केन्द्रमा एमालेकै कार्यकर्ताको तिरस्करको तितो अनुभव लिएर चुनावी मैदानमा होमिएका उनलाई आफ्नै कार्यकर्ताको डरले पिरोलेको छ।
‘त्यतिबेला माओवादीमा हुँदा हामीलाई दुःख दिने, कुट्ने, पिट्ने टोपबहादुर अहिले हाम्रै पार्टीमा आएछन्, उनलाई हामीले कसरी भोट दिने ? अनेकौँ पार्टी फेर्दै हिँड्छन्, एमालेबाट जितेर अर्काे पार्टीमा गए भने के हुन्छ ?’
केही हप्ताअघि सदरमुकाम सन्धिखर्कस्थित बस पार्कको चिया पसलमा कुरा चल्दै जाँदा एमालेका एक पुराना कार्यकर्ताले प्रश्न उठाए। प्रश्न सामान्य थियो, चुनावको बेला यस्ता सवाल जवाफ भइरन्छन्। तर, आशय भने गम्भीर थियो, देशका माथिल्ला तहमा रहेर काम गरेका पूर्व उप–प्रधानमन्त्री तथा एमालेको सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टाेपबहादुर रायमाझीमाथि आफ्नै कार्यकर्ताकै यो आशंका र वितृष्णताले उनकाे चुनावी परिणाम सन्ताेषजनक नहुने देखिन्छ।
‘टोपबहादुर रायमाझी त जुन पार्टीमा गए पनि चुनाव जित्न मुस्किल छैन, उनी अर्घाखाँचीका हिरो हुन्, कुनै पार्टीका नेता होइनन्’ भन्ने वाक्य करिब एक दशक पहिलादेखि प्रचलित थियो। जनताको मन मस्तिष्कमा टोपबहादुर नाम छुट्टै किसिमले स्थापित थियाे। त्यसैले उनले गएका तीन वटै चुनाव जितेर ‘ह्याट्रिक’ गरे। त्यति मात्रै नभएर उनले अत्याधिक ‘पपुलर भोट’ पाए। तर, उनको त्यो ‘पपुलारिटी’ कसरी तिरस्कारमा बदलियो ? किन आफ्नै पार्टीका कार्यकर्ता उनीमाथि विश्वस्त छैनन् ? कहाँ गयो टोपबहादुरको सान ?
टोपबहादुर रायमाझी अर्थात् जनयुद्धका ‘क.अनिल’ले तत्कालीन नेकपा मसलाको ‘स्कुलिङ’बाट राजनीतिमा उदाएर माओवादी जनयुद्धमा सहभागी हुँदा डा.बाबुराम भट्टराईको हात समाउने मौका पाएका थिए। उनै बाबुरामको हातबाट टोपबहादुरमा शक्ति सञ्चार हुँदै गयो। टोपबहादुर माओवादीको युवा संठगन योङ् कम्युनिस्ट लिग (वाइसिएल)को संस्थापक संयोजक बने। जनयुद्धका विभिन्न युद्धमा कमाण्डिङ गरे। राजतन्त्र फाल्नको लागि जनताको घर, जलाए, मान्छे कुटे, पिटे र हत्या हिंसा गरे। अन्ततः राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि देशका विभिन्न विभाग तथा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए।
माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि बाबुराम भट्टराईको चल्थ्यो। टोपबहादुर रायमाझी बाबुराम भट्टराईको नजिक थिए। त्यसैले बाबुराम भट्टराईको साथमा लागेर रायमाझीले सुरुबाटै ठुला–ठुला मन्त्रालय समाल्ने मौका पाए। पटक–पटक ऊर्जा मन्त्री बने। बाबुराम भट्टराई माओवादीमा रहँदासम्म उनीको रफ्तार झनपछि झन बढ्दै गइरहेको थियो। तर, जब बाबुरामले माओवादी छाडे तब रायमाझीको शक्ति पनि कमजोर बन्दै गयो। त्यो क्रम अहिलेसम्म जारी छ।
वि.सं. २०७४ जेठको अन्तिम हप्तासम्म टोपबहादुर बाबुरामसँगै नयाँ शक्ति पार्टीमा जाने तयारीमा थिए। तर, अवसर प्राप्तिमा चत्तुर मानिने उनी नयाँ शक्तिमा सम्भावना देखेनन्, माओवादीमै रोकिए। त्यसपछि भने टोपबहादुरको पनि माओवादीमा सन्तोषजक बसाइ रहेन।
प्रचण्डले वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाललगायतलाई काखी च्याप्दा टोपबहादुर पाखा लाग्दै गए। अझ आफूसँगैका वर्षमान पुनलाई प्रचण्डले नजिक राख्दा टोपबहादुर आक्रोशित हुँदै गएका थिए, उनम राजनीतकि धैर्यता भन्ने अलिकति पनि थिएन। मौन असन्तुष्टि जनाइरहेका थिए। लगातार सांसद हुँदै मन्त्री बन्दै आएका टोपबहादुरलाई प्रचण्डले मन्त्री बन्ने अवसर दिएनन्। त्यसैले टोपबहादुर जिल्ला तहमै कमजोर बन्दै गए। काम गर्न सकेनन्। २०७४ को चुनाव जित्नको लागि उनले एमालेको साथ खोज्नु पर्यो। चुनाव त जिते तर केन्द्रमा अवसर पाएनन्। पटक–पटक मन्त्री बनेका रायमाझी एमाले–माओवादी एकतापछि भनेको नेकपामा त झन रनभुल्लमा परे, हेभिवेटका नेताहरुको बिचमा प्रचण्डको पेलाइ। प्रचण्ड टोपबहादुरलाई रोकेर नयाँ नेतालाई मन्त्री बन्ने अवसर दिन चाहन्थे तर टोपबहादुर आफू मात्रै हुनुपर्छ भन्ने सोच राख्थे। नेकपामा रहँदा मन्त्री बन्ने धुनमा दौडिदा दौडिदा नेकपा दुई फ्याक्ट भयो।
सर्वाेच्च अदालतको आदेशपछि नेकपा टुक्रा–टुक्रा भएर नेपाली कम्युनिस्ट आन्दोलन नै धरापमा पर्दासम्म पनि उनलाई मन्त्री हुने चाहनाको भूतले छाडेको थिएन। उनले ऊर्जा मन्त्री बन्ने सर्तमा अन्य ६ जना नेतासहित संसद विघटन गरेर आलोचित बनेका ओलीकाे पक्षमा उभिए। लामो युद्ध र संघर्षबाट निर्माण भएको पार्टी छाडेर एमाले प्रवेश गरी ऊर्जा मन्त्रालयको कुर्सी घुम्न थाले। तर, कुर्सीमा घुम्दा घुम्दै माओवादीले कारबाही गर्यो, उनको सांसद पदसँगै मन्त्री पदमा दुई हप्तामै गयो।
सर्वाेच्च अदालतको परमादेशपछि एमाले अध्यक्ष ओली सत्ताच्युत भए। देशको सबैभन्दा ठुलो शक्ति नेकपा एमाले टुक्रा–टुक्रा भयो। एमाले कमजोर भइरहँदा रायमाझी पनि कमजोर बन्दै गए। त्यति मात्रै नभएर एमालेमै पनि टोपबहादुर रायमाझी कार्यकर्ताबाटै उपेक्षामा परे, एमालेका अन्य शक्तिशाली नेताहरुको घेराबन्दीमा परे। उनी पार्टी कार्यालयमा सन्तोषले बस्न सकेनन्, बाहिर बाहिर भए।
गत मंसिर १० मा चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा पनि उनी सकसले सचिवमा अटाए। सचिव पदको लागि भएको निर्वाचनमा अध्यक्ष ओलीले अन्य नेताहरुलाई नपेलेको भए एमाले नेताहरुले उनलाई पराजित गर्ने निश्चित थियो।
माओवादीमा समकालीन नेता र प्रचण्डको पेलाइ र डरबाट गुज्रिएर एमालेमा उछिट्टिएका टोबहादुरलाई अहिले आफ्नो राजनीतिक अस्तित्व कसरी कायम राख्ने र विगतका सान कसरी जोगाउने भन्ने चिन्ता छ। तर, त्यसमा उनलाई बलियाे प्रतिद्वन्दीसँगै आफ्नै कार्यकर्ताको पनि डर छ। केन्द्रमा एमालेकै कार्यकर्ताको तिरस्करको तितो अनुभव लिएर चुनावी मैदानमा होमिएका उनलाई आफ्नै कार्यकर्ताको डरले पिरोलेको छ।
जनयुद्धकालीन समयमा टोपबहादुरले गरेको ज्यादती एमाले कार्यकर्तामा अहिलेसम्म ताजै छ। एमालेका केही कार्यकर्ता उनलाई नेता मान्न चाहदैनन्। एमाले कार्यकर्तामा टोपबहादुरप्रतिको तिरस्कृत नजर अहिले पनि कायमै छ।
२०७४ सालको चुनावमा अर्घाखाँचीमा एमालेले टोपबहादुरलाई सघाएकाे थियो भने अहिले उनै पूर्व माओवादी नेता टोपबहादुरलाई उम्मेदवारको बनाएको छ, एमालेले। एमालेमै रहेर संघर्ष गर्दै आएका आफ्ना नेता अगाडि बढ्ने बाटो बन्द भएको भन्दै एमाले कार्यकर्ताहरु असन्तुष्ट छन्। भने, केही नेताले त पार्टी नै परित्याग गरेका छन्। कार्यकर्ता एमालेमा ज्यान/परान दिएका नेताले अवसर नपाएको भन्दै निराश छन्। उनीहरु यसपटककाे चुनावमा केन्द्रमा टाेपबहादुरलाई हराएरै भए पनि आफ्ना पुराना नेतालाई प्रदेशमा जिताउन चाहन्छन्।
रायमाझी राजनीतिक वृत्तिमा अस्थिर र अवसरवादी नेताको रुपमा देखा परेका छन्। त्यसैले एमाले कार्यकर्ताहरु अहिले पनि टोपबहादुरप्रति विश्वस्त छैनन्। मंसिर ४ हुने आम निर्वाचनमा प्रचण्ड–बाबुराम एकता हुने निश्चित भएपछि टोपबहादुरले माओवादी फर्किने मानसिकता बनाएर माओवादी नेताहरुसँग ‘लविङ’ गरेको खबर बाहिरिएको थियो। अर्घाखाँचीमा गठबन्धनबाट टिकट दिए माओवादीमा फर्किने प्रस्ताव टोपबहदुरले प्रचण्डसमक्ष राखेको तर प्रचण्डले विश्वास नगरेर टिकट नदिएको माओवादी स्रोतको दाबी छ।
मनोनयन दर्ताको केही हप्ता अगाडि टोपबहादुर माओवादीमा फर्किन लागेको कुरा बाहिरिएपछि एमाले नेता कार्यकर्ताहरु शसंकित भएका थिए। त्यो शंकाको तुस एमाले कार्यकर्तामा अहिलेसम्म गडिरहेकाे छ। याे कुरा राम्राेसँग बेझेका टाेपबहादुर आफ्नै कार्यकर्ताले साथ दिँदैनन् कि भन्ने डरमा चुनावी प्रतिस्पर्धामा पाइला लतारिरहेका छन्। यही कुरा उनको पराजयको प्रमुख कारण बन्न सक्छ। भने, उनीविरुद्ध कसिलाे गठबन्धन खडा छ। गत स्थानीय तहकाे निर्वाचन अनुसार एमाले गठबन्धनभन्दा ५ हजार बढी मतले पछाडि छ। यसकारण पनि टाेपबहादुरलाई धेरै गाह्राे छ। सहजै चुनाव जित्न नसकिने अभिव्यक्ति सार्वजनिक रुपमै दिँदै आएका छन्।