मनाङमा हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

File Photo
File Photo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा मतपत्र पुगेको छ। बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङमा मतपत्र पुर्‍याइएकाे हो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए। कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको आचार्यले बताए।

प्रदेशसभा-१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा-२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए।

गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल ६  हजार सात सय ७९ मतदाता छन्।

प्रकाशित मिति: : 2022-11-04 12:57:00

प्रतिकृया दिनुहोस्