अमेरिकामा ट्रम्पद्वारा राष्ट्रपति उम्मेदवारीको घोषणा: जनताको मिश्रित प्रतिक्रिया

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने राष्ट्रपति चुनावमा उम्मेदवारी घोषणा गरेका छन्।

न्युयोर्कबाट बसाइ सरेर फ्लोरिडालाई थातथलो बनाएका उनले त्यहीबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनको यो उम्मेदवारी अहिलेका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेद्वारको आकांक्षी हुनु मात्र हो । उनलाई रिपब्लिकन प्राइमरीमा पार्टीकै अन्य कुनै उम्मेद्वारले चुनौति दिन सक्छ। त्यसो भएमा उनले उम्मेद्वार हुन अन्तरपार्टी चुनाव जितेर रिपब्लिकन पार्टीको उम्मेदवारी जित्नुपर्ने हुन्छ ।

यसअघि २०१६ को चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारका रूपमा राष्ट्रपति निर्वाचित ट्रम्प दोस्रो कार्यकालका लागि २०२० को निर्वाचनमा उम्मेद्वार हुँदा भने वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भएका थिए । तर, उनले हारलाई स्विकार नै नगरी ह्वाइट हाउस छोडे । ह्वाइट हाउस छोड्नुअघि उनले संसद भवन क्यापिटल हिलमा आक्रमणको परिस्थिति सिर्जना गरे । त्यसमाथि  अहिले पनिसंसदमा छानबिन जारी छ । 

अमेरिकामा राष्ट्रपति बढीमा दुई कार्यकालका लागि निर्वाचित हुन सक्छ । तर, दोस्रो कार्यकालका लागि २०२० मा उम्मेद्वार हुँदा पराजित भएका थिए ।

साामन्यत: एक कार्यकाल होस् वा दुई कार्यकाल अमेरिकी राष्ट्रपतिहरू ह्वाइट हाउस छोडेपछि फेरि फर्केर आउँदैनन् । तर, ट्रम्प यस्ता एक अपवाद भएका छन् उनी हारेर पनि फेरि अर्को कार्यकालका लागि चुनाव लड्दैछन्।

ट्रम्पले अमेरिकाललाई फेरि महान बनाउन २०२० कै चुनावी नारा लिएर उम्मेदवारी घोषणा गरेका हुन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका छन्। उनको यो घोषणासँगै अमेरिकी राजनीतिमा तरङ्ग सिर्जना भएको छ भने अमेरिकी जनताले भने मिश्रित प्रतिक्रिया दिएका छन्।

ट्रम्पको यो घोषणासँगै अमेरिकी राजनीतिमा एक नयाँ तरङ्ग पैदा भएको छ । उनले उम्मेदवारी दिन सक्ने अनुमान गरिए पनि उम्मेदवारी नै घोषणा गर्लान् भनेर धेरैले पत्याएका थिएनन् । तर, उनले उम्मेदवारी घोषणा गरेर सबैलाई आश्चर्यमा  पारिदिए । 

उनको उम्मेदवारीलाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ । धेरैजसो अमेरिकीले यसलाई अमेरिकी क्यारेक्टर भन्न नसकिने भन्दै रोष प्रकट गरेका छन् । उनीहरूले यसलाई ट्रम्पको शक्तिलोलुपताको पराकाष्ठाको संज्ञा दिएका छन् । यसो भन्नेमा धेरैजसो डेमोक्रेट्स र तटस्थ मतदाता रहेका छन् । केही रिपब्लिकन पनि यस भनाइमा सहमत देखिन्छन् ।

उता, ट्रम्पकै रिपब्लिकन पार्टीमा पनि उनको घोषणाले सबैको समर्थन पाएको छैन । अहिले नै रिपब्लिकन पार्टी २०२० को चुनाव स्वीकार र अस्वीकार गर्ने दुई खेमामा ठाडो चिरामा विभाजित छ। ट्रम्प समर्थकहरू २०२० को चुनावको परिणाम अस्वीकार गर्छन् भने उनका विरोधीभन्दा पनि खाँटी रिपब्लिकनहरू चाँहि अमेरिकी जनमतको खिल्ली उडाउन नहुने तर्क गर्छन् ।

तर, जे भने पनि ट्रम्पले रिपब्लिकन पार्टीलाई ट्रम्पकन बनाइसकेका छन् । उनी उम्मेद्वार भैसकेपछि धेरै उम्मेद्वार आकांक्षीहरूको बोल्ती बन्द भएको छ । उनलाई चुनौति दिए पनि त्यसले उनलाई छेक्ने सम्भावना कम हुन्छ ।

ट्रम्पको उम्मेद्वारीसँगै डेमोक्रेटिक पार्टीबाट २०२४ मा बर्तमान राष्ट्रपतिलाई नै अगाडि सार्ने कि कोही अर्को उम्मेद्वारको खोजी गर्ने भन्ने प्रश्न पेचिलो हुने छ । राष्ट्रपति बाइडन अहिले नै ७९ वर्षका भैसके । २०२४ मा उम्मेद्वार हुँदा उनी ८१ वर्षका हुन्छन् र उनले जिते भने उनको कार्यकाल ८५ वर्षसम्म हुन्छ ।बाइडनको यो बूढौती उनी र डेमोक्रेटिक पार्टी दुबैका लागि चुनौतिपूर्ण हुन्छ । 

प्रस्तुत परिस्थितिमा डेमोक्रेटिक पार्टीले अर्को विकल्प खोज्नुपर्ने हुन्छ । उसका लागि स्वभावत: दोस्रो विकल्प रहेकी उपराष्ट्रपति कमला ह्यारिस महिला भएकाले डेमोक्रेटिक पार्टीका लागि यो अर्को चुनौति हुन्छ । २०१६ मा हिलारी क्लिन्टन महिला भएकै कारण खराब बिकल्प भए पनि डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएको धेरै विश्लेषकहरूले बताएका थिए ।

 

प्रकाशित मिति: : 2022-11-16 08:36:00

प्रतिकृया दिनुहोस्