राष्ट्रिय स्वतन्त्र पार्टीकाे वाचापत्र : आफ्नाे भिजन कम, अरूलाई गाली ज्यादा

सुदिप बराल

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमकाे आयाेजान गरी आगामी मंसिर ४ हुने निर्वाचनकाे लागि आफ्नो वाचापत्र सार्वजनिक गर्‍याे। पुराना नेता र राजनीतिक दलबाट देशकाे विकास सम्भव छैन भन्दै पत्रकारिता छाडेर राजनीतिमा हाेमिएका रवि लामिछाने नेतृत्वकाे साे पार्टीले केही नयाँ ल्याउला भन्ने धेरैले अपेक्षा गरेका थियाे, तर ठिकविपरी भयाे। उसले सार्वजनिक गरेकाे ३९ पेजकाे वाचापत्रमा सम्भावनाकाे झिल्काे बाल्नुकाे साटाे अन्य दललाई गरिएकाे गाली र आराेपकाे खात मात्रै समेटिएकाे छ।

पार्टीको वाचापत्र अन्य पार्टीहरुको घोषणापत्रभन्दा केही पृथक त देखिन्छ तर घोषणापत्रमा अन्य दललाई आरोप लगाउँदै आरोपपत्रजस्तो बनाएको छ। यसले नयाँ भनिएको पार्टीको चरित्र पनि पुराना पार्टी जस्तै छ कि भन्ने शङ्का उत्पन्न हुने अनेकाैँ ठाउँ छन्।

कुनै पनि दलको घोषणापत्रमा आफ्नो पार्टीले गर्ने काम र प्रतिवद्धताहरु समावेश हुनु पर्ने हो। तर, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अन्य दललेझैं एकअर्कालाई आरोप प्रत्यारोपका लागि समय खर्चेर आफूलाई पुरानै दलहरुको पिँढीमा उभ्याएको छ। ‘विभिन्न पार्टीहरुप्रतिको धारणा’ शीर्षकमा पुराना दललाई गाली गरेर घोषणापत्रलाई आरोपपत्र बनाएको छ। मपाइत्वलाई स्थान दिएको छ।

त्यस्तै ‘गत पाँच वर्षको समीक्षा’ शीर्षकमा विगतमा घटेका भ्रष्टाचार र अनियमिततालाई देखाउँदै आफूहरु अरुभन्दा पृथक भएको देखाउन खोजिएकाे छ। ललिता निवास जग्गा प्रकरण, वाइडबडी खरिद काण्ड, बुढीगण्डकी आयोजना काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड काण्डलगायतका अनियमितता काण्डको फाइल खोल्ने आश्वासन दिन भ्याएको छ।

यता आफ्नो वाचापत्रमा विद्यार्थीले भविष्यमा कमाएर तिर्ने गरी शैक्षिक कर्जा दिने, गरिबीको रेखामुनी रहेका परिवारलाई ‘रासनकार्ड’ दिएर आधारभूत खाद्यान्नको प्रवन्ध मिलाउने, महिलाहरुको लागि निःशुल्क बसको व्यवस्था गर्ने जस्ता आश्वासनको ललिपप देखाएर मतदातालाई दिवासपना देखाउन उद्यत छ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अन्य पार्टीहरुको घोषणापत्रभन्दा केही हदमा भने पृथक त देखिन्छ। पार्टीको वाचापत्रमा ठुला–ठुला आश्वासनका पाेकाहरु छैनन्। संवैधानिक समाजवादलाई पार्टीको मार्गदर्शन बनाएको उसले सामान्य जनताको जीवीकासँग जोडिएका मुद्धाहरुलाई समेट्ने प्रयास गरेको छ, जुन सकारात्मक कुरा हो। तर, उसले गरेका वाचाहरु पूरा हुनेमा भने आशंकाहरु अवश्य छन्। उसले आफूले गरेका घोषणाहरु पूरा गर्नसक्ने आधारहरु प्रस्तुत गरेको छैन।

सरकारी सेवाहरु छिटो छरितो गर्नका लागि टाईमकार्ड अनिवार्य गर्ने, कानून अनुसार गर्नुगर्ने काम नगरे वा ढिलो गरे त्यसलाई भ्रष्टाचार मान्ने, अशक्त नागरिकका लागि घरमै स्वास्थ्य र सरकारी सेवा उपलब्ध गराउने, लैंगिक विभेदको अन्त्यसहित ‘समान कामको समान ज्याला’को प्रत्याभूत गराइने लगायतका कामहरु गर्ने प्रतिबद्धता गरेको छ।

पार्टीको घोषणापत्रमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै हरेक विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने, स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच पुर्‍याउने, वार्षिक पाँच लाख टन क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने, रोजगारीका लागि बाध्यताबस देश छाड्नु नपर्ने अवस्था सिर्जना गर्ने कल्पना गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शासकीय स्वरुपमा कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्ति राष्ट्रपति, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश सरकारमा जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने परिकल्पना गरेको छ।

पूर्णपाठ :

प्रकाशित मिति: : 2022-11-03 19:50:00

प्रतिकृया दिनुहोस्