुरा चर्चाको विषय बनेको छ। तर यो विवाहको कानुनी उल्झनबारे पनि बहस भइरहेको छ।

महाराष्ट्र राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरले यो विषयमाथि कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकाे बीबीसीले जनाएकाे छ।

सोलापुरको अकलुज इलाकामा एक पुरुषले जुम्ल्याहा दुई दिदीबहिनीसँग एउटा मण्डपमा विवाह गरेका हुन्। 

मुम्बईका जुम्ल्याहा दिदीबहिनी पिङ्की र रिङ्कीको विवाह अतुलसँग भएको छ। उनीहरू जुम्ल्याहा भएका कारण दिदीबहिनी उस्तै देखिन्छन्। उनीहरूले सानै उमेरदेखि एकै घरमा विवाह गर्ने र सँगै बस्ने निर्णय गरेकाे स्थानीयबासी बताउँछन्।

विवाह सोलापुर जिल्लाको अकलुजमा जामापुर सडकमा पर्ने गलाँडे होटलमा भएको हो। अतुलको गृहनगर मालशिरस हो। मुम्बईमा उनको ट्राभलसम्बन्धी व्यवसाय छ।

रूपाली चाकणकरले ट्वीट गर्दै भनेकी छन्, 'सोलापुरमा एक युवकले मुम्बइका जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेका छन्। यो भारतीय दण्ड संहिताको धारा ४९४ अनुसार अपराध हो। यो विषयबारे सोलापुरको प्रहरीले जाँच गर्न आवश्यक छ र तुरुन्त कानुनी कारबाही अगाडि बढाउनुपर्छ। साथै त्यसबारेको प्रतिवेदन महाराष्ट्र राज्य महिला आयोग अधिनियम १९९३ धारा अनुसार तुरुन्त पेश गर्न आवश्यक छ।'

प्रकाशित मिति: : 2022-12-05 22:36:00

प्रतिकृया दिनुहोस्