अमेरिकामा मतगणना जारी: सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन बराबरी

अमेरिका मध्यावधि निर्वाचन २०२२ :

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा मध्यावधि चुनाव २०२२को मतगणना जारी छ । अमेरिकामा विभिन्न किसिमले मतदान गरिने भएकाले सबै खाले मतगणनाको अन्तिम र औपचारिक परिणाम आउन धेरै समय लाग्छ ।  नोभेम्बर ८ मा सम्पन्न चुनावको अहिलेसम्म आएको परिणाम भनेको मिडिया प्रक्षेपण र अनौपचारिक परिणाम मात्र हो । 

यही आधारमा प्राप्त पछिल्लो परिणामअनुसार अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट र रिपब्लिकन पार्टीको ४९-४९ स्थान पुगेको छ ।  जर्जियाका तीन उम्मेद्वारमध्ये कुनैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले डिसेम्बर ६ मा दोस्रो चरणको चुनाव हुने भएको छ । परिणाम आउन बाँकि एक स्थान नेभादामा कडा प्रतिस्पर्धा रहेको छ । प्राप्त पछिल्लो परिणामअनुसार त्यहाँका डेमोक्रेटिक सिनेटर मास्टो क्रोटेज रिपब्लिकन प्रतिस्पर्धी ल्याक्जल्टभन्दा ८६२ मतले पछि परेकी छिन् । अझै त्यहाँ करिब ३९ हजार मत गन्न बाँकि भएकाले यसै भन्न सकिने स्थित छैन । तर, त्यहाँ मौजुदा डेमोक्रेट गभर्नरलाई रिपब्लिकन उम्मेद्वारले जितेकाले डेमोक्रेटहरू 'नर्भस' भएका छन् । 

नेभदाको एक स्थान जस्ले जित्छ,  सिनेटमा उसैको पल्ला भारी हुने संकेत देखिएको छ। डेमोक्रेटले यो स्थान जितेमा उनीहरू ५० स्थानमा पुग्ने र सिनेटको पदेन सदस्य उपराष्ट्रपति कमला ह्यारिसको मतले बहुमतमा पुग्छन् तर रिपब्लिकनलाई भने यो स्थान जितेर मात्र पुग्दैन डिसेम्बर ६ मा हुने जर्जियाको चुनाव पनि जित्नुपर्ने हुन्छ । तर, यहाँ जस्ले जित्छ, त्यसको प्रभाव तीब्र प्रतिस्पर्धा रहेको जर्जियामा पर्ने राजनीतिक पण्डितहरूले प्रक्षेपण गरिरहेका छन् ।

अमेरिकामा मध्यावधि चुनाव २०२२को मतगणना जारी छ । पछिल्लो परिणामअनुसार अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट र रिपब्लिकन पार्टीको ४९-४९ स्थान पुगेको छ भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा डेमोक्रेट्सले २०३ स्थान रिपब्लिकनले २११ स्थान जितेका छन् । अहिलेसम्म दुबै सदनमा कसैको पनि एकल बहुमत संख्या जुटेको छैन । 

यसअघि नै पेन्सेल्भेनियाको ओपन सिनेट सिटमा डेमोक्रेट्स जोन फेटरमेनले जितेर डेमोक्रेट्सलाई एक स्थान फाइला गराइसकेका छन् । यसपटकको चुनावमा अहिलेसम्म एक पार्टीको स्थानमा अर्को पार्टीले जितेको यो एक मात्र स्थान हो । यहाँका रिपब्लिकन सिनेटर प्याट टमीले स्वेच्छिक अवकाश भएपछि यो स्थान ओपन सिट भएको थियो । अमेरिकामा मौजुदा पदमा रहेको व्यक्ति नउठेर दुबै उम्मेद्वार नयाँ भएको स्थानलाई ओपन सिट भन्ने गरिन्छ ।

यसैगरी अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा यसअघि बुहमतमा रहेको डेमोक्रेट पार्टी पछाडि परेको छ । डेमोक्रेट्सले २०३ स्थान रिपब्लिकनले २११ स्थान जितेका छन् । यो संख्यामा रिपब्लिकनले डेमोक्रेट्सबाट १६ स्थान उल्टाउदा डेमोक्रेट्सले रिपब्लिनबाट ४ स्थान मात्र फर्काउन सकेका छन् । यसरी हेर्दा डेमोक्रेट्सले १२ स्थान गुमाएका छन् ।

डेमोक्रेट्सले न्युयोर्क, क्यालिफोर्नियाजस्ता नीलो राज्यमा अप्रत्यासित रूपमा चुनाव हारेका छन् । यो पराजयले भने अमेरिकी राजनीतिको दिशा र दशा नै बदलिने होइन भन्ने आशंका बढेको छ । खासगरी डेमोक्रेट्सको विशेष प्रभाव रहेको ल्याटिनो मतदाता अविश्वसनीय तरिकाले रिपब्लिकन भैरहेका छन् ।  

पछिल्लो आँकडा र बाँकि स्भावनाका आधारमा अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा रिपब्लिकन पार्टीको झिनो बहुमत हुने आँकलन राजनीतिक पण्डितहरूले गरिरहेका छन् । 

 

प्रकाशित मिति: : 2022-11-12 21:06:00

प्रतिकृया दिनुहोस्