सहिद मार्ग मर्मत नहुँदा स्थानीयलाई सास्ती, टिपर चालकले नुहाएको पानी पिउन बाध्य

सडक कालोपत्रे हुँदादेखि नै सम्राट र सोनापुर सिमेन्ट उद्योगका टिपर तगारो।

BreaknLinks
BreaknLinks

दाङको घोराही–होलेरी सडक खण्ड अन्तर्गत राप्ती राजमार्गमा चल्ने सम्राट र सोनापुर सिमेन्ट उद्योगका टिपरलाई स्थानीयले रोक लगाएका छन्। स्वास्थ्यमा गम्भीर समस्या हुने गरी सिमेन्ट उद्योगका टिपरहरु सञ्चालन भएको भन्दै सडकमै उत्रिएर स्थानीयले रोक लगाएका हुन्।

घोराही–होलेरी सडक मर्मत नहुँदा धुलो धुवाँले स्वास्थ्यमा असर पुर्‍याएको, टिपरकै कारण खानेपानीको मुहान दुषित भएको र यी समस्याका बारेमा सिमेन्ट उद्योगलाई जानकारी गराउँदा कुनै प्रतिक्रिया नदिएपछि टिपर सञ्चालन हुन नदिएको घोराही उपमहानगरपालिका– १९ तोसका स्थानीय प्रेमबहादुर घर्ती मगरले बताए।

स्थानीयले आफ्नो माग राख्दै शनिबार बिहान ७ बजेदेखि टिपरलाई सडकमै रोकेका थिए। तर, पछि सम्राट सिमेन्टका प्रतिनिधि पुरुषोतम पौडेल, प्रहरी र स्थानीयको छलफलपछि भने बाटोमा अलपत्र परेका टिपरलाई गन्तव्यसम्म जान दिइएको थियो।

अब आफ्नो माग पूरा नभएसम्म टिपर सञ्चालन अनिश्चिकालका लागि रोकिने स्थानीय घर्ती मगरले बताए। उनले टिपर सञ्चाल हुँदा खानेपानीको मुहान दुषित भएको जानकारी दिए। जसले गर्दा अहिले धमिलो पानी खानुपर्ने बाध्यता रहेको उनले सुनाए।

‘खाने पानीको मुहानमा टिपर धोइदिने, त्यही नुहाइदिने गर्दा हामीले खाने पानी नै धमिलो भएको छ,’ उनले बोटलमा भरेको धमिलो पानी देखाउँदै भने, ‘यस्तो पानी खाएर कसरी बाँच्ने ? हाम्रो स्वास्थ्यको ख्याल गर्नुपर्दैन सिमेन्ट उद्योगले ?’

सिमेन्ट उद्योगका टिपरका कारण सडक ध्वस्त भएको र धुलाम्य हुँदा आफूहरुलाई घरमा बस्न निकै समस्या भएको तोसका अर्का स्थानीय मानबहादुर विश्वकर्माले बताए। ‘सिमेन्ट उद्योगका टिपर चल्न थालेपछि खाने पानी धमिलो आएको छ। सडकको पिचको नाम निशाना नै छैन,’ उनले भने, ‘टिपर चल्दा उड्ने धुलोले हामी घरमा बस्न सकेका छैनौँ। बारीमा उब्जनी हुन छाडेको छ।’

धुलाम्य सडकमा पानी छर्कनुपर्ने, बिग्रीएको सडकमर्मत् गर्नुपर्ने, खाने पानीमा दुषित गर्न छाड्नुपर्ने, सिमेन्ट उद्योगका टिपर सञ्चालन हुने समय निर्धारण हुनुपर्ने लगायतको माग राखेको कोइलाखानी टोल विकास संस्थाका अध्यक्ष ओमलाल रानाले बताए। यी मागहरुको सिमन्ट उद्योगले व्यवास्था गरेका कारण टिपर सञ्चालनमा रोक लगाउन बाध्य भएको रानाको भनाइ छ।

सडक कालोपत्रे हुँदादेखि नै सिमेन्ट उद्योगका टिपर तगारो

घोराही–होलेरी सडकमा कालोपत्र गर्दादेखि नै सिमेन्ट उद्योगका टिपर तगार बन्दै गएका छन्। कालोपत्रे गर्दासमेत सिमेन्ट उद्योगका टिपरहरुका कारण सडक मर्मतमा समस्या भएको थियो। सडक कालोपत्रे गर्न पटक–पटक म्याद थप गर्नु परेको थियो भने बनाउँदै गएको सडक भत्किदैसमेत गएको थियो।

त्यससमय देखिको समस्या अहिले थप बढेको छ। सडकमा यात्रा गर्ने नागरिकसँगै सडक आसपासका बस्तीका नागरिकले धुलोसँगै सडकमा परेको खाडलका कारण समस्या भोग्दै आएका छन्।

सहिद मार्ग नामले चिनिने यस सडकको सिल–प्यासिफिक जेभी निर्माण सेवाले भ्याटसहित ४० करोड रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा २०७१ जेठमा लिएको थियो। पटक–पटक म्याद थप गरेर ०७५ सालमा कालोपत्रे सकिएको सडकको कालोपत्रे ६ महिना नहुँदै पूर्ण रुपममा ध्वस्त भएको थियो।

११ टन भारवहन क्षमताको सडकमा ३० टनसम्मको टिपर हिँडेपछि सडकको अहिले कालोपत्रेको नामनिसाना नै छैन। सहिद मार्ग हुँदै रोल्पा र रुकुम (पूर्व)सम्म पुग्ने सवारी सधान गुड्छन्। यी सवारी सधानको यात्रा निकै कष्टपूर्ण र जोखिममय रहेको छ। सडकमै खाडलहरु परेका छन्।

धुलो मार्ने नाममा सिमेन्ट उद्योगले मात्र एउटा पानी ट्यांकर दिएको छ। तर, उक्त पानी ट्यांकरले अगाडि धुलो मार्दै जाँदा पछाडि सडक धुलो भइसकेको हुन्छ। पानी ट्यांकरले घर अगाडिको धुलोमा मात्र पानी छर्कने र बाँकी ठाउँमा छाड्ने गरेको छ।

सिमेन्ट उद्योगले नागरिकसँग टालटुले कुरा गरेर सधैं समय टार्दै आएको छ।

प्रकाशित मिति: : 2022-11-13 07:00:00

प्रतिकृया दिनुहोस्

    सहिद मार्ग को कुरा गर्दा त सर्व प्रथम हाम्रो झोले नेता हरुले गर्दा हामी सर्व साधारणले जनता ले सास्थि भोगनु परेको छ पीडा पैदल हिँड्नी लाई थाछ चिल्लो गाडी मा हिदेनी लाई के थाहा र यति भन्दै बिदा हुन्छु हस्त धान्या बाद

    • एक बर्ष अगाडि
    • Nirmal pun runti gadi 9 sakhi hall malaysia