ललितपुरमा फिजियोथेरापी उपचार केन्द्र सञ्चालन (तस्बिरहरु)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्रसञ्चालन गरेको छ।

रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसँग मिलेर सो केन्द्र सञ्चालनमा ल्याइएको हो। 

टोल सुुधार समितिको भवनमा चार शैय्यासहित फिजियोथेरापीका सामग्री राख्नका साथै यसका लागि वडाबाट २० लाख रुपैयाँ विनियोजित गरिएको वडा कार्यालयले जनाएको छ।

केन्द्रको व्यवस्थापन र दीर्घकालीन सञ्चालन गर्न राज बज्राचार्यको अध्यक्षतामा समिति गठन गरिएको छ। 

वडाअध्यक्ष संरक्षक र वडा सदस्यहरु पदन सदस्य रहने गरि गठित समितिमा तीन वटै पक्षको प्रतिनिधित्व रहेको छ।

शनिबार आयोजित एक समारोहकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले सो केन्द्रको शुभारम्भ गरेका थिए। सो अवसरमा वडाअध्यक्ष शाक्यले फिजियोथेरापी सञ्चालन गर्ने तीन वर्ष अघिको सपना पूरा भएको बताए।

स्वास्थ्य क्षेत्रमा नमूना योग्य वडा बनाउने सोचबाट प्रेरित भई केन्द्र सञ्चालन गरिएको बताउँदै उनले केन्द्रको स्थापनाले समुदायस्तरमा स्वास्थ्य सेवाको सहज पहुँच स्थापित हुने बताएका थिए।

समारोहमा रचना रिहाबिलिटेशन सेन्टरका सञ्चालक डा चन्द्रदीपकुमार महतोले हड्डी खिइएको, नशा च्यापिएको, मुख बांगिएको, जोर्नी दुख्ने, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, पोल्ने र सुस्त मनस्थिति भएका बालबालिकाको सहुलियत दरमा उपचार हुने जानकारी दिए।

समितिका अध्यक्ष राज बज्राचार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने वडाको कार्य सघाउन समुदायको भूमिका महत्वपूर्ण हुने बताए। उनले केन्द्र सञ्चालन गर्न सक्रिय रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

उक्त अवसरमा वडा सदस्य बबिता श्रेष्ठ, वडा समितिका सल्लाहकार धर्मेन्द्र शाक्य लगायतले स्वास्थ्य सेवामा वडाले गर्दै आएको काम र अगामी दिनहरुमा गर्नुपर्ने कार्यमा केन्द्रीत गरी आआफ्नो धारणा व्यस्त गरेका थिए।

त्यसैगरी फिजियोथेरापी सम्बन्धी आउँदो शुक्रबारसम्म निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ।  

प्रकाशित मिति: : 2022-11-12 18:31:00

प्रतिकृया दिनुहोस्