जब संसदमा विभिन्न समुदायकाे आवाज गुञ्जिन्छ, तब माओवादी आफ्ना मुद्दामा सफल हुन्छ : छिरिङ

BreaknLinks
BreaknLinks

पहिलो संविधान सभाका लागि जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि उनकाे कम्युनिष्ट पार्टीप्रति रुचि बढेकाे थियाे। उनकाे अर्थात् छिरिङ ल्यामु लामा (तामाङ)काे।

उसाे त उनले नेकपा एमाले पनि कम्युनिष्ट हाे भन्ने कुरा थाहा पाइन्। तर नरेश भण्डारी लागेकाे पार्टी नेकपा माओवादी केन्द्रप्रति उनकाे आकर्षण बढ्याे। तर पार्टीको कार्यकर्ता हुने अवसर दाेस्राे संविधान सभाकाे निर्वाचनताका पनि भएन। कम्युनिष्टप्रति उनकाे रुचि झनै बढ्दै गयाे। भन्छिन्, 'देशमा कसैले काम गर्न सक्छ भने त्याे कम्युनिष्ट नै हुन्।'

उनले कम्युनिष्ट पार्टीको सैद्धान्तिक ज्ञान हासिल गरेसकेकी छैनन्। तर समानुपातिक समावेशीकरणकाे मुद्दा नेकपा माओवादीकै कारण आउँदा सदियाैंदेखि दबेकाे आवाज बुलन्द हुन सकेकाे उनकाे मत छ।

'हामी जनजाति, दलित, महिला, आदिवासीले आफ्नाे पहिचान पाउनुकाे कारण माओवादी नै हाे,' उनले भनिन्, 'नेपालकाे दुरदराजले पनि प्रतिनिधित्व पाउने व्यवस्थाकाे लागि माओवादीले ठुलाे बलिदान दिएकाे छ।'

जब देशमा संविधान निर्माण भयाे, तब नेकपा एमाले र माओवादी एक भए। वाम गठबन्धन भयाे। त्यसबेला छिरिङ नेकपामा प्रवेश गरिन्।

जनजाति समुदायकाे महिला भएपछि पार्टीमा आशा पलायाे। उनले राजनीतिक रुपमा स्पेस पाउन थालिन्। राजनीति गर्ने साेच बनाएपछि घरपरिवार पनि खुसी भए। उनका श्रीमानले उत्प्रेरित गरिरहे। त्यही बीचमा उनकाे सरसंगत माओवादी नेतृ गाेमा कुँवरसँग भयाे।

यसले उनलाई राजनीतिक रुपमा अगाडि बढ्न सहजता प्रदान गर्‍यो। उनकाे सक्रियता झन्झन् बढ्दै गयाे। पार्टी पंक्तिकाे नजरमा उनकाे कामकाे मूल्यांकन हुँदै जाँदा उत्साह पनि बढ्याे। हाल आएर उनी पिछडिएको क्षेत्रबाट संघकाे एक नम्बर समानुपातिक उम्मेदवार बनेकी छिन्।

'मेराे नाम समग्रमा सात नम्बरमा परेपछि हाम्रो समुदाय निकै खुसी छ,' उनले भनिन्, 'समग्रमा जुम्लाका युवाहरुसमेत खुसी छन्।'

उनले राजनीति सँगसँगै सामाजिक काममा पनि समय दिएकी छिन्। यसले युवाहरुमाझ उनलाई लाेकप्रिय बनाएकाे छ। उनकाे पहलमा काेराेना कालमा थुप्रै सामाजिक काम भए। तीमध्ये जुम्ला एयरपोर्टमा प्लेन आउँदा यात्रुकाे भारी बाेकेर गुजारा गर्ने मजदुरहरुलाई सहयोग गर्नु मुख्य थियो।

'हामी थाेरै हुनेहरुलाई खानलाउन समस्या थिएन। तर भारी नबाेकी खान नपाउने भरियाहरुकाे के हाल हाेला भनेर नै उनीहरुकाे राहतका निम्ति भनेर एउटा स्वयंसेवी समूह बनायाैं,' उनले भनिन्, 'छाेटाे समयमा ६०/७० हजार उठ्याे। एयरपोर्टमा यात्रु नआउने भएपछि समस्यामा परेका मजदुरहरुलाई खाना किनिदियाैं। तर हामीले कहीँकतै फाेटाे राखेर चर्चा बटुल्ने काम गरेनौं।'

स्थानीय तहकाे निर्वाचनमा उप-मेयरकाे आकांक्षी देखिएकी उनी पार्टीले रचना विकलाई उम्मेदवार बनाएपछि पछि हटेकी थिइन्। तर पार्टीलाई जिताउन उनी निरन्तर चुनावी प्रचारप्रसारमा सक्रिय रहिन्। हरेक तहकाे गतिविधिमा सक्रियतापूर्वक लाग्ने उनी आफू एकाेहाेराे कर्ममा लाग्ने गरेकाे बताउँछिन्।

'छाेटाे समयमा मैले सबै तहका राजनीतिक गतिविधि गरेँ। हालसम्म कम्युनिष्ट पार्टीप्रति आकर्षित नभएकाे भाेटे जनजाति समुदायलाई समेत कम्युनिष्ट ठिक हाे भन्ने बनाउन सकेँ,' उनले भनिन्, 'यही नै मेराे उपलब्धि हाे। मेराे कामलाई मूल्यांकन गरेर नै पार्टीले समानुपातिक उम्मेदवार बनाएकाे हाेला, सयाद।'

अहिले मुगाली समाज उनकाे प्रचारप्रसारमा लागेकाे छ। पार्टीपंक्तिमा उनले राम्राे सम्बन्ध बनाउन सकेकी छिन्। जुम्लामा उनलाई अगाडि बढ्न निरन्तर उर्जा दिने काम गाेमा कुँवरले गरेकी छिन्। यही बीचमा उनले केन्द्रका नेताहरुले थाहा पाउने गरी गतिविधि गरिन्, जसले उनी निर्वाचनपछि सांसद हुने सम्भावना बढेकाे छ।

'मेराे नाम सात नम्बरमा छ भनेकाे सुन्दा म निकै भावुक भएँ। पार्टीले हामी राम्राेसँग नेपाली बाेल्न नजान्नेलाई सांसद बनाउँदै आएकाे छ,' उनले थपिन्, 'जब संसदमा विभिन्न खालकाे लवजबाट विविध समुदायका आवाज गुञ्जिन्छ, तब संसद संसदजस्ताे हुन्छ भने त्यहाँ देश प्रतिबिम्बित भइरहेको हुन्छ।'

उनले दलित, जनजाति, पिछडिएकाे समुदायकाे आवाज बाेल्ने र उनीहरुका समस्या समाधानका निम्ति कानुन बनाउन पहल गर्ने विषयलाई आफ्नाे मुद्दा बनाउने बताइन्।

'अहिले जुम्लामा स्याउ, ओखर, आलु, सिमी अत्यधिक मात्रामा उत्पादन हुन्छ। तर बजार व्यवस्थापन नहुँदा किसानले लाभ लिन सकेका छैनन्,' उनले भनिन्, 'स्थानीय उत्पादनबाट बढीभन्दा बढी लाभ लिने विषयकाे कानुन बनाउन सके आम जनताको जीवनस्तर बढ्ने हाे।'

उनले घरेलु मधिरा नियन्त्रण गर्ने नाममा पुलिस प्रशासनले भाेटे जनजाति समुदायका महिलाकाे पेटमा लात हान्ने काम गरेकाे बताइन्।

उनले भनिन्, 'नियमन जरुरी छ। तर त्यसकाे विकल्प के हाे त? विदेशी मदिरा बचेर उभाे लागिएला कि स्वदेशी मदिरा बेच्दा? जसले घरेलु अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्छ।'

प्रकाशित मिति: : 2022-10-31 15:23:00

प्रतिकृया दिनुहोस्