पानीविनाको 'आँखा पोखरी'

 खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी सुकेको छ।

२०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन नहुँदा सुकेको हो। ऐतिहासिक महुरेगढी नजिक किराती राजा भ्रमराजले विक्रम संबत १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रुप दिइएको थियो।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलकारुपमा रहेको महुरेमा ५१ लाखको लागतमा निर्माण गरिएको ३२ मिटर लम्बाई भएको आँखा पोखरी अहिले सुक्खा पोखरीमा परिणत भएको छ। नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बनाइएको पोखरीकोबीच भागमा ब्रिज डाईनिङ र आसपासमा रेलिङ बार राखिएको छ।

पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेट समेत खर्च भएको छ। तर, मुहान व्यवस्थापन नहुँदा पोखरीमा पानी भर्न समस्या भएको छ। समुन्द्री सहतदेखि करिब दुई हजार दुई सय मिटरको उचाईमा रहेको महुरेगढीको पर्यटन प्रवर्द्भनका लागि भन्दै बनाइएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च मात्र गर्ने प्रवृत्ति झल्किएको स्थानीय बताउँछन्।

आँखा पोखरीका लागि पानीको छुट्टै श्रोत व्यवस्थापन गरिएको छैन। खानेपानीको पाईप चुँडाएर पोखरीमा पानी हाल्ने गरिएको थियो। तर, पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानीको अभाव भएको नुनथलाका पुर्ववडाध्यक्ष भीम राई बताउँछन्।

'पोखरीका लागि मुहानको व्यवस्था छैन। हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,' राईले भने, 'अहिले खानेपानी छैन। कहाँबाट पोखरीमा पानी हाल्नु! सुक्खा पोखरी भइसक्यो।'

पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टरबाट दायाँ–बायाँ ६२ मिटर कायम गरिएको छ। त्यो बेला मापदण्ड मिचेर मध्यपहाडी लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भन्दै  विरोध भएको थियो।

पोखरी निर्माणका क्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन । अहिले सगरमाथा राजमार्ग कालोपत्रे गर्नेक्रममा सडक फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर माटो थुपारिएको छ । मध्यपहाडी र सगरमाथा राजमार्ग थप फराकिलो बनाउनेक्रममा भविष्यमा पोखरीलाई थप क्षति पुग्ने देखिएको छ।

प्रकाशित मिति: : 2022-12-05 10:28:00

प्रतिकृया दिनुहोस्