दाङ– २ मा गठबन्धनको प्रतिबद्धता : महिला विश्वविद्यालय स्थापनादेखि पूर्वीय दर्शनको अध्ययनसम्म

प्रत्येक वडामा कृषि बजारको व्यवस्था गरिने

‘मानव संशाधनको आधार: शैक्षिक क्षेत्रमा आमूल सुधार’ यो श्लोगन दाङ निर्वाचन क्षेत्र नम्बर–२ का गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धता पत्रमा छ। दाङ– २ बाट प्रतिनिधि सभाका लागि गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा र प्रदेश सभाका लागि २(क) बाट काँग्रेसका राजु खनाल, २ (ख) बाट प्रचण्डविक्रम न्यौपाने चुनावी मैदानमा छन्।

तीन जनाले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखिएको छ। जसमा दाङमा महिला विश्वविद्यालय स्थापनादेखि पूर्वीय दर्शनको अध्ययन गर्ने संस्थानको व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ।

प्रतिबद्धता नम्बर ९ मा दाङमा महिला विश्वविद्यालय स्थापनाका लागि पहल गरिने उल्लेख गरिएको छ। यस्तै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय बेलझुण्डीमा पूर्वीय दर्शन र साँस्कृतिक अध्ययन केन्द्रको रुपमा विकास गर्दै लैंगिक तथा  महिला अध्ययन विभाग स्थापना गर्न महल गरिने प्रतिबद्धता पत्रमा छ।

प्रतिबद्धता पत्रमा नेपाल संस्कृति विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा शिक्षा, कृष्णसेन बहुप्राविधिक शिक्षालय, घोराही इन्जिनियरिङ क्याम्पस, नर्सिङ कलेजहरु, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रभावकारी बनाएर दाङलाई शैक्षिक हबको रुपमा थापित गरिने उल्लेख छ।

यद्यपी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन अझै पनि हुन सकेको छैन। घोराही इञ्जिनियरिङ कलेज पनि स्थापना हुन सकेको छैन।

यस्तै प्रतिबद्धता पत्रमा मजदूर तथा विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई विशेष नीति बनाई प्राविधिक शिक्षाको अवसर प्रदान गरिने, कक्षा १० उत्तीर्ण गरेर आर्थिक अभावकै कारण माथिल्ला तहको शिक्षा अध्ययनबाट वञ्चित हुने स्थितिको अन्त्य गर्न छात्रवृत्तिका लागि विशेष योजना बनाइने उल्लेख गरिएको छ।


पाँच वर्षमा सपना होइन, अधुरा कामहरु पूरा गरेर देखाउँछु : रेखा शर्मा (अन्तर्वार्ता)


शिक्षा क्षेत्रको विकासका लागि १८ बुँदा प्रस्तुत गरिएको प्रतिबद्धता पत्रमा योसँग थप नयाँ प्रतिबद्धता बंगलाचुली गाउँपालिकामा आंगिक क्याम्पस स्थापना गरिने जनाइएको छ। ‘एक विद्यालय एक नमूना शैक्षिक कार्यक्रम’को व्यवस्थापन गरिने, सबै सामुदायिक विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरिने, शैक्षिक संस्थाहरुमा अपांगमैत्री संरचना निर्माणमा बिशेष जोेड दिइने लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा रहेको छ।

यी हुन कृषिमा प्रतिबद्धता

गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धता पत्रमा कृषि क्षेत्रको विकास गर्न १८ बुँदाको प्रतिबद्धता जनाइएको छ। ‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’ प्रतिबद्धता पत्रमा भनिएको छ।

प्रतिबद्धता पत्रमा प्रत्येक वडामा कृषि प्राविधिकको ब्यवस्था गरिने, शून्य ब्याजदरमा कम्तीमा तीन महिनासम्म उपयोग गर्ने गरी २५० हजारसम्मको ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिने, सबै वडामा कृषि बजारको व्यवस्थापन गरिने उल्लेख छ।

यस्तै ‘कृषि विमा र कृषक पेन्सन’ कार्यक्रम अघि बढाइने, हरेक वडामा कृषि उत्पादनलाई प्राथमिकता राखेर बोरिङ सिँचाइको व्यवस्था गरिने, बंगलाचुलीहित पहाडी क्षेत्रमा लिफ्ट र थोपा सिँचाइ कार्यक्रम सञ्चालन गरिने, चौध मौजालाई समेट्ने मल्लवारे कुलो सिँचाइ आयोजना र मानपुरे कुलो सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर स्तरवृद्धि गरी सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-11-06 16:23:00

प्रतिकृया दिनुहोस्