ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भइसके पछिका महिलाका लागि सिंजा गाउँपालिकाले घरदैलोमा उपचार सेवा दिने भएको छ। सिंजा गाउँपालिकाभरिका ज्येष्ठ नागरिक र शारिरिक रुपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्याउन निःशुल्क उपचार सेवा घरदैलोमै पुगेर दिइने भएको हो।
सिंजा गाउँपालिका ‘हामी बनाउँछौं हाम्रो गाउँपालिका, राम्रो गाउँपालिका' बनाउनका लागि नागरिकका आवश्यकताका आधारमा सेवा दिने गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
उनले भने, ’यो सिंजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेका महिलालाई प्रत्येक महिनामा घरदैलोमार्फत नि:शुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमा शुक्रबारबाट औपचारिक रुपमै सुरु गरिएकाे छ।'
गाउँपालिकाभित्रका गर्भवती महिला ,ज्येष्ठ नागरिक र दमका बिरामीहरुको लागि सुगर, प्रेसरजस्ता सेवाहरु गाउँपालिकाले घरदैलामै पुगेर दिन भएको सिंजा गाउँपालिका स्वाथ्य शाखामा प्रमुख ललितजंङ रोकायाले बताए।
उनका अनुसार स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य रहेको छ। उनले भने, ‘यो कार्यक्रम विषेश गरी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला र बालबालिका शारिरिक रुपमा असक्त रहेका व्यक्तिका लागि हो।'
ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी यस्तो सेवा दिने गरिएको हो।