जुम्ला प्रदेश (ख) का तीन उम्मेदवारबीच खराे प्रतिस्पर्धा

नयाँ संविधान निर्माणपछि दाेस्राे पटक हुन लागेकाे प्रदेशसभा निर्वाचनका लागि जुम्ला प्रदेश (ख)का उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन्। उनीहरु मतदाता रिझाउन  व्यस्त छन्।

प्रदेश (ख) मा सत्ता गठबन्धनबाट कर्णाली प्रदेशका प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम राेकाया, एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेत उम्मेदवार छन्।

बस्नेत नेपाली कांग्रेसले अन्याय गरेका कारण पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन्।

बलियाे जनमतका साथ चुनावी मैदानमा उत्रिएका तीनै जनाले आफू चुनाव जित्ने दाबी गरिरहेका छन्। फरक-फरक खालका मुद्दा लिएर चुनावी मैदानमा हाेमिएका उनीहरुले बिएल नेपाली सेवासँगकाे कुराकानीमा चुनाव आफ्नाे पक्षमा हुने बताएका हुन्।

मन्त्री रोकायाले तीन दलीय गठबन्धन भएकाे कारण आफू सजहै जितकाे नजिक रहेकाे बताइरहेका छन्। उनले बाढीपहिराेले (ख) क्षेत्रमा पुर्‍याएका क्षतिकाे व्यवस्थापन गरी पुन: जस्ताकाे तस्तै बनाउने मुद्दालाई प्राथमिकता दिएका छन्।

'पार्टीकाे घाेषणापत्र कार्यान्वयनकाे कुरा पनि छँदैछ। तर आज मेराे मातृभूमिलाई बाढीले धुजाधुजा पारेकाे छ,' उनले भने, 'म यसकाे सहज व्यवस्थापनमा लाग्नेछु। हाम्राे क्षेत्र विकाकाे लागि उपयुक्त पात्र म नै हाे।'

२०७४ सालको निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकाया संसद्को विधायन समिति र सार्वजनिक लेखासमितिको सभापतिसमेत भइसकेका छन्। उनले कांग्रेस र माओवादीको मतबाट आफू विजयी हुनेमा ढुक्क रहेकाे बताए।

'कांग्रेस र माओवादी जस्ता दुई ठुला पार्टीको साथ मलाई छ। हामी तीन पार्टीको एकताले म जित्ने हाे,' उनले भने, 'हामी इमान्दार भएर गठबन्धनमा लागेका छाैं। जित निश्चित छ।'

उनले जनताकाे बीचमा हुँदा केही गुनासा आएपनि समग्रमा जनताले गठबन्धनकाे विकल्प नरहेकाे प्रतिक्रिया दिएकाे अनुभव सुनाए।

एमालेका उम्मेदवार पछाई युवाहरुका मुद्दालाई लिएर चुनावी मैदानमा छन्। कम उमेरमै ठुला राजनीतिक उपलब्धि हासिल गरेका उनी एमालेमा उच्च तहकाे पहुँच भएका युवा नेता मानिन्छन्।

लामो समय काठमाडौंमा रहेर विद्यार्थी राजनीति गरेका उनी गठबन्धन जनस्तरबाट नभएकाे हुँदा जनताले आफूलाई विजयी गराउने तर्क गर्छन्।

'केही सिमित नेताकाे स्वार्थका लागि भएकाे गठबन्धनप्रति जनताकाे विश्वास छैन। हामी सबै खालका मतदाताकाे बीचमा पुगेका छाैं,' उनले भने, 'पार्टीको देशभक्ति अडान र हाम्राे जनताप्रतिकाे सदासयताका कारण हामी जित्ने हाे। हामीसँग विकासको स्पष्ट खाका छ।'

सिंजा जस्ताे ऐतिहासिक महत्व बाेकेकाे क्षेत्रमा सबै खालका विकासका पूर्वाधार निर्माण गर्न जनताले एमालेकाे भराेसा गरेकाे उनले बताए।

'हामी गर्न सक्ने भएकै कारण जनताकाे साथ पाउने हाे। जनताकाे हरेक मतकाे कदर हुनेछ,' उनले भने, 'हामी गठबन्धनका बलले हाेइन, जनताका बलले चुनाव जित्छाैं।'

दुईवटा हेवीवेट उम्मेदवारलाई चुनाैती दिन धारिलाे हतियारकाे रुपमा मैदानमा छन्, ४८ वर्षदेखि कांग्रेसकाे राजनीतिमा होमिएर कुनै पनि अवसर प्राप्त नगरेका धनबहादुर बस्नेत।

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका उनी भावनात्मक सन्देश लिएर गाउँगाउँ पुगिरहेका छन्। गठबन्धनको उम्मेदवार मन्त्री रोकाया भए पनि कांग्रेसको उम्मेदवार नहुँदा समर्थकको मत आफूलाई आउने उनको दाबी छ।

'म कांग्रेस पार्टी विरोधी हाेइन। केही व्यक्तिका कारण कुनै पनि अवसर नपाउँदा उम्मेदवारी दिएको हुँ,' उनले भने, 'कांग्रेसीजनले मात्र इमानदारसाथ मत हाले पनि म जित्छु। कांग्रेस पार्टीको नेतृत्व गरिरहेकाहरुको अहमता र व्यक्तिगत स्वार्थविरुद्धको मेरो उम्मेदवारी हो।'

उनले आफूले जित्नु नै जुम्लाका सबै कांग्रेसमा लागेकाले जित्नु भएकाेमा जाेड दिए।

'म मुद्दामा भन्दा पनि पार्टीमा दिएकाे याेगदानकाे आधारमा जनताकाे घरघरमा गइरहेको छु,' उनले थपे, 'मलाई पार्टीका केही स्वार्थी र लाेभिपापीले पेले पनि जनताकाे आशीर्वाद पाइरहेकाे छु।'

जुम्लाकाे प्रदेश (ख) क्षेत्रमा ३१ हजार ८ सय ५५ मतदाता छन्। जसमध्ये १५ हजार ३३ महिला र १६ हजार ८ सय २२ पुरुष मतादाता छन्।

तिहारलगत्तै यहाँका अधिकांश पुरुष व्यापार तथा कामको सिलसिलामा तराई तथा भारत जाने क्रम सुरु भएकाले महिला मतादाता निर्णायक बन्ने अनुमान गरिएको छ।

यो क्षेत्रमा हिमा, सिंजा, कनकासुन्दरी र तिला गाउँपालिका पर्छन्। स्थानीय तहको निर्वाचनमा दुई पालिका माओवादी केन्द्र र दुई स्थानीय तह कांग्रेसले जितेको छ।

प्रकाशित मिति: : 2022-11-03 11:12:00

प्रतिकृया दिनुहोस्